संविधानको मस्यौदामा सुझाव लिन आउँदैछन् सभासद्हरु, के छ तपाईँको सुझाव?

 CA SAvasadसंविधानको पहिलो मस्यौदाको प्रचारप्रसार एवम् जनताबाट राय सुझाव सङ्कलनका लागि आजदेखि सभासद्हरुलाई ७५ जिल्लाका २४० निर्वाचन क्षेत्रमा पठाइने भएको छ। मस्यौदाको वितरण र प्रचारप्रसारबारे जानकारी गराउन नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा समितिका सभापति प्रमिला राणाले सभासद् जिल्ला र क्षेत्रमा पुगेपछि प्रचारप्रसार र सुझाव सङ्कलनकार्यले थप उचाइ लिने बताए। 

‘समितिले तयार गरेको संविधानको विधेयकको पहिलो मस्यौदा प्रचारप्रसार र सो बारे नेपाली नागरिकको सुझाव सङ्कलन कार्ययोजना, २०७२ असार २४ गतेदेखि कार्यान्वयनमा आएसँगै प्रचारप्रसार र सुझाव सङ्कलनकार्यले तीव्रता पाएको छ,’ उनले भने।

समितिअन्तर्गत गठन भएका आन्तरिक कार्यविधि तथा कार्ययोजना, विदेशमा बसोवास गरेका नेपाली नागरिकको सुझाव सङ्कलन, प्रचारप्रसार तथा प्रकाशन, समन्वय तथा अनुगमन र प्रतिवेदन मस्यौदा गरी पाँच उपसमितिले आ–आफ्नो जिम्मेवारी अनुसारको काम गरिरहेको उनले जानकारी गराए।

असार २५ गतेदेखि प्रत्येक जिल्लामा दुइदुई जना सचिवालयका कर्मचारीले सम्पूर्ण निर्वाचन क्षेत्रमा मस्यौदा वितरण र प्रचारप्रसारको काममा समन्वय गरिरहेका छन्।

सभासद् राजिवविक्रम शाहीका अनुसार संविधानको मस्यौदामा स्वदेश र विदेशमा बसोवास गरेका नेपाली नागरिकको राय सुझाव प्राप्त भइरहेका छन्।

आजसम्म एक हजार ५० टोल फ्रि नम्बरबाट, वेभसाइटमार्फत एक हजार ५००, इमेलबाट एक हजार ११०, फ्याक्सबाट २८ वटा र हुलाक तथा सोझै सचिवालयमा १६ वटा लिखित सुझाव प्राप्त भएका छन्।

सभासद् पे्रम गिरीले प्राप्त सुझावहरुमा अधिकांश नागरिकता, समावेशिता, सीमाङ्कनलगायतका विषयमा रहेको जानकारी गराए।

सभासद् प्रभादेवी वज्राचार्यले यही साउन ४ र ५ गते सञ्चालन हुने सुझाव सङ्कलनको सार्वजनिक राष्ट्रिय अभियानमा जनताको व्यापक सहभागिता रहने अपेक्षा गरिएको बताए।

केन्द्रीय तहमा सुझाव सङ्कलनको कार्यक्रमलाई अनुगमन र समन्वय गर्नका लागि संविधानसभाका महासचिवको नेतृत्वमा केन्द्रीय अनुगमन तथा समन्वय समिति रहेको छ।

उक्त समितिअन्तर्गत सचिवालयका सहसचिवहरुको नेतृत्वमा पाँच विकास क्षेत्र समेट्ने गरी अनुगमन टोली बनाइएको समितिले जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published.