बाढीले बाँके, बर्दिया र कैलालीका अधिकांश घर डुबानमा

डुबानमा परेको नेपालगन्ज बजार। तस्बिर सौजन्य : अर्जुन ओली
डुबानमा परेको नेपालगन्ज बजार। तस्बिर सौजन्य : अर्जुन ओली

गएराति परेको अविरल वर्षाका कारण बर्दियाको बबई र कर्णाली नदीमा आएको बाढीले बर्दियाका विभिन्न स्थानका करिब ७०० घर डुबानमा परेका छन्। गएराति निरन्तर वर्षा भएपछि बिहान करिब ३ बजे बबई र कर्णाली नदी गाउँ पसेको हो। कर्णाली नदीका कारण राजापुर क्षेत्रको गोला, मनाउँ, सूर्यपटुवा गाविस र राजापुर नगरपालिकाका नदी आसपासका क्षेत्र डुबानमा परेका छन् भने त्यसैगरी बबई नदीका कारण महम्मदपुर, पदनाह, बनियाभार, बगनाह र गुलरिया नगरपालिकाका नदी आसपासका करिब ७०० भन्दा बढी घर डुबानमा परेका छन्।

त्यसैगरी बबई नदीका कारण गुलरिया–नेपालगन्ज हुलाकी सडकखण्डको बाटो माथिबाट बग्न थालेपछि उक्त गुलरिया–नेपालगन्ज सडकखण्ड अवरुद्धसमेत भएको छ। राति करिब ३ बजे बाढी गाउँमा पसेपछि मानवीय क्षति नभए पनि खाद्यान्न अन्नबालीमा क्षति भएको बाढीपीडितले बताएका छन्।

बाढी आएपछि बढी जोखिम हुने गुलरिया नगरपालिकाको नदी किनाराका बस्ती, महम्मदपुर, पदनालगायतका क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई उद्धार कार्यमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले बताए।

नेपालगन्ज जलमग्न
भारी वर्षाका कारण नेपालगन्जको विभिन्न क्षेत्र डुबानमा परेको छ। बुधबार राति करिब १० बजेबाट बिहीबार बिहानसम्म परेको वर्षाले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रको सेतु बिक चोक, घरबारी टोल, सितलनगर, बुलबुलिया, शान्तिनगर, बेलासपुर क्षेत्र डुबानमा परेका हुन्। यी क्षेत्रका अधिकांश घरमा पानी पस्दा सर्वसाधारणको बिचल्ली भएको छ।
घरबारी टोलका स्थानीय बासिन्दा अंगिमा शेर्पाले नालाको पानी थुनिएर सडकमा जम्मा भइ आफ्नो घरभित्र पसेको बताए। ‘राति तीन बजेतिर घरभित्र पानी पसेको हो, नालाको ढलजति घरमा छ। साह्रै नै समस्या भयो,’ उनले भने। पानी बग्न नपाएर थुनिदाँ सडक हिड्न नमिल्ने भएको शेर्पाले बताए। हरेक पटक वर्षा हुने वित्तिकै यस्तो समस्या दोहोरिए पनि उपमहानगरपालिकाले बेवास्ता गरिरहेको उनको गुनासो छ। शेर्पाले भने, ‘समस्या सुनाउँदा उपमहानगरपालिकाले अर्को वर्ष बनाइदिन्छौं मात्रै भन्छ। यो वर्षको बर्खा कसरी काट्ने होला।’
जल तथा मौसम कार्यालय राँझाका अनुसार बितेको २४ घण्टामा नेपालगन्ज क्षेत्रमा २ सय ४३ दशमलभ ७ मिलिमिटर वर्षा भएको छ। यो यस वषकै उच्च वर्षा भएको मौसम मापक रिताकुमारी महत्तोले बताइन्।
भारी वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढेपछि नदी आसपासका होलिया, बेतहनी, गंगापुर, मटेहिया गाविसहरु डुबानको जोखिममा छन्। निमित्त प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले राप्ती नदी आसपासका प्रहरी चौकीको समन्वयमा त्यहाँका बासिन्दालाई अलर्ट रहन निर्देशन दिइएको बताए।

कैलालीमा विद्युत् आपूर्ति बन्द
गएराति यस क्षेत्रमा वर्षासँगै चलेको हावाहुरीका कारण ढलेका रूखले बिजुलीको प्रसारण लाइनमा क्षति पुर्यारएपछि कैलालीमा विद्युत् आपूर्ति बन्द भएको छ। नेपाल विद्युत् प्राधिकरण धनगढी शाखाले हावाहुरीले विद्युत्का खम्बा ढलाएको तथा रूख ढल्दा तारमा क्षति पुगेपछि विद्युत् आपूर्ति बन्द भएको जनाएको छ।

विद्युत् आपूर्ति सञ्चालन गर्न पहल भइरहेको प्राधिकरणका प्रमुख सत्यनारायण महतोले बताए। हावाहुरीले पुर्याचएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको महतोले बताए।
मनसुन पुनः सक्रिय भएपछि गएराति देखि यस क्षेत्रमा ठूलो वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाले गत २४ घन्टा भित्रमा कैलालीको गोदावरी क्षेत्रमा सबैभन्दा बढी २५२ मिमी वर्षाको मापन भएको जनाएको छ। यो अवधिमा धनगढी र अत्तरिया क्षेत्रमा भने करिब १२० मिमी वर्षा भएको छ।

Leave a Reply

Your email address will not be published.