एसिसी ट्वान्टी-२० कपबाट नेपाल बाहिरियो

काठमाडौं, कात्तिक १३- एसिसी ट्वान्टी-ट्वान्टी महिला एसिया कप क्रिकेटबाट नेपाल बाहिरिएको छ। आज भएको खेलमा आयोजक चीनसँग हार बेहोरेपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। यसअघि नेपाल पहिलो खेलमा श्रीलङ्का र दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो।

आज बिहान चीनको ग्वाङ्झाउमा भएको खेलमा नेपाल घरेलु टोली चीनसँग ४५ रनले पराजित भएको हो।

जितका लागि ९३ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सबै विकेट गुमाएर ४७ रनमात्र बनाउन सक्यो। नेपालकी सीता राना मगरले सर्वाधिक १० रन बनाउनुभएको थियो भने नेरी थापा ७ रनमा नट आउट रहेकी थियन्।

त्यस्तै सोनु खड्का ८ तथा निरा राजोपाध्याय र शोभा आले समान ४ रनमा आउट भएका थिए। रोशनी बोहरा, ममता थापा, तृष्णा सिंह र कप्तान रुबिना क्षेत्री समान २ रन बनाउँदै आउट भएको क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)ले जारी गरेको वक्तव्यमा जनाइएको छ।

टस हारेर पहिला ब्याटिङ गरेको चीनले २० ओभरमा २ विकेट गुमाउँदै ९२ रन बनायो। नेपालका रुबिना क्षेत्री र निरा राजोपाध्यायले एक एक विकेट लिएका थिए। रासस

Leave a Reply

Your email address will not be published.