चहर्‍याइरहेको घाउः बाँदरमुढे

Bander Mude Stambha 2कृष्णराज सर्वहारी।

२०७१ सालमा दर्जनपटक चितवनको भरतपुर–टाँडी, वीरेन्द्रनगर-कोराक रुटको चक्कर यो पंक्तिकारले काट्यो। कोराक गाविसमा चेपाङलाई लक्षित गरी कक्षा १ को किताब तयार पार्ने क्रममा सो दौडधुप भएको थियो। तर चितवनको माडी क्षेत्र जाने साइत ती कुनै यात्रामा जुरेन। कीर्तिपुरमा सँगै पढेका मित्र ललित चौधरीले आफ्नो क्षेत्र माडी बाइकमा घुमाउन लाने प्रस्ताव राखे। म फुरुंग परें। तर पहिलो गाँसमा ढुंगा भनेझै काम विशेषले ती जान नपाउने भए। म एक्लै माडीको अन्तिम बसमा चढेँ।

बसमा चिनजान भएका एक यात्रुले मलाई माडीको गर्दी मेरो चिनजानका एक शिक्षक सीएम अपिल चितौने (चन्द्रमणि महतो)को घर अगाडि ओराली दिए। चन्द्रजीको मोबाइल स्वीच अफ भएकाले विना कुनै जानकारी राति करिब ९ बजे पुगेको थिएँ उनको घर। साँझको पाहुना देउता सरह भन्छन्, मिठो मसिनो खुवाए।

थाकेको थिएँ। उनले ओछ्यान मिलाउँदै सोधे– कहाँसम्मको यात्रा हो मित्र?

मैले भनें– बाँदरमुढेसम्म।

उनले भने– हो, माडी क्षेत्रमा आउने जो कोही पनि जनयुद्धको चह्र्‍याउने घाउ बाँदरमुढे स्तम्भ नहेरी फर्किदैनन्। ल मिलाएर जाउँला नि।

अर्को दिन चैतको हपहपी गर्मीले साँझ घाम एक बाँस बाँकी छँदा मात्रै घरबाट निस्कियौं। माडी एफएमका कार्यक्रम सञ्चालक नेत्र आचार्य मसँग साहित्य र पत्रकारिताका कुरा गर्न कुरेर बसेका थिए। बिजुलीको खम्बा त ठडिएको छ, तर माडी क्षेत्रमा बिजुलीको व्यवस्था अहिले पनि रहेनछ। जेनेटरबाटै एफएम रेडियो चल्दो रहेछ। स्टुडियोबाट निस्किएपछि सीधै बाँदरमुढे स्तम्भ भएको ठाउँमा पुग्यौँ। बाँदरमुढे खोलामा पानी सुकेरमात्र बालुवाले अनुहार फुंग उडेको थियो। त्यस्तै थियो बाँदरमुढे स्तम्भ परिसर पनि। परिसरमा तारवारले घेरिएको छैन। ३८ मृतक र ७२ घाइतेको नामावली लिष्ट ठड्याइएको छ, बस् यत्तिमात्रै। एकजना दाताले ठूलै क्षेत्रफल जग्गा छुट्याइदिएका छन्। जहाँ सम्पर्क कार्यालय, बगैँचा आदिको अभाव देखियो। घाइतेको लिष्टमा गर्दी–५ नयाँ पर्सा, चितवनका बस चालक विक्रम महतो पनि नाम थियो। मैले बाँदरमुढे घटनामा परेको बस चालक विक्रम महतोलाई भेट्न सकिन्छ कि? भनेर मित्र चन्द्रमणिलाई सोधेँ।

चन्द्रमणि अंग्रेजीका शिक्षक। शनिबारको दिन पनि उनको घरमा ट्युशन पढ्ने एक समूह आइसकेको रहेछ। त्यसैले बाटैमा बस चालकको घर भए पनि त्यो दिन भेट्नलाई सम्भव भएन। अर्को दिन बिहानै बसचालक महतोको नयाँ पर्सा गाउँ घर पत्ता लगाउँदै पुगियो। उनी आँगनमा नयाँ ट्याक्टर ना३त २८९२ सभिर्सिङ गर्दै थिए।

मैले आफू पत्रकार, काठमाडौंबाट आएको भनेर परिचय दिएपछि उनले नाक खुम्च्याए।

उनले अमनले भने– उही बाँदरमुढे घटनाबारे सोध्ने त होला। होइन त? म त भन्दा–भन्दा थाकिसकेँ। कही कतैबाट सहयोग पाउने होइन। खाली गनथन मात्रै।

म पनि आफू थारू समुदायको भएको बताएपछि उनी केही नरम भए। तर लगत्तै भने– ल, ल के सोध्नु छ सोधी हाल्नुस्। मलाई बारी खन्न जान हतार छ।

Driver Bikram Mahto 1

कुराकानीको क्रममा उनले सुनाए– २०६२ जेठ २३ गते बिहान पौने ८ बजे यात्रुले खचाखच भरिएको बस बाँदरमुढे खोलामा तात्कालीन माओवादीले राखेको बम बिस्फोटमा परेको थियो, जसमा ३८ जनाको ज्यान गएको थियो। हो, म त्यही अभागी बसको बस ड्राइभर हुँ। घटनाको १० वर्ष पुग्दा पनि म त्यो दिन झलझल्ती सम्झिरहेको छु। म ७ कक्षासम्म मात्रै पढ्न सकेँ। सुरुमा ४ वर्षजति बसको सहचालक भएपछि चालक भएँ। ना१ख ३२४५ नम्बरको बस मैले चलाएको एक वर्ष जति भएको थियो। यस बसका मालिक रनबहादुर क्षेत्री थिए। जेठ २२ गते रात बगही बसिएको थियो। बगहीबाट बिहान पौने ७ बजे छुटेको थियो बस। बाँदरमुढे आइपुग्दा पौने ८ बजेको थियो। त्यो दिन हात चिलाउने, आँखा फर्फराउने कुनै अपशकुनको संकेत मैले पाएको थिइनँ। त्यसैले, मनमनै गुन्गनाउँदै गाडी हाँकिरहेको थिएँ। भित्र नअटेर छतमा पनि यात्रु खचाखच थिए। सुरक्षाकर्मी चढेको गाडीलाई माओवादीले ठाउँ ठाउँमा एम्बुस थापेर ज्यान लिइरहेका थिए। सार्वजनिक बसलाई के पो गर्लान् र? भन्ने थियो। तर बाँदरमुढे खोलामा एकैपटक ड्यांग गर्दै ठूलो आवाज आयो। म बेहोश भएछु। के हो, कसो हो थाहै भएन। एकैपल्ट अस्पतालमा होसमा आउँदा जिउभरी सिसाले काटिएको अवस्थामा पाएँ। देखिने बाहिरी घाउ चाँडै निको भए पनि भित्रि चोटले कमजोर बनायो। पछि थाहा पाइयो, मेरो गाडीमा ३ जना सैनिक पनि रहेछन, ती पनि मारिएछन्। माओवादीले सुरक्षाकर्मी नचढाउनु भनेर धम्की दिएका थिए। चालकलाई धेरै गाह्रो थियो त्यसबेला। ती पनि यात्रु नै थिए, नचढ्नोस् भन्न नमिल्ने। त्यो दिन सेनाहरु आउट ड्रेसमा थिए। त्यसैले कुनै गडबड नहोला भनेर ढुक्क थिएँ। तर ती तीन जना सेना चढेको कारण अन्य ३५ सर्वसाधारणले अनाहकमा ज्यान गुमाउनु पर्‍यो।

चालक बिक्रम महतो बाँदरमुढे घटनापछि नियास्रिएर खाडी मुलुक छिरेछन्। ४ वर्ष पसिना चुहाएको रकम जोगाएर ट्याक्टर किनेछन्। कुराकानी गर्दै गर्दा उनका परिवारै झुम्मिए। त्यो दिनको घटना सम्झिँदै उनकी श्रीमती रामकुमारी महतोले भनिन्– घरमा चाड थियो। श्रीमानसँग त्यो दिन केरा मँगाएकी थिएँ। नयाँ पर्सा चोकमा समान कुरेर बसेको थिएँ। श्रीमानले भनेको समयभन्दा निकैबेर बित्दा पनि गाडी आएन। एकाएक उहाँले चलाएको बस माओवादीले थापेको एम्बुसमा परेको नमिठो खबर आइपुग्यो। त्यसपछि त अस्पताल दौडादौड भइहाल्यो नि। मैले भनेर नै उहाँले केही समय गाडी लाइनबाट पनि टाँढिनुभयो।

चालक विक्रमका बाबु रामलाल महतोले भने– जे हुनु भइहाल्यो। घटनामा छोरो सकुशल बाँच्यो। अहिले गाडी मालिक भएको छ। त्यसैमा खुसी छुँ। तर दर्जनौं परिवार मरे, घाइते भए। उनीहरूले क्षतिपूर्ति नपाउँदा दुःख लागेको छ।

विक्रमसँग समय थिएन। उनी पटक–पटक घडी हेर्दे थिए। मैले कुराकानी छोट्याएँ। उनले विदाइ वाक्य सुनाए– अब बाँदरमुढे जस्तो अर्को घटना कहिल्यै सुन्न, देख्न, भोग्न नपरोस्।

हिरो रेन्जर साइकलमा विक्रमको छोरा फर्‍याक फुरुक गर्दै थिए। मैले नाम, पढाइ सोधेँ।

उसले भन्यो– अभिषेक महतो। कक्षा ७।

बाबु जत्तिको त पढिसकेको रहेछ। ठूलो भएपछि अभिषेक के बन्ने नि तिमी?

प्रश्न भूइमा झर्न नपाउँदै उसले निर्धक्क साथ भन्यो– ड्राइभर।

अभिषेकलाई बाबुको पेसामा गर्व छ। र, त उसले पनि त्यस्तै सपना पाली बसेको छ। थाहा छैन, नयाँ संविधानले सबैको मन जित्ने छ या छैन? बाँदरमुढेका घटनाका साक्षी विक्रमले अब त्यस्तो घटना कहिल्यै देख्न, सुन्न, भोग्न नपरोस् भने पनि अभिषेकको हातमा गाडीको स्टेरिङ पुग्दासम्म देशरुपी गाडीले कता कोल्टे फेर्ने हो कुन्नी। आज घटनाको एक दशक हुँदासम्म पनि घटना गराउने पार्टीका ठूला भनाउँदा कुनै नेताले पीडितको दैलो कुल्चिएनन्। यस बीचमा प्रचण्ड माडी क्षेत्रमा हेलिकोप्टरमा सवार भइ गइसकेका छन्। तर बाँदरमुढेका पीडित परिवार भेट्ने उनको रुट परेको छैन। माओवादी सत्तामा हुँदा पनि कुनै राहत प्याकेज कार्यक्रम लागू गरेनन्। प्रचण्डले बाँदरमुढेका पीडितको आर्थिक उपार्जनको लागि ६० लाख रुपैयाँको प्याकेज सरकारले बनाइसकेको भने पनि त्यो मिथ्या सावित भएको छ। माओवादीले सशस्त्र द्वन्द्वकै सबैभन्दा दुःखद घटना बाँदरमुढे घटना भएको स्वीकारे पनि पीडितको चहराइरहेको घाउमा मलमपट्टी लगाउन सकेको छैन।

बाँदरमुढे घटनाका पीडित चालक बिक्रम महतो घटना हुँदा म २५ वर्षको लक्का जवान थिए। उनले भने- त्यसबेला भर्भराउँदो जोशमा पनि म डिप्रेशनको सिकार भएको थिएँ। विदेशिएपछि डिप्रेशन कम भयो। अहिले आफैं गाडी मालिक भएको छुँ। तर त्यसबेला बसका ७२ जना घाइतेमध्ये १२ जना व्यक्ति त कुनै काम गरेर खानै नसक्ने अवस्थामा छन् रे। के सरकारले तिनीहरूलाई हेर्नु पर्दैन? घटनाको दोषीलाई छानबिन गरी कारबाही हुनु पर्दैन? खोइ त सत्यनिरुपण तथा मेलमिलाप आयोग? महतोले प्रश्न गरेझैं पुस्तौं पुस्तासम्म बाँदरमुढे घटनाका पीडितहरूको घाउ चहराइरहने हो या चाँडै न्याय पाउने हुन्? प्रश्न निरुत्तरित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *