उपेन्द्र यादवले मधेस र मधेसीको नैतिक आधार गुमाए : गच्छदार

Bijay Gachhadarमधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले पार्टीको नामै फेरेर उपेन्द्र यादवले मधेस र मधेसीको नैतिक आधार गुमाएको बताएका छन्। मधेस र मधेसीको पहिचानको जगमा निर्माण भएको पार्टीको नामै फेरेर यादवले मधेसको मुद्दाबाट अल्लगिएको आरोप लगाए।

‘उपेन्द्र र अशोक राईजीको पार्टी जुन जगमा बनेको थियो, त्यसको नैतिक आधार उहाँहरूले एकीकरणसंगै गुमाउनुभएको छ,’ विराटनगर मङ्लवार पत्रकारसंग कुरा गर्दै नेता गच्छदारले भने, ‘पार्टी एकता गरेकोमा स्वागत गर्छु , तर उहाँ दुबैजनाले आफ्नो इस्यू(मुद्दा) र भ्यालु गुमाउनु भएको छ।’ एकता गरेर तपाइँको पार्टी भन्दा ठूलो बनेछ नि? भन्ने प्रश्नमा गच्छदारले भने, ‘मलाई डायसिङ दिन पार्टी एकता गरेको भए तीनदिनमै उनीहरूको भन्दा ठूलो पार्टी बनाइदिन्छु।’

गच्छदारले सभासद्को संख्याले मात्रै पार्टी ठूलो नहुने बताउँदै राजनीतिक मुद्दा र पहिचानको आधार समाप्त गरेकोमा उपेन्द्र यादव र अशोक राईको आलोचना गरे। ‘पार्टी ठूलो–सानोको कुरा होइन, उहाँ दुबैजनाले आफ्नो पहिचान गुमाउनु भएको छ, चिन्ताको विषय त्यो हो।’ उपेन्द्र यादवले मधेस प्रदेश र मधेसीको पहिचान हुनुपर्छ भन्ने नैतिक आधार अब गुमाएको गच्छदारको भनाइ छ। संविधान जारी भएपछि पार्टीहरूबिच धुव्रीकरण बढ्ने उनको अनुमान छ। ‘म पनि मधेसी र जनजाती पार्टीलाई समेट्न खोजिरहेको छु,’ गच्छदारले भने, ‘संविधान जारी भएपछि ध्रुवीकरण बढ्नेछ।’

लामो समयदेखि संविधानको बिवादित विषयमा दलहरुविच भइरहेको सहमतिको प्रयासमा महाभूकम्पले ‘कोसेढुङ्गा’को काम गरेको गच्छदारको भनाइ छ। दलहरूलाई सहमतिमा ल्याउन महाभूकम्पले तत्कालीन कारणको रूपमा काम गरेको गच्छदारले बताए। संविधानका सबै विषयमा सहमति भइसकेको जानकारी दिदै उनले प्रदेशको सिमाङ्कन टुंग्याउन मात्र बाँकी रहेको र त्यसलाई पनि संघीय आयोगले दिएको सुझावको आधारमा टुंग्याउने बताए।

Leave a Reply

Your email address will not be published.