थरुहट आन्दोलनका छ वर्ष वितेको समयले अब आन्दोलनको ६ बुँदे सहमति कसरी संस्थागत हुने भन्ने बुझाइ भिन्न भिन्न छन्। राजनीतिकरुपले छ बुँदे सहमति कस्तो खाका तयार पार्छन्? यसबारे छलफल चलाउने हो भने थरुहट आन्दोलनका विविध प्रवृतिहरु भेटिन्छन्। थरुहट आन्दोलनका सहमतिको गहिराइ सबैले बुझ्न सके भन्ने यथार्थ सहि होइन तर भावना कतै न कतै उहि प्रकट हुने गरेको पाइन्छ। छ बुँदे सहमति नेपाल सरकार र संघर्षरत थरुहट संयुक्त संघर्ष समिति, थारु कल्याणकारिणी सभा, थारु राष्ट्रिय मुक्ति मोर्चा तथा लोकतान्त्रिक थारु संघबीच भए।
थरुहट संयुक्त संघर्ष समितिको रुप फेरिएर थारु संयुक्त संघर्ष समिति हुन पुग्यो भने अन्य संघ/संगठनहरु पनि यसमा सम्माहित भए। नेपाल सरकारसँग फेरि अर्को १० बुँदे सहमति ०६९ साल वैशाख ३१ गते हुन गयो। यसरी आज थरुहट स्वायत्त राज्यसम्बन्धी बहसमा कुनै बेला राजकुमार लेखी देखियो भने कुनै बेला लक्ष्मण थारु तर आज दुवै थरुहट आन्दोलनको परिधिमा राजनीतिक जोखना देखाइरहेको अनुभूति भएको छ। बरु थाकसका पूर्व महामन्त्री भुलाई चौधरी थरुहट आन्दोलनका प्रवृतिबारे बताउनुहुन्छ कि यहाँ संवैधानिक अधिकार किटानी हुँदैमा थारुहरु परिधिबाट राजनीतिको केन्द्रमा आउने सम्भावना छ भन्ने तर्कसँग सहमत बन्न कठीन छ। उहाँको यो भनाइ अमूर्त भएकाले थप व्याख्या गर्न जरुरी ठहर्छ। त्यसकारण आजको आवश्यकता सामाजिक विश्लेषणको नभएर राजनीतिक संश्लेषणको हुनसके राजनीतिक कार्यदिशा किटान गर्न सकिन्छ।
थारु पहिचानको संकट
थरुहट आन्दोलनका विविध प्रवृतिहरुको कारण खाजी गर्दा थारुको पहिचानसँग जोडिएको पाइन्छ। थारुको पहिचान के हो? यो जाति हो कि समुदाय अथवा राष्ट्र? श्यामुल पी. हन्टीङ्गटनको भनाइअनुसार- ‘हामी थाहा पाउँछौं हामी को हौं जब हामी थाहा पाउँछौं हामी को होइनौं र मात्र हामी प्रायः जब हामी थाहा पाउछौं हामी कसका विरुद्धमा छौं।’ यहाँ ‘हामी’ भनेको नयाँ राष्ट्रवाद हो। यसको परिभाषा पनि अब उत्तरआधुनिक परिवेशमा गर्न अनिवार्य भइसके। आधुनिक कालमा पश्चिमाहरुको परिवेशमा ल्याइएको राष्ट्र-राज्यको मान्यतालाई नेपाली भनेर सबैले स्वीकार गरिसके। यो पनि मान्य देखियो कि नेपाल एक सार्वभौम राज्य हो। हाम्रो विवेकले यी सबै मान्यतालाई स्वीकार गरिल्याएको बेला नेपाल एक बहुलराष्ट्रिय राज्य हो भनि बहस चलाउँदा शासक वर्गबाट विखण्डनको त्रास महसुस गरियो। हामी त्यो थिएनौं जो हामी हौं भनियो, हामी जो थियौं र हौं त्यो होइन भनियो। अर्थात् हामी जो थियौं र हौं ‘आदिवासी राष्ट्रियता’ त्यसलाई निषेध गरियो र गरिनै रहेको छ। जे हामी थिएनौं र होइनौं ‘हिन्दु राष्ट्रियता’ त्यसलाई स्थापित गरियो र गरिनै रहेको छ। त्यसकारण हामी तिनका विरुद्धमा छौं जो हामीलाई निषेध गर्थ्यो/गर्दैछ। अर्को अर्थमा हामी जो थियौं/हौं ‘आदिवासी थारु राष्ट्रियता’ त्यसलाई निषेध गरियो र गरिनै रहेको छ। जे हामी थिएनौं/होइनौं ‘मधेसी राष्ट्रियता’ त्यसलाई स्थापित गरियो र गरिनै रहेको छ। यसरी थारुको पहिचानको संकट इन्डिजिनिष्ट मुभमेन्टको धारबाट पत्ता लगाउन सकिने अवस्था हुँदाहुँदै अहिले त्यसलाई पाखा लगाएर एथ्नो न्यासनालिज्मको धारबाट जय थरुहटको आवाजमा खोजी हुनु नै मूल कमजोरी ठहर्छ। यो भ्रमात्मक सत्यको पछाडि दार्शनिक पक्षको निकै आभाव महसुस गरियो। तर कमजोरी हटाउने काममा ठोस गृहकार्य कहीँबाट सुरु गरिएन। त्यसैले आन्दोलनका विविध प्रवृतिहरु देखा पर्नु स्वभाविक ठहर्छ।
इतिहासको गतिलाई रोक्ने प्रवृति
थरुहट आन्दोलनको सुत्रधार राजनीतिकरुपमा माओवादी नै भएकोमा दुई मत रहेन तर उनीहरुले यसलाई उपयोगवादीताको रुपमा लिएपश्चात माओवादीप्रतिको भरोसा टुट्न पुग्यो। इतिहासको गति अब रोकिने डर देखिनु स्वभाविक थियो तर त्यसको पूर्ति गर्न संयुक्त थारु राष्ट्रिय मोर्चा पूर्व माओवादी कार्यकर्ता लक्ष्मण थारुको अध्यक्षतामा २०६४ साल असार ४ गते गठन गरियो। त्यसले संघर्षका कार्यक्रमहरु अगाडि बढाए र २०६४ साल फागुण १८ गते नेपाल सरकारसँग ५ बुँदे समझौता गर्यो। उता थारु कल्याणकारिणी सभाले पनि अभियानका कार्यक्रमहरु निरन्तर अगाडि बढाउने काम गर्दै थियो। दुबैपट्टिका नेतृत्वकर्ताको लक्ष्य क्रान्ति सम्पन्न गर्नेभन्दा पनि क्यारियर निर्माण गर्नेमा बढी क्रान्तिकारिता देखाउने जोश थियो र अहिले आएर थारु कल्याणकारी सभाले तराई बहुप्रदेशको अमूर्त एजेण्डामा शक्ति आर्जन गर्ने प्रयत्न गर्दैछ भने लक्ष्मण थारु पहिचानवादीको बृहत् राष्ट्रिय राजनीतिक दलको परिकल्पना गरेर मधेसी जनअधिकार फोरम, नेपाल लोकतान्त्रिक टेक्दै शक्ति आर्जन गर्ने प्रयत्नमा देखिन्छ। दुइटै प्रवृति थरुहट आन्दोलनको इतिहासको गतिलाई रोक्ने प्रवृति बुझ्न सकिन्छ। २०६८ सालमा केही मित्रहरुले थरुहट तराई पार्टी खोले र उनीहरुले दुइटा सभासद संविधान सभामा पठाए पनि तर शक्ति संरचनाको घेरान्दा बाहिर पर्दा आज प्रचण्डभन्दा परको विषय अर्थात् ‘वियोण्ड प्रचण्ड’ उनीहरुको बुझाइदेखि कता न कता सम्भव देखिएन। त्यसकारण यो प्रवृति सारसंग्रहवादी भइ अन्ततः अवसरवादको सिकार बन्न पुग्यो। अब न्यासनलिष्ट मुभमेन्टको धारबाट यसको उपाय खोजी गर्नेगरी विकल्प अघि सारिएको छ। यसले सैद्धान्तिक कमजोरी हल गर्ने काम गरेको छ भने राजनीति कार्यदिशा नयाँ ढङ्गले संश्लेषण गर्न खोजेको छ। यसको निर्माण, विकास र विस्तारमा बुद्धछिरिङ्ग मोक्तान, सीएन थारु, लासिम पालुङ्वाको समूहले नेतृत्व लिँदै आएको छ। निरन्तरको बहसले अहिले इन्डिजिनिष्ट आन्दोलनको धारको राजनीतिक कार्यदिशालाई स्वीकार्न सहज बनाइएको छ। त्यसैले इतिहासको गतिलाई रोकेर रोकिँदैन कहिले कतै।
निष्कर्षथारु बौद्ध र हिन्दूमा विभाजित हुँदै आएको देखिन्छ। हुन त बौद्ध दर्शन र हिन्दू वैदिक दर्शन दुवै त्यो बेला विकसित र लोकलाई स्वीकार गर्न सकिने भए। जब दुबै दर्शनले कुनै न कुनैरुपमा मारन, मोहन, उचाटनजस्ता तान्त्रिक विषयहरु आफूमा समावेश गरे। अथर्व वेद उपरोक्त तान्त्रिक विषयहरु मिसिएर बनेको कारण सताब्दियौंसम्म वेदको गणनामा परेन। पूर्व वैदिक कालदेखि थारुहरु तान्त्रिक विषयमा शक्ति देख्ने गरेकाले बौद्ध र हिन्दूमा अपनत्व देखिनु स्वभाविक हो। यसले के प्रमाणित गर्छ भने तान्त्रिक विषयहरु बौद्ध र हिन्दू वैदिक दर्शनभन्दा जेठो हो। त्यसकारण हामी आदिवासी थारु बौद्ध र हिन्दू वैदिक दर्शनजस्तो सिष्टमेटिक छैनौं। तर्कबाट प्रमाणित गरेर हाम्रो आदिवासी ज्ञानले उपरोक्त बौद्ध दर्शन र हिन्दू वैदिक दर्शनसँग प्रतिस्पर्धा गर्नसक्ने छैन। तर आदिवासी ज्ञान झिकिदिने हो भने दुइटै दर्शन खोक्रो हुने देखिन्छ। थारुले आफ्नो आधार टेक्ने हो भने वास्तविक पहिचान कायम गर्न बल पुग्ने छ। थरुहट आन्दोलनका विविध प्रवृतिहरु यही वास्तविक पहिचान बमोजिम र्याडिकल इन्डिजेनिज्मको स्प्रिट बोक्ने देखिन्छ। हामी जो थियौं र हौं ‘आदिवासी राष्ट्रियता’ पूर्णरुपमा स्थापित गर्नुको विकल्प छैन। त्यही लोकतन्त्र हो, त्यही अधिकार हो, त्यही परिवर्तन, रुपान्तरण, पुनःसंरचना र क्रान्ति हो। नेपालको अधुरो क्रान्तिलाई पूरा नगरी इन्डिजिनिष्ट शक्तिले आफूलाई राजनीतिकरुपमा वैकल्पिक शक्तिमा उभ्याउनसक्ने छैन। यही यथार्थलाई मनन गरी हाम्रो अबको बाटो अभियान-संघर्ष-विद्रोह हुने किटानी गरिएको छ। यसैका लागि चार विकल्प र चार तयारी हुने किटानी योजनाको बनाइएको सन्दर्भमा थरुहट आन्दोलन पुनर्गठीत गर्ने वैज्ञानिक विधि सावित हुनेमा विश्वास लिन सकिन्छ।