थारु जातिमाथि सुनियोजित आक्रमण

Radheshyam Chaudharyराधेश्याम चौधरी- थारु जाति थरुहट तराईमा परापूर्वकालदेखि बस्दै आइरहेको जाति हो। यो जाति नेपालको मूलबासी तथा थरुहट तराईका धरतिपुत्रसमेत हुन्। थारु जातिको आफ्नै भाषा, साहित्य, संस्कृति, भेषभुषा, रहनसहन, नाचगान, आदि छ। हजारौं वर्ष पहिले थरुहट तराईमा घना जंगल थियो। जहाँ बाघ, भालु, हात्ती, घोडा, गैंडा, बँदेल, बाँदर आदि खतरनाक जनावरहरु पनि हुन्थे। त्यतिबेला थारु जातिले आफ्नो जीविकोपार्जन गर्न जंगली कन्दमुल, फलफूल, घोङी, मुसा, माछा, कछुवा र जंगली जनावरहरुको सिकार गरी खाने गर्थे। जसले गर्दा यी थारुहरुको इम्युनिटी पावर रोगसँग लड्ने क्षमता बलियो थियो।

हजारौंहजार वर्ष पहिले थरुहट तराईमा थारुहरुको आफ्नो राज्य रहेको प्रमाणहरु प्रष्ट भेटिन्छन्। एसियाकै सबभन्दा पुरानो आदिमानव रामापिथेकसको मानव अवशेष रुपन्देही जिल्लाको बुटवलको तिनाउ खोलामा भेटिएको थियो। जुन डीएनए परीक्षण गर्दा १ करोड १० लाख वर्षअघिको प्राग ऐतिहासिक युगको आदिवासी थारुको जिन रहेको प्रमाणित छ। मिस्टर ब्रायान हाड्नस नामक वैज्ञानिकका अनुसार थारुहरुको रगत डीएनए परीक्षणको आधारमा औंलो निरोधक जात हुन् र यो निरोधक क्षमता इम्युनिटिपावर प्राप्त गर्नको लागि कम्तिमा तीन हजार वर्ष औंलो युक्त क्षेत्रमा बस्नुपर्छ। थरुहट तराईमा विभिन्न खतरनाक रोगहरु मलेरिया, बिफर, कलरा, जन्डिस आदिले सताइ रहन्थे। जसले गर्दा बाहिरी मानिस यहाँ बस्न डराउँथे, मन पराउँदैनथे। यदि यहाँ बाहिरी मानिस आए पनि दिउँसोको आफ्नो काम सकाएर साँझसम्म फर्किन्थे। तर विस्तारै यी रोगहरुको उन्मुलन भयो। त्यसपछि ब्यापार गर्ने उद्देश्यले हिमाल, पहाडबाट पोतेमाला बेच्न आउने पहाडियाहरु र छिमेकी देश भारतबाट सिध्राको ब्यापार गर्न आएका बाजीहरु थरुहट तराईका सिधासोझा थारुहरुलाई ठगी यहीँ बस्न थाले। विस्तारै जंगलहरु फडानी हुँदै गयो। बञ्जर जमिन खेतीयोग्य भयो। बाटोघाटोको सुविधा हुन थाल्यो। मोटर गाडी चल्न थाल्यो। त्यसपछि ती ब्यापार गर्ने उद्देश्यले थरुहट तराईमा आएका पहाडिया, बाजी र वर्मा, भुटान, सिक्किम, तिब्बत, भारतबाट आएका शरणर्थीहरु आफ्नो देश फर्कन मानेनन् र आज उनीहरु यहीँको बासिन्दा हुन पुगे।

थारु जाति नेपालका चौथो दर्जाका नागरिक हुन्। २०५८ सालको सरकारी जनगणनाअनुसार नेपाल अधिराज्यभरी थारुहरुको जनसंख्या पन्ध्र लाख चालिस हजार रहेको देखिन्छ। तर थारु कल्याणकारिणी सभालगायत कैयन संस्थाहरुको दाबी योभन्दा निकै बढी करिब ३७ लाखको हाराहारिमा रहेको भन्ने छ। २०६८ सालको जनगणनाअनुसार थारुको जनसंख्या अठार लाख रहेको देखिन्छ। तर थारु कल्याणकारिणी सभा लगायतका कैयन संस्थाहरुले लिएको जनगणनामा चालिस लाखभन्दा बढी थारुहरुको जनसंख्या रहेको देखिन्छ। इतिहासको कालखण्ड हेर्ने हो भने थरुहट तराईका धरतिपुत्र थारु जाति नै हुन्। थारु जातिको आफ्नो छुटै पहिचान संस्कृति, रीतिरिवाज, खानपिन, भेषभुषा र पहिरन छन्। जुन यो राष्ट्रको राष्ट्रियता हो। तर यो देशका शासकहरु राष्ट्रियतालाई कहिल्यै गहनाको रुपमा स्वीकार गरेनन्। जसले गर्दा आज यो देशको राष्ट्रियता धरापमा पर्दै गइरहेको छ।

इतिहासको हरेक कालखण्डमा थारु जातिमाथि सुनियोजित आक्रमण भइरहेको छ। राजाका पालामा थारुहरुलाई प्रयोगमात्र गरियो। २००५ सालमा खोलिएको थारुहरुको छाता संगठन थारु कल्याणकारीनी सभालाई राजा, मन्त्री, नेताहरुलाई स्वागत गर्ने र ब्यानर स्वागत गेट बनाउने काममा मात्र प्रयोग गरियो। तर अधिकारबाट सधैं वञ्चित गराइयो।

२०६२-०६३ सालको जनआन्दोलनपछि २०६४ साल चैत २८ गते संविधानसभाको निर्वाचन भयो। ६०१ जना सभासदहरु भए। जसमा ३७ जना थारु सभासद थिए। २०६५ साल फागुन १५ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषदले थारुलगायत ९२ विभिन्न जातजातिलाई मधेसी बनाउने षड्यन्त्र गरियो। जसले गर्दा २०६५ फागुन १९ गते थरुहट संयुक्त संघर्ष समितिले थारुहरु बसोबास गर्ने सम्पूर्ण थरुहट तराईका जिल्लामा ३ दिनसम्म आमहड्तालसहितको आन्दोलन घोषणा गरेको थियो। जसमा आदिवासी जनजाति महासंघ र मुस्लिम महासंघको समेत नैतिक समर्थन थियो। यो आन्दोलन लगातार १२ दिनसम्म चल्यो। यस आन्दोलनमा ४ जना शहादत प्राप्त गरे कमल चौधरी, बिपिन खडका, राम प्रसाद चौधरी र प्रकाश चौधरी। थरुहट आन्दोलन सफल भएपश्चात् २०६५ साल चैत १ गते नेपाल सरकार र आदिवासी थारु समुदाय तथा नेपाल आदिवासी जनजाति महासंघका प्रतिनिधिबीच ६ बुँदे सम्झौता भयो। तर अझैसम्म कार्यान्वयन हुन सकेको छैन्। २०६९ जेठ १ गतेदेखि ५ गतेसम्म थरुहट तराईका सम्पूर्ण जिल्लामा आमहड्ताल तथा बन्द कार्यक्रमको घोषणा भयो। जुन लगातर १३ दिनसम्म थरुहट आन्दोलन चल्यो। धनबहादुर थनेतले शहादत प्राप्त गरे। यस आन्दोलनमा ब्राहमण क्षेत्रीद्वारा नवलपरासी जिल्लामा रहेको राष्ट्रिय थारु संग्राहलयसमेत जलाइयो। यसरी नेपालका शासक वर्गद्वारा सधैं थारु जातिमाथि सुनियोजितरुपमा आक्रमण भइरहेको छ। यो थरुहट आन्दोलन सफल भएपछि २०६९ जेठ १० गते नेपाल सरकारको वार्ता टोली र थारु संयुक्त संर्घष समितिबीच १० बुँदे सम्झौता भयो। तर अझैसम्म पनि कार्यानवयन हुन सकेको छैन्।

संविधान निर्माणका कार्यसूचीअनुसार २०७१ माघ ५ गते कांग्रेसमा मुख्य सचेतक चिनकाजी श्रेष्ठले प्रस्ताव पेस गर्ने र एमालेका प्रमुख सचेतक अग्नि खरेलले समर्थन गर्ने कार्यसूची थियो। तर माओवादीका ३० दलीय मोर्चाद्वारा गरिएको संसद अवरुद्धका कारण चिनकाजी श्रेष्ठले प्रस्ताव पेस गर्न नपाएपछि संविधान सभा अध्यक्ष सुवास नेम्वाङले २०७१ माघ ११ गते आफैं पेस गरी प्रस्ताव समिति गठनसमेत गरे। तर संविधानसभा नियमावली संशोधन निर्वाचन विधयेक २०७० र नेपाल स्वास्थ्य सेवा चौथो संशोधन विधयेक २०७० को प्रस्ताव पेस गर्ने बेलामा थारु मधेशी होइनन्, थारुहरुका लागि छुट्टै कोटा निर्धारण गर्नुपर्छ भनि ४२ जना थारु सभासदले हस्ताक्षर गरी २०७० चैत ११ गते एमालेका सभासद वैजनाथ चौधरीलाई प्रस्तावक बनाए। बाँकी ४१ जना थारु सभासदहरु समर्थकमा बसे। तर प्रस्ताव पेस गर्ने बेलामा माननीय सभासद् वैजनाथ चौधरीले आफ्नो पार्टीको दबाब र ब्यक्तिगत स्वार्थका कारण आफ्नो नाम प्रस्तावकबबाट झिके। जसले गर्दा प्रस्ताव पेस हुन पाएन। पछि थारु सभासदहरु प्रस्ताव पेस गर्नका लागि नाराजुलुससमेत गरे। त्यतिबेला सभामुख सुवास नेम्वाङ केही बोलेनन्। तर २०७१ माघ ११ गते प्रश्नावली समिति गठनको प्रस्ताव कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठलाई पेस गर्न नदिइएको बेला सभामुख सुवास नेम्वाङले एउटा पार्टीको प्रवक्तावस्तै आफैं प्रस्ताव पेस गरी कलंकको टीका लगाए। यसरी सधैं थारु जातिमाथि सुनियोजितरुपमा आक्रमण भइरहेको छ। के अब नयाँ बन्ने संविधानमा थारुहरुको अधिकार सुनिश्चित हुन्छ? कि सधैंभरि थारु जातिमाथि यस्तै आक्रमण भइरहन्छ।

लेखक थरुहट तराई पार्टी नेपालका केन्द्रीय सदस्य हुन्।

4 thoughts on “थारु जातिमाथि सुनियोजित आक्रमण

  1. हेल्लो था. क. स. का अगुवा ज्यूहरु !
    हाम्रो आन्दोलन कहासम्म पुग्यो? या हाम्रो माग पुरा भैसक्यो? कि बिच बाटोबाटै हावा हुण्डरीले उडाई दियो? कता छ हाम्रा थरुहट?? मलाई चाहियो !

  2. थारु जाति नेपालका चौथो दर्जाका नागरिक होइन। बरू थारु जाति त नेपालको “क” श्रेणीको नागरिक हुन्। बिडम्बना थारु जातिलाई प्रतिगामी शासकहरुले कुनै अधिकार सुनिश्चित गरेनन्। थारु माथि जहिले आक्रमण गरि रहे। तर चिन्ता नलिनुहोस्, थारुले मलेरियाको आक्रमणलाई पाखा लगाएकै हुन्। अब थारुले प्रतिगामीहरुलाई पनि पाखा लगाउने नै छन्। यो मेरो दृढ विश्वास हो। यस्तो हुन केहि समय लाग्छ तर प्रतिगामीको अन्त थारुले अबस्य सुनिश्चित गर्नेछन्। तपाई हामी सम्पूर्ण थारुहरुको विचारमा ध्रुवीकरण हुनु जरुरी छ। यो नै अहिलेको आवश्यक्ता हो। यसको लागि थारु विचार एकता अभियान नै द्रुत गतिमा अगाडि बढाउनु पर्छ। जय थारुवान! जय तराईल्याण्ड!! जय नेपाल!!!

  3. प्रचन्ड नेत्रित्वको सरकारले तराइ -मधेशलाई एक प्रदेश ( मधेश ) मा सम्झौता गरेको थियो । अर थारु आन्दोलनले त्यसलाई तुहाइ दियो । पूर्व मेची झापा देखी पश्चिम कन्चनपुर सम्मका जिल्लाहरु थारुहरुको रगत सँग जोडीएका भुमिहरु हुन । यी जिल्लाहरुलाई थारुवान वा थरुहट प्रदेश राखिनु पर्छ । यो हाम्रो पहिचान हो भन्ने व्याख्या थारुहरुले गर्छौ । मधेशीहरुको आफ्नो व्याख्या छ । तर तराइ ( मधेश ) मा युगौ देखी थारु र मधेशी संगै बस्दै आएको समुदाय हो । हामी दुबै समुदाय पहाडीया सामन्तहरुको हेपाहा मनोब्रितीबाट थिचोमिचोमा पर्दै आएको हो । हामी थारुहरुले मधेशीहरुको विरोध गर्नु पनि एक हिसाबले जायज होला । खास गरी थरुहट पहिचानको सवालमा । तर मधेशी दलहरुमा थारुहरु पनि समाहित छन । कुनै पनि कुराको बुझाई समय अनुसार परिवर्तन हुन सक्छ । हिजो हामीले मधेशीलाई खुब विरोध गर्यौ । तर यो बुझाईमा परिवर्तन आइरहेको छ । पहिला मधेशी एक मधेश एक प्रदेश हुनु पर्छ भन्थे । अहिले नाम जे राखे पनि हुन्छ मा आएका छन । यस कारण अब थारु र मधेशी एक भएर आन्दोलन गर्नु उचित होला । जय थरुहट !

  4. मधेशी कसरि युगोउ युग देखि तराइ मा बस्यो सोमना जी ? मधेशी नेता जो आफै बिहार मा जन्मेको सर्टिफिकेट लिएर हिडी रहेका छन् ? हो मैथिली, अवधि केहि त्येस्ता गाउ हरु छन् जुन परापुर्ब काल देखि नै रहिआएका छन् ! तर अहिले मधेशी भनिने रौतहट, सिरहा, सप्तरी ,राजविराज का दक्षिणि भेग मा नुन, मिर्चा, टुटे फुटे समान संकलन गर्दै नेपाल छिरेका हरु को बाहुल्यता छ ! तिनै बिहारी हरु नेपाल को नागरिकता लिएर आफु लाइ मधेशी दाबि गर्दै आएका छन् ! ति बिहारी हरु ले आफ्नो अधिन मा राख्न सबै लाइ मधेशी बिल्ला भिडाएका छन् ! होइन भने मधेशी को बिरुद्द मिथिला आन्दोलन किन हुन्थ्यो ? सौता को रिस ले पोइ को काख मा मुत्ने भन्या यहि हो सोमना जी ! पहाडी को रिस ले मधेशी हुने कि ? बरु त्येही पहाडी लाइ समेत समाबेश गर्न सक्ने गरि थरुहट बनाउने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *