एपीएफलाई भलिबल उपाधि, नेबिका चौधरी उत्कृष्ट खेलाडी

Women_open_Volleyball

नेपाल एपीएफ क्लबले सशस्त्र प्रहरी महानिरीक्षक कप महिला खुला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । एपीएफले मंगलबार विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्‍यो । राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा एपीएफले २५-११, २५-१८ र २५-२३ को नतिजा निकाल्यो । उपाधिसँगै एपीएफले दुई लाख ५० हजार रुपैयाँ हात पार्‍यो । दोस्रो भएको पुलिसले एक लाख २५ हजारमै चित्त बुझायो । 

प्रतियोगिताको समूह चरणको खेलमा पनि एपीएफले पुलिसलाई ३-१ को सेटमा पराजित गरेको थियो । १० दिनको अन्तरमा एपीएफको यो दोस्रो उपाधि हो । अघिल्लो आइतबार मात्र एपीएफले बुटवलमा पुलिसलाई नै फाइनलमा ३-२ सेटले पराजित गरी १९औं महिला राष्ट्रिय भलिबल जितेको थियो ।

एपीएफका प्रशिक्षक कपिलकिशोर श्रेष्ठले मिहिनेतको फल पाइएको बताए । ‘सबैले राम्रो खेले, हामी दैनिकजसो अभ्यास गर्छौं, त्यसअनुसार नतिजा आइरहेको छ,’ श्रेष्ठले भने, ‘अब हाम्रो लक्ष्य ढोरपाटन कपमा ह्याटि्रक गर्ने हो ।’

न्यु डाइमन्ड एकेडेमीले पश्चिमाञ्चललाई ३-० को सोझो सेटमा पराजित गरी तेस्रो भयो । न्यु डाइमन्डले २५-२१, २५-२२ र २५-२१ को नतिजा निकाल्दै समूह चरणमा पाएको ३-२ सेटको पराजयको बदला पनि लियो । न्यु डाइमन्डले ५० हजार पायो ।

एपीएफकी नेबिका चौधरी उत्कृष्ट खेलाडी चुनिइन् । उनी उत्कृष्ट हुँदै स्कुटर हात पार्न सफल भइन् । न्यु डाइमन्डकी प्रतिभा माली उत्कृष्ट स्पाइकर, पुलिसकी रमिला तन्डुकार उत्कृष्ट सर्भर, पुलिसकै कमला पुन उत्कृष्ट डिफेन्स, एपीएफकी सरस्वती चौधरी उत्कृष्ट ब्लकर र विनिता बुढाथोकी उत्कृष्ट सेटरमा चुनिइन् । एपीएफका कपिलकिशोरले उत्कृष्ट प्रशिक्षकको पुरस्कार पाए । सबैलाई जनही पाँच हजार रुपैयाँ प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.