थारु समुदायमा ‘माघी’को रौनक, कतै पीडा कतै उल्लास

maghi mahotsaw-1

नीरज गौतम– नेपालका थारु समुदायका गाउँबस्तीमा अहिले बालबालिकादेखि वृद्धवृद्धालाई माघी पर्वको रौनकले छपक्कै छोपेको छ। माघ १ गतेदेखि सुरु हुने सप्ताहव्यापी सो पर्वमा थारु समुदायले कुटानीपिसानी गर्ने, लत्ताकपडा किन्ने र गाउँघरको सरसफाइ गर्ने काम धमाधम गरिरहेको पाइन्छ। माघी पर्वका अवसरमा सो समुदायले छोराछोरीको बिहे, अंशबन्डा र खेतीपातीको वार्षिक योजना निर्माण गर्नाका साथै परिवारका सदस्यको कामको बाँडफाँटसमेत गर्छ।

सो समुदायले माघी पर्वका अवसरमा विशेषतः ढिकरी, तरुल, सखरखण्ड र फर्सी उसिनेर खाने थारु अगुवा बताउँछन्। माघीको अघिल्लो रात सुँगुर काटी मासु खाने गरिन्छ, जसलाई थारु भाषामा ‘जिता मरना’ भनिन्छ। त्यस रात थारु समुदाय मासु, जाँड र ढिकरी खाई रातभर जाग्राम बसेर ‘सखिया’ नृत्यमा रमाउने गर्दछ।

माघीको दिन (माघ १ गते) झिसमिसेमै उठेर नदी, जलाशयमा गई लोटामा सिक्का(पैसा) राखिएको पानीले नुहाउने र नुहाइसकेपछि सिक्का लुटाउने प्रचलन रहेको थारु समुदायका अगुवा विश्वराज पछलडङ्ग्या बताए। माघीका अवसरमा तिलको आगो ताप्नाले वर्षभरि अन्जानवश गरिएको पाप नाश हुने विश्वास छ।

सो पर्वका अवसरमा थारु समुदायले आआफ्नो गाउँको बडघर (अगुवा) र चौकीदारसमेत चयन गर्छन्। माघीका अवसरमा बर्दियाको ठाकुरद्वारा र बाँकेको बैजापुर गाविसस्थित भुँवरभवानी मन्दिरमा चार दिनसम्म ठूलो मेला लाग्छ।

सो समुदायका मुक्त कमैयाको मुहारमा भने यस बेलामा पनि अझै थुप्रै पीडा लुकेको देख्न सकिन्छ। कमैयामुक्ति घोषणाको १४ वर्ष पूरा भई १५ वर्ष प्रवेशको अवधिमा पनि मुक्त कमैयाको समुचित पुनःस्थापना अझै हुन नसक्दा उनीहरु स्वच्छन्द रमाउन भने सकेका छैनन्।

मुक्त कमैयाले अझै गाँसबासको समस्या झेलिरहेका छन्। अभावमा बाँच्न बाध्य आफूहरुका लागि चाडपर्व पनि उत्साहजनक हुन नसकेको मुक्तकमैया बताउँछन्। सरकारले ‘कमैयामुक्त’ घोषणा गरेर जग्गा उपलब्ध गराए पनि मुक्त कमैयाको समुचित जीवनयापन सहज हुन सकेको छैन। ‘जग्गा मात्र भएर के गर्ने, सरकारले उचित जीवनयापनका लागि ठोस कार्यक्रम हाम्रा लागि नल्याएपछि हामी बिचल्लीमा परेका छौं,’ मुक्तकमैया मङ्गल थारुको गुनासो छ।

सरकारले आफूहरुको सम्मानजनक गाँसबास र कपासको व्यवस्था गर्नुपर्ने तथा ऐलानी, जङ्गलाद, गुठी, कम्पनी, नगर विकास, बाँझो जग्गामा बसोबास गर्दै आएकाहरुको पुनःस्थापना गर्नुपर्ने उनीहरुको माग छ। रासस

One thought on “थारु समुदायमा ‘माघी’को रौनक, कतै पीडा कतै उल्लास

  1. देशले हामीलाई के दिएको छ र ? हैन कि “देशलाई हामीले के दिएका छौ ?” भन्ने सोचाइ राख्नु पर्छ । र सोही अनुसार चल्ने बानी बसालौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *