‘सपना देख्न सिक, सपना,’ डिग्री माइला भन्छन्, ‘अनि मात्रै जीवन बुझ्न सकिन्छ ।’ जिङरिङ कपाल, मध्यम कद र ज्यानका उनी पढाइले डिग्री पास हुन्, तर उनी रक्सी पिउँदै सपनाका कुरा गरिरहेका छन् एउटा भट्टीमा । दृश्य मण्डला थिएटरमा चलिरहेको नाटक ‘डिग्री माइला’ को हो । दयाहाङ राई निर्देशित यो नाटक तेस्रो पटक नियमित मञ्चन भइरहेको छ । यसका मुख्य पात्र हुन्, प्रदीपकुमार चौधरी ।
डिग्री पास गरेर मुलुकका लागि केही गर्ने सपना बोकेको ऊर्जावान् तन्नेरी पुस्ताको प्रतिनिधित्व गर्छन् उनी नाटकमा । जस्तो कि, सहरबाट डिग्री गरेर फर्केका माइला सपना देख्छन्- गाउँमा बस कुदिरहेको, पर्यटकहरूको लाम लागेको, होमस्टेबाट गाउँलेले मनग्गे आम्दानी गरेको अनि गाउँको बीचमा एउटा थिएटरमा नाटक मञ्चन भइरहेको ।
‘असलमा अहिले नयाँ पुस्ताको कुनै सपना पूरा हुने अवस्था छैन,’ नाटकपछि उनले आफ्नो चरित्रबारे थप प्रस्टयाए, ‘तिनीहरू सपना बदल्दै कोही खाडी मुलुकतिर भासिरहेका छन्, कोही कोरिया, जापान र अमेरिकातिर । नाटकमा म यस्तै एक फ्रस्ट्रेटेड पात्र हुँ ।’
नाटकको चरित्र र उनको जीवनको तालमेल पनि लगभग उस्तै छ । खासमा उनी राजदूत बन्न चाहन्थे । उदयपुरको गाईघाटबाट राजविराज गएर उनले मेजर इंग्लिस लिएर पढे । बीए सकेपछि काठमाडौं आएर ‘फरेन अफेयर’ (वैदेशिक मामिला) को तयारी कक्षामा पनि भर्ना भए । उदयपुरमै छँदा केही नाटक गरेको भए पनि थिएटरमा उनको खासै चासो थिएन ।
‘तयारी कक्षाको परीक्षा दिँदै गर्दा दिमागमा आयो— दसदेखि चार बजेसम्म कुर्सीमा बसेर गर्ने काम खासै सिर्जनशील हुँदैन,’ उनले सुनाए, ‘त्यसपछि बीचैमा निस्कें । शंकरदेव क्याम्पसछेउ रंगकर्मी राजन खतिवडासित भेट भो । उनीसँगै पाटनतिर हान्निएँ, त्यहाँ भारतीय रंगकर्मी हबिव तनवीरको ‘चरण दास चोर’ नाटक भइरहेको रहेछ ।’
यसपछि प्रदीपले सपना बदले । लगत्तै मण्डलामा आबद्ध भए, नाटकहरू गर्न थाले । ‘अब मलाई रंगकर्मी सुनील पोखरेल जस्तो बन्न मन लागिसकेको थियो,’ २७ वर्षे अभिनेताले भने । खासमा उनी सुनीलबाट प्रभावित पनि थिए । पहिलो संविधानसभाको चुनावताका उनले सुनीललाई उदयपुरमै भेटेका थिए, सडक नाटकका क्रममा । यसपछि उनले सगरमाथा अञ्चलभरि नाटकका लागि सघाए । प्रदीपको मिहिनेत देखेर सुनीलले सन् २००८ मा गुरुकुलमा भएको अन्तर्राष्ट्रिय थिएटर फेस्टिभलमा स्वयंसेवकका रूपमा डाके ।
‘खासमा सुनील दाइलाई भेट्नु- अघि मलाई थिएटरमा पनि व्यवस्थित अध्ययन र औपचारिक पढाइ हुन्छ भन्ने थाहै थिएन,’ प्रदीपले भने, ‘यो त निकै ठुलो र बौद्धिक क्षेत्र पो रहेछ ।’
त्यही भएर पनि यो क्षेत्रतिर सपना बदलेका उनले नाटक ‘डिग्री माइला’ मा आफ्नी प्रेमिकालाई भन्छन्, ‘बर्सेनि १७ हजार विद्यार्थीले डिग्री पास गर्छन् । तर, यिनका सपना कहिल्यै पूरा हुँदैन । सपना खोज्दै यिनीहरू अनेक मुलुकतिर पलायन हुन्छन् । तैंले त कहिले’नि सपना देख्न जानिनस्, त्यही भएर भन्छु- मान्छे बन्न सिक् ।’
डिग्री पास गर्ने तिनै १७ हजारमध्ये प्रदीप पनि पर्छन् । तीन वर्षअघि नै अंग्रेजीमा डिग्री सकेका उनलाई त्यसले जीवनमा उपलब्धि दिएन । परम्परागत शिक्षा प्रणालीको सिकार बनेका उनी अब ‘नेपाली थिएटर स्पेसलिस्ट’ बन्न चाहन्छन् ।
‘मुलुकबाहिरको कुनै युनिभर्सिटीतिर थिएटरकै कोर्स खोजिरहेछु,’ उनले आफ्नो सपना सुनाए, ‘केही वर्ष थिएटर अध्ययन गरेर आएपछि नेपाली थिएटरलाई नै निरन्तरता दिन्छु ।’
कान्तिपुर दैनिकबाट साभार