मधेसी दललाई ‘हरियो घाँस’

UML-and-madhesidal-meeting

महेश चौरसिया- घाँस खाएर गाईभैँसी, भेडाबाख्राको पेट कहिल्यै भरिँदैन। अघाएको गाईभैँसीले पनि हरियो घाँस देख्यो भने झम्टिन्छ। सके दाम्लो चुडाउँछ, नसके छट्पटिन्छ, मुर्मुरिन्छ। ‘हरियो घाँस’ भैंसीको जीविका हो। मुख्य आहार हो। अहिले राष्ट्रिय राजनीतिमा ‘मधेसकेन्द्रित दल र हरियो घाँस’ को किस्सा चर्चित छ। एक हप्ताअघि नेकपा एमालेका अध्यक्ष केपी ओलीले मधेसकेन्द्रित दलसँग छलफल गर्दा सरकारमा आउन आग्रह गरेछन्।  
प्रतिक्रियामा मधेसी दलले भनेछन्, ‘हामी हरियो घासँ खाँदैनौँ।’ प्रश्न छ, कहिलेसम्म? चेत खुलेर हो कि? एउटा रक्सीबाजले रक्सी त्याग्न सक्ला। अम्मलीले चुरोट छोड्न सक्ला। तर, सत्ताका लागि सधैँ एउटा खुट्टो उचालेर तम्तयार रहने मधेसकेन्द्रित दलले सत्तासीन हुन गरिएको आग्रह कसरी लत्याउन सक्ला! धेरैलाई पत्याउन गाह्रो परेको छ। जेहोस्, तिनको निर्णय र सुरु प्रशंसनीय छ।
सडकमा हिलो छ, पानीलाई दोष दिन मिल्दैन। सही निकास नपाएर पानी जम्यो। हिलो बन्यो। वर्तमान खराब छ, दोष विगतको हो। भविष्य अन्धकार छ, वर्तमानलाई राम्रो बनाउनुपर्छ। गलत र सहीका पनि आआफ््ना कारण हुन्छन्। विगतको गल्तीले आलोचना निम्त्याउँछ नै। भलै कतिपय आलोचना उचित होलान् र कतिपय पूर्वाग्रही। मधेसी दलहरूको अनुहारमा कालो धब्बा प्रशस्त छन्। छिटाहरू टाढैबाट देखिन्छन्। ऐना पुछेर दाग मेटिँदैन। दाग हटाउन अनुहार सफा गर्नैपर्छ। हैन भने, ‘दाग चेहरे पे थी और हम आइना सफा करते रहेँ’ भन्ने उखानजस्तो हुन्छ। मधेसी दल यति धेरै आलोचनाको सिकार हुनु, झन्डै पतनको विन्दुमा पुग्नु, मधेसमै जनाधार गुमाउनु, संविधानसभामा निरीह बन्नुजस्ता परिघटना एकाएक आएका होइनन्। दोष अरूलाई दिन मिल्दैन। विगतको गलत प्रवृत्तिले यो अवस्था भएको हो। आत्मालोचनाले पाप पखाल्छ। शुद्धीकरण नै मधेसी दलहरूको अन्तिम विकल्प हो।
मधेसी दलले यसअघि सत्ता, पद र पैसाबाहेक केही देखेनन्। यसका लागि जस्तोसुकै सम्झौता गर्न तयार भए, गरे पनि। मधेसको एजेन्डालाई सत्तामा पुग्ने भर्याकङ बनाए। एजेन्डा तेर्स्याएर मन्त्रालयको मोलमोलाइ गरे। पदका लागि पार्टी टुक्राटुक्रा पारे। पैसाको लोभमा पार्टी त्याग र प्रवेशको शृंखला चलाए। मधेसलाई भोट बैंकको रूपमा प्रयोग गरे। मधेसी जनताका समस्या समाधान गर्नुको सट्टा खेलबाड गरे। अतिले विध्वंस निम्त्याउँछ। पतनको बाटोमा पुर्यासउँछ। अब बेला भइसकेको छ, मधेसी दलले आआफ्नो पाप पखाल्ने।
अघिल्लो संविधानसभामा मधेसी दलको उपस्थिति झन्डै एक सयको हाराहारीमा थियो। चौथो शक्तिको रूपमा स्थापित थिए। सत्ताको चाबी यिनकै हातमा थियो। सरकार बनाउने र गिराउने यिनको मर्जीमा निर्भर थियो। डा. बाबुराम भट्टराई प्रधानमन्त्री रहेको एमाओवादी नेतृत्वको सरकारमा मधेसी दलको भागमा करिव ६० प्रतिशत मन्त्रालय थियो। इतिहासमै सबैभन्दा बढी मधेसी सहभागिता! सिंहदरबवार परिसरमा आधाभन्दा बढी ठेट मधेसी अनुहार देखिन्थ्यो। मन्त्री, अध्यक्ष र पार्टी नेताहरूको मुहारमा बेग्लै चमक थियो। आत्मविश्वास र शक्ति थियो।
त्यो रबाफ अहिले कहाँ गयो? नूर किन गिर्योम? निरीह किन र कसले बनायो? यी प्रश्नको जवाफ मधेसी नेतालाई राम्रोसँग थाहा छ, हुनुपर्छ। संविधान सभाको दोस्रो चुनाव मधेसी दलका लागि अभिशाप भयो। संसद्, संविधानसभा वा शक्तिकेन्द्रमा अहिले उनीहरूको केही चल्दैन। गल्तीले पाठ सिकाउँछ। सुधि्रने मौका दिन्छ। मधेसी दलका लागि अहिले गल्ती सुधार्ने विकल्पमात्र बाँकी छ। ढिलो भए त्यही मौका पनि गुम्नसक्छ।
प्रसंग ‘हरियो घाँस’ को हो। एमालेले सरकारमा सहभागी हुनलाई राखेको प्रस्ताव मोर्चाले अस्वीकार गरिसकेको छ। छलफलमा अध्यÔ केपी ओलीले मधेसी दल पनि सरकारमा सामेल भएर राष्ट्रिय सहमतिको सरकार बनाउने र त्यसपछि संविधान जारी गर्नसकिने प्रलोभन देखाएका थिए। तर, मधेसी नेताहरूले ‘घाँस’ नखाने प्रतिक्रिया दिए। मोर्चाका नेताहरूले संविधान जारी नभई सरकारमा नजाने आफ्नो भीष्मप्रतिज्ञा सुनाए। ओलीको प्रस्तावलाई तराईमधेस लोकतान्त्रिक पार्टीका नेताले ठट्यौली पारामै अस्वीकार गरेका थिए। मधेसी जनअधिकार फोरम नेपालका अध्यÔ उपेन्द्र यादवले सरकारमा जान लोभ देखाएर फेरि हरियो घा“स हालेका टिप्पणी गरे। ‘अब हरियो घा“समा कोको लोभिने हुन् हेर्न बा“की छ,’ यादवले भने। यादवको कथनमा घाँस देखेर कसैले दाम्लो चुडाउँला कि भन्ने सन्देह देखियो।
मोर्चा पुनःगठनले एउटा प्रष्ट सन्देश गएको छ, ‘पहिलाजस्तो सत्ताका लागि मधेसी दलहरूले जस्तोसुकै सम्झौता गर्दैनन्। र, आपसी मनमुटावले पार्टी टुक्राटुक्रा भए पनि आवश्यक परे एजेन्डाका आधारमा एकजुट हुनसक्छन्।’ भोलि आन्दोलनमा जानु परे पनि मोर्चाको तर्फबाट साझा ब्यानर प्रयोग गर्न जनतालाई संयुक्तरूपमा आह्वान गर्न सजिलो हुनेछ। टुक्रिएका शक्ति एकत्रित हुने मौका पनि हो यो।
‘हरियो घाँस’ को चर्चाले मधेसी दललाई फाइदै गरेको छ। यसले एउटा सुखद र सकारात्मक सन्देश प्रवाह गरेको छ। मधेसी जनतामा राम्रो सन्देश गएको छ। मधेस जनविद्रोहताका बनेको संयुक्त मोर्चा अहिले पुनर्गठन गरिएको छ। मधेसकेन्द्रित ६ वटा राजनीतिक दलले मोर्चालाई पुनः ब्यु“ताएका हुन्। उनीहरूले संविधान निर्माण नभएसम्म मोर्चाको कुनै पनि घटक सरकारमा सामेल नहुने निर्णय गरेका छन्। मोर्चाले पहिचान र सामर्थ्यको सिद्धान्तका आधारमा संघीयताको निर्माण गराउने र प्रदेश गठन गर्दा तराईमधेसको कुनै पनि भूभागस“ग पहाडलाई जोड्न नदिने पनि निर्णय गरेको छ। मधेसी जनताका लागि सत्ताभन्दा पनि एजेन्डाको सम्बोधन र सुनिश्चिता महत्वपूर्ण थियो, छ र रहनेछ पनि। यसमा कोको कति दिनसम्म अडिन सक्छन्, मधेसको भावी राजनीति त्यसैमा निर्भर रहन्छ।

मोर्चाको भूमिका
गुमेको विश्वास पुनःआर्जन गर्नु मधेसी दलका लागि ठूलो चुनौती हो यसभन्दा पनि महत्वपूर्ण छ, एजेन्डा सम्बोधन नहुदाँसम्म सरकारमा नजाने सार्वजनिक प्रतिबद्धतामा कायम रहनु। विगतको जस्तो मधेसको एजेन्डासँग सम्झौता नगर्ने ठोस आधार तयार गर्नुपर्छ। पार्टी फुटजस्तै मोर्चालाई विभाजनबाट जोगाउन सक्नुपर्छ। मुद्दा सुनिश्चित गराउन मधेसी जनतालाई विश्वासमा लिन सक्नुपर्छ। संविधान सभामा संख्या कम भए पनि मधेसको मुद्दा कमजोर छैन। फोरम नेपालका नेता अमरेशनारायण झा भन्छन्, ‘दोस्रो चुनावपछि स्वाभाविकरूपमा मधेसी दल कमजोर देखिएका हुन्, तर मधेसी एजेन्डा अहिले पनि बलियो छ।’ नेतापिच्छे व्यक्तिगत वार्ता, छलफल वा ‘डिलिङ’भन्दा संयुक्त मोर्चालाई अघि सार्नुपर्छ। यसो गर्नसक्दा सत्तापक्षसँगको वार्तामा होस् वा संविधान सभामा मोर्चाको आवाजलाई कसैले कमजोर आँक्न सक्दैन। मधेस एउटा बलियो शक्ति हो। मधेसको भोटविना काठमाडौँमा सरकार बन्दैन। पहिचान, संघीयता र समावेशीजस्ता उपलब्धि मधेसकै देन हो। पार्टी सानो वा ठूलोले केही फरक पर्दैन। संसद्मा संख्याको बढी महत्व हुन्छ। संविधान निर्माण प्रक्रियामा एक व्यक्ति एक एजेन्डा पनि बलियो भएर प्रस्तुत हुनसक्छ। यसको उदाहरण, विश्वेन्द्र पासवान छँदैछन्।

मोर्चाको चुनौती
सत्तापक्षबाट प्रस्ताव हुनसक्ने पद, पैसा वा अन्य प्रलोभनबाट जोगिनु मोर्चाको पहिलो चुनौती हो। दोस्रो, मोर्चाभित्र नेतृत्वको टकरावबाट यसका अध्यक्षहरू जोगिनुपर्छ। सबैलाई थाहै छ, केन्द्रीय सदस्यको समेत हैसियत नभएका व्यक्ति पनि पार्टी फुटाएर राष्ट्रिय अध्यक्ष बनेका छन्। पछिल्लो चरित्र हेरेर बाह्य प्रलोभनमा परेर मोर्चा पनि नफुटाउलान् भन्न सकिन्न। त्यसकारण, नेतृत्वको टकरावबाट बच्नुपर्छ। तेस्रो, सत्तापक्षबाट हुनसक्ने सम्भाव्य षड्यन्त्रको सिकार हुनबाट नजोगिए मोर्चाको भविष्य छैन। पाप नपखालिँदासम्म ‘हरियो घाँस’ त्याग्न सक्नुपर्छ। जिल्ला र स्थानीय तहमा मोर्चामा आबद्ध मधेसी दलहरूले नेता र कार्यकर्ताबीच राम्रो समन्वय गराउनु अर्को चुनौती हो।
सत्ता जहिले पनि मधेसी दलका निम्ति घातक बनेको छ। जुन पार्टी सत्तामा गयो, त्यो फुटको सिकार भयो। सत्ताप्राप्ति हरेक राजनीतिक दलको प्रमुख उद्देश्य हो, हुनुपर्छ। सत्ताविना संरचना परिवर्तन गर्न सकिँदैन। तर, मधेसका हकमा अहिले सत्ताभन्दा पनि संविधान महत्वपूर्ण हो। यसकारण पनि सत्ताको स्वादलाई केही समय बिर्सनुपर्छ।
– नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published.