कैलालीमा सुरु भयो ‘देशावर’

timthumb

गणेश चौधरी- पथरैया ६ भगरैयाका गंगाराम चौधरी झिटीगुन्टा बोकेर कुलो खन्न करिब २० किलोमिटर टाढा कर्णाली चिसापानी पुगेका छन्। आफूलाई चाहिने सामल साथमा ल्याएका उनले पाँच दिनदेखि खुला आकाशमुनि रात बिताइरहेका छन्। जमरा र कुलरिया कुलोको मुहान खन्न चिसापानी आएका करिब पाँच हजार किसानको बास चौधरीजस्तै कर्णाली नदी किनारका रूखमुनि छ। कैलालीको पूर्वी भेगका एक सय ३५ मौजा-गाउँ) का किसान ‘देशावर’ -श्रमदान) मा जुटेका छन्।

यसरी नै कुलो र मुहान खन्ने मेलालाई स्थानीय भाषामा देशावर भन्ने गरिन्छ। उनीहरूले फरूवाको सहारामा मुहान तयार पार्छन्। कुनै गाउँका किसान रूखको फेदमुनि बसेका छन् भने कोही त्रिपाल टाँगेर। जंगलको बास निकै कष्टकर भए पनि कुलो नखनी खेती नहुने बाध्यताले तानेको दुर्गौली-७ सुवर्णपुरका मानबहादुर चौधरी बताउँछन्। ‘देशावरमा आउनेहरूको काम विभाजन गरिएको छ,’ उनी भन्छन्, ‘कसैले कुलो खन्छौं, कसैले खाना पकाउँछन्।’

चिसो छल्न ओढ्ने-ओछ्याउनेदेखि खाद्यान्न पनि साथमा ल्याएका छन्। ‘चिसोमा खुला आकाशमा रात बिताउँदा हुने दुःख देशावरमा आउनेलाई मात्र थाहा हुन्छ,’ गंगाराम भन्छन्, ‘स्याउला या त्रिपालले बनाएको टहरामा रातभरि शीत चुहिएर सुत्न सकिंदैन, आफ्नै लागि दुःख सहेर काम गरिरहेका छौं।’ रानी, जमरा र कुलरिया कुलोमा पानी ल्याउन गाउँका बडघरले किसान भेला गराउँछन्।

‘व्यवस्थित सिँचाइको व्यवस्था नभएसम्म देशावर प्रणालीबाटै काम चलाउनुपर्ने अवस्था छ,’ जमरा कुलो जल उपभोक्ता समूहका अध्यक्ष लालवीर चौधरीले भने। उनका अनुसार कणर्ाली कुलो सिँचाइ आयोजना सुरु भए पनि कुल लागतको आठ प्रतिशत जनश्रमदान गर्नुपर्ने भएकाले देशावरको चलन कायम रहेको हो।

रानी, जमरा र कुलरिया कुलो सिँचाइ उपभोक्ता संस्थाका अध्यक्ष कुमारराज शाहीका अनुसार पाँच फिट गहिरो र करिब २७ फिट चौडाइको कुलो करिब १२ सय मिटरसम्म यस सिजनमा किसानले खन्नुपर्छ। ‘त्यसका लागि लाग्ने समय यकिन छैन,’ उनले भने, ‘नदीको धेरै क्षेत्र ढुंग्यान भएकाले खन्न निकै गाह्रो छ, नखनी नहुने बाध्यता पनि छ।’ व्यवस्थित सिँचाइ प्रणाली नभएकाले कैलालीका किसान हरेक हिउँदमा कुलोको मुहान खोल्न र बाँध मर्मतका लागि श्रमदानमा जुटछन्। कणर्ाली सिँचाइ प्रणालीका जमराका १७, कुलरियाका १४ र रानी कुलोका १६ वटा सहायक बाँध बर्सेनि मर्मत गर्नुपर्छ।

कहिलेदेखि सुरु भयो देशावर
लालबीरका अनुसार देशावरको चलन सुरु भएको करिब दुई पुस्ता बितिसकेको छ। रानी, जमरा र कुलरियामध्ये रानी कुलो सबभन्दा पुरानो हो। उक्त कुलो करिब एक सय १२ वर्षअघि तत्कालीन रानी पदमकुमारी शाहले निर्माण गर्न लगाएकी हुन्। उनकै नामबाट आजसम्म्ा पनि यसलाई रानी कुलो भनिन्छ। राणाकालमा सुवर्ण शमशेरको पूरै मौजा थियो यो क्षेत्र,’ लालबीरले भने, ‘बिर्ता भएकाले बस्ती विस्तारका लागि दाङबाट थारू जातिलाई ल्याए र कुलो बनाउन लगाए।’ उनका अनुसार त्यतिखेर थारूलाई कुलो खन्न पठाउने र त्यसबापत सुंगुर काटेर खुवाउने चलन थियो। अहिले रानी कुलोबाट यस क्षेत्रका करिब ४८ गाउँमा सिँचाइ सुविधा उपलब्ध भइरहेको छ।

जमरा कुलो करिब एक सय पाँच वर्षअघि निर्माण भएको हो। तत्कालीन कर्णेल ढुण्डीराज शाहीले यसको निर्माण गराएका हुन्। यसले ३८ गाउँलाई सिँचाइ सुविधा उपलब्ध गराएको छ। कुलरिया कुलोको निर्माण स्थानीय किसान मधु महतौ र कन्हैया महतौले करिब ८७ व्ार्षअघि गर्न लगाएका हुन्। त्यसले करिब ३३ गाउँलाई सिँचाइ सुविधा पुर्याुउँदै आएको छ। तीन वटै कुलोको मुहान कणर्ाली नदी हो। जिल्लाको पूर्वी क्षेत्रका सात गाविस र टीकापुर नगरपालिकाका किसानले फरूवाले मुहान खनेर सिँचाइ प्रणालीको विकास गरेका छन्। धनसिंहपुर, नारायणपुर, दुर्गौली, पथरैया, जानकीनगर, बलिया गाविस र टीकापुर नगरपालिकाको करिब २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने रानी, जमरा र कुलरिया कुलोको मुहान हरेक वर्ष किसान मिलेर खन्छन्। देशावरमा आएका किसानका लागि गाउँपिच्छे लाठीले नापेर खन्ने भाग लगाइन्छ। कर्णाली सिँचाइ परियोजनाको काम दु्रत गतिमा भइरहेकाले केही वर्षपछि देशावर आउने परम्परा हटने विश्वास किसानको छ।

– कान्तिपुर दैनिकबाट

One thought on “कैलालीमा सुरु भयो ‘देशावर’

  1. बस्ती बिस्तारको लागि दाङ्गबाट मान्छे ल्याए भनियो । यसले कैलालीमा थारु थिएनन् दाङ्गबाट ल्याइएका थारु मात्रै छन् भन्ने गलत अर्थ पनि जान सक्छ । कैलालीमा थारुहरु पहिले देखि नै थिए । कतिपयलाई दाङ्गबाट ल्याएको पक्कै हो बुझ्नु पर्दछ । दाङ्गबाट अाएको कुरालाई अाधार मानी कतिपय सटही लेखकहरुले कैलालीमा थारु थिएनन् भन्ने कुरा पनि लाजै नमानी लेख्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *