झापा शनि-अर्जुन नगरपालिकामा एउटा यस्तो वडा छ, जहाँका खेलाडीले सिंगो जिल्लाको प्रतिनिधित्व गर्छन्। वडा नम्बर-९ सालबारीका महिला खेलाडी जिल्लाको प्रतिनिधित्व गर्दै दर्जनौं प्रतियोगितामा सहभागी बन्ने गरेका छन्। रौतहटमा हालै सम्पन्न बालिका कप फुटबल उनीहरूको पछिल्लो प्रतियोगिता हो। त्यसअघि पूर्वाञ्चलस्तरीय प्रतियोगिताहरू, एनसेल कप तथा विभिन्न जिल्लास्तरीय प्रतियोगिता खेल्ने टोली यही हो।
‘महिला फुटबलको झापा सेटमा सबै एउटै वडाका हुन्,’ प्रशिक्षक तथा फिफा रेफ्री प्रदीप बस्नेत भन्छन्, ‘वडाका भए पनि सिंगो जिल्लाको प्रतिनिधित्व गर्छन्।’ रोचक के छ भने सबै खेलाडी सालबारीको महारानीगन्ज माविका छात्रा हुन्। खेलाडीहरू अधिकांश आदिवासी चौधरी समुदायका छन्। ‘११ जनामध्ये ९ जना त चौधरी समुदायकै छन्,’ बस्नेत भन्छन्। बस्नेतका अनुसार १४ वर्षमुनिको र १७ वर्षमुनिको जिल्ला सेट पनि यही वडा र यसै स्कुलका छात्रा छन्।
विगतमा महिला फुटबलका लागि झापा प्रख्यात थियो। पछिल्लो केही वर्षदेखि महिला फुटबलर सिला खोज्नुपर्ने अवस्था बनिरहेका बेला सालबारीका बस्नेतकै सक्रियतामा महिला खेलाडी उत्पादन भइरहेका छन्। उनले ६ वर्षदेखि महिला खेलाडीलाई निःशुल्क प्रशिक्षण दिइरहेका छन्। ‘जिल्लामा महिला खेलाडी हराउँदै गएका छन्,’ उनले सुनाए, ‘खेलाडी हराउन नदिन पनि यो अभियान जरुरी छ।’ यो अभियान सफल पार्न सहकर्मी मानबहादुर लिम्बूको साथ छ। दुवै महारानीगन्ज माविका शिक्षक हुन्।
बस्नेतका अनुसार सालबारीका महिला खेलाडी अत्यन्तै क्षमतावान् छन्। त्यति हुँदाहुँदै पनि उनीहरूको एउटा समस्या छ- गरिबी। कतिसम्म छ भने चाहेका बेला जुत्ता र जर्सी किन्ने हैसियत छैन। उनीहरूमा लगावचाहिँ कति छ भने अर्काको खेतमा काम गरेर कमाएको पैसाले जुत्ता किनेर फुटबल खेल्न आउँछन्। ‘एक जोर जुत्ता किन्न धेरै खेलाडी खेताला जानुपर्ने बाध्यता छ,’ बस्नेतले बिलौना गरे, ‘यति हुँदाहुँदै पनि उनीहरू आफ्नो जिल्लाका लागि मिहिनेतका साथ खेल्छन्।’ उनीहरूसँग खेल्ने बल पनि हुन्न। जिल्लामा हुने विभिन्न प्रतियोगितामा रेफ्री भएर गएका बखत बस्नेतले ‘मेरा चेलीका लागि’ भनेर आयोजकसँग बल माग्दै ल्याउँछन्। त्यसरी ल्याइएका बल महिलालाई दिन्छन्।
केही महिनाअघि झापाको बिर्तामोडमा महिला फुटबल प्रतियोगिता भएको थियो। झापाको टोली पनि त्यहाँ सामेल थियो। टोलीकी एक सदस्य एलिना नेपाली जुत्ता नभएर मैदान ओर्लन सकिनन्। यो समस्या एलिनाको मात्रै थिएन। सबैको हो। ‘सबैका अभिभावक ज्याला मजदुरी गर्छन्। उनीहरूको कमाइले बिहान, बेलुकाको छाक टार्न पनि हम्मे पर्छ,’ शिक्षक मानबहादुरले भने, ‘बडो कष्टसाथ खेलिरहेका छन्।’ जुत्ता र जर्सीको समस्या त छँदै छ। भोक लाग्दा खाजा खाने अवस्था पनि हुन्न। ‘कुदेर भोकाएका हुन्छौं,’ टिम कप्तान रञ्जना चौधरी भन्छिन्, ‘आफैं किनेर खाजा खान सक्ने अवस्था पनि छैन।’ शरीरले मागे जति डाइट खाएर खेल्न सक्दा सबै खेलाडीको प्रदर्शन राम्रो हुन सक्ने रञ्जना बताउँछिन्। ‘अहिलेसम्म जति खेलिरहेका छौं, त्यो आफ्नो बलबुताले मात्रै हो,’ रञ्जना भन्छिन्।
केही वर्षअघि त घर बाहिरका प्रतियोगितामा प्रायःलाई अभिभावकबाटै अवरोध हुन्थ्यो। जब उनीहरूले प्रतियोगिता जित्दै गए, पत्रपत्रिकामा तस्बिर छापिन थाल्यो, पत्रिकामा छोरीहरूको तस्बिर देखेका अभिभावक अचेलचाहिँ बुझकी भएका छन्। ‘अभिभावक पनि आफ्ना छोरीहरूको प्रतिभाबारे बल्ल जानकार भए,’ प्रशिक्षक बस्नेत भन्छन्।
जिल्लाको महिला टोली अहिले जुन स्थितिमा छ, त्यहाँसम्म पुर्याउने श्रेय बस्नेतकै हो। फुटबलका वरिष्ठ प्रशिक्षक भगीरथ आले ‘मामा’ भन्छन्, ‘उहाँको सानो प्रयासले यो सफलता हासिल भएको हो।’ मामाका अनुसार केही वर्षअघिसम्म सालबारीमा फुटबल खेलाडी सिला खोज्नुपर्थ्यो। तर, बस्नेतको निःस्वार्थ सहयोगले कम्तीमा महिलाको जिल्ला सेट बन्न सक्यो। मामा भन्छन्, ‘सालबारीमा खेलाडी नभएका भए महिलाको प्रतियोगितामा झापा सधैं अनुपस्थित हुने थियो होला।’
-पर्वत पोर्तेल/कान्तिपुर दैनिक