सम्झनेन् कसैले परशुनारायणलाई

Pershunarayan

कृष्णराज सर्वहारी- थारु समुदायका राजनेता परशुनारायण चौधरीले हामीबाट बिदा लिएको दुई बर्ष पूरा हुँदैछ। २०६९ मंसिर २१ गते उनको निधन भयो। तर उनी गुमनाम भए, उनको योगदानको कही कतै चर्चा भएन। सबैको मरेपछि चर्चा हुन्छ भन्ने भनाईमा उनी अपवाद रहे।
कुनै समय नेपाली काँग्रेसका हस्ती परशुनारायणको पञ्चायत प्रवेश र पछिल्लोपटक राजसभा स्थायी समितिको सभापति पदबारेको चर्चालाई ठाँटी राख्ने हो भने पनि उनी उल्लेख गर्न लायक व्यक्तित्वमा अवश्य पर्छन्। काशी विश्वविद्यालयमा पढ्दा पढ्दै वीपी कोइरालाको संगतमा लागेका चौधरी आफ्नो गृहजिल्ला दाङदेउखुरीमा काँग्रेसको मलजल गरे, राणाशासन बिरुद्ध लडे। २०१५ सालको आमनिर्वाचनमा दाङबाट निर्वाचित यी व्यक्तित्व वीपीको प्रधानमन्त्रीत्वमा शिक्षा मन्त्री भए। आफ्नो गाउँ गोवरडिहामा विद्यालय स्थापना गरे। देउखुरी उपत्यकाबाट पुराना पुस्ताका जतिले शिक्षा पाए, सोही विद्यालयमा पढे।
२०१७ साल पुस १ गते राजा महेन्द्रले वीपीको प्रजातान्त्रिक सरकारलाई ‘कू’ गर्दा परशुनारायण एक बैठकको सिलसिलामा विदेशमा थिए, उतैबाट भारत निर्वासित भए। मेलमिलापको नीतिसँगै ९ वर्षको निर्वासनमा पछि उनी वीपीसँगै २०२५ सालमा नेपाल आएका थिए। उनको लगनशीलताले नेपाली काँग्रेसमा उनले वरिष्ठ महामन्त्रीको पद पाएका थिए। वीपीले बारम्बार भन्ने गरेका थिए- ‘मेरो शेषपछिको उत्तराधिकारी तपाई नै हो। तर उनी २०३८ सालमा एकाएक पञ्चायत प्रवेश गरे। त्यसबेला वीपीको टिप्पणी थियो– चौधरी सुविधाभोगी राजनीतिमा लहसिए।

पञ्चायत प्रवेशपछि उनी पञ्चायत नढल्दासम्म लगातार मन्त्री बनिरहे। उनको गल्ती छयालीसको आन्दोलन दवाउन प्रतिकार समितिको संयोजक बन्नु रह्यो। तर पञ्चायतमा रजगज गरेका अर्जुननरसिंह केसीहरू काँग्रेसमा प्रवेश गरेर चोखिए। अञ्चलाधीश रहेका सूर्य बहादुर सेन ओलीहरू माओवादीमा छिरेर क्रान्तिकारी भए। छयालिसको आन्दोलनपछि परशुनारायण माउ पार्टी काँग्रेसमा नछिरेका होइनन्। तर २०४८ को चुनावमा उनलाई टिकटबाट वञ्चित गरियो। स्वतन्त्र उमेदवारको पर्चा छापिएर आए पनि बाँडिएन। उनले आफ्नो उमेदवारी फिर्ता लिएको अनौठो समाचार सुन्न पाइयो।

स्वतन्त्र उमेदवारी फिर्तापछि पनि कांग्रेस पार्टीमा उनलाई कुनै स्थान दिइएन। अन्ततः उनी राप्रपामा छिरे, २०५१ मा सोही पार्टीबाट संसदीय चुनाव लडे तर पछारिए। राजनीतिमा आफू असफल भएको उनलाई लाग्यो। निस्त्रि्कय जीवन बाँचिरहेका उनलाई राजा ज्ञानेन्द्रले राजसभा स्थायी समितिको सभापति बनाएर प्रयोग गरे। उनीमाथि निष्ठाको राजनीति नगरेको आरोप लाग्यो। मण्डलेको आरोपबाट उनी चोखिएनन्। उनको माउ पाटीं काँगे्रसले, न त आफूले स्थापना गरेर हुर्काएको नेपालको पहिलो सामाजिक संस्था थारू कल्याणकारिणी सभाले नै शोकको सामान्य विज्ञप्तिसम्म जारी गर्‍यो।
छयालीसको आन्दोलनपछि बनेको दोश्रो लोकतान्त्रिक सरकारको अगुवाइ गिरिजाप्रसाद कोइरालाले गरे। धेरैको भनाइ सुनियो– परशुनारायणले पञ्चायत प्रवेश नगरेको भए आज उही एउटा थारूको छोरो प्रधानमन्त्री हुन्थ्यो। तर यो आँकलन हावामा तीर हानेझैँ लाग्छ। निश्चय पनि वरिष्ठ महामन्त्रीको हैसियतले उनी त्यसको हकदार हुन्थे तर राजनीतिमा बाहुनवाद हावी भएको वेला उनको के सुनुवाइ हुन्थ्यो र? काँग्रेसमा पछिल्लोपटक सर्वोच्च नेता गणेशमानसिंह र सन्त नेता कृष्णप्रसाद भट्टराईको अवस्था देखिएकै हो, दुवैले पार्टी परित्याग गरे। परशुनारायणले उल्टो दिशाको राजनीति गरे भन्ने कांगे्रसीहरु आज आफै उल्टो दिशामा, यथास्थितिबादको राजनीतिमा कुहिरोको काग भएका छन्, संघीयता उनीहरुलाई पचिरहेेको छैन। अझ भट्टराईले त राजा ज्ञानेन्द्रको कदमको खुलेरै प्रशंसा गरेका थिए, उनको सम्झनामा भक्तपुरको बाँडेगाउँमा आश्रम बन्यो। तर परशुनारायण जीवनको अन्तिम घडीम पाटन अस्पतालको सामान्य बेडमा मृत्युसँग लडिरहे। सामान्य खोकीको उपचार गराउन बैँकक, अमेरिका धाइरहेका मन्त्री, सरकारको नजर उनको गिर्दो स्वास्थ्यमा पर्दै परेन।
थारू समुदायबाट राजनीति गर्ने जति हस्ती छन्, परशुनारायणको उचाइ लिन शायदै सक्लान्। उनी ७/८ वर्ष मन्त्री भएको, केही समय राजसभा स्थायी समितिको सभापति भएको गणना त सबैले गरे तर उनी दशक बढी निर्वासनमा बिताएको, राणा शासनको खिलाफमा लडेकोमा कसैले दृष्टिगत गरेनन्। पछिल्लो कालमा छोरी, श्रीमती गुमाएका उनी दुवै छोराहरू पनि विदेशिएका कारण नितान्त एक्लो जीवन विताइरहेका थिए। सरकार, समाजबाट त उनले साथ पाएनन् नै, पारिवारिक सुख पनि उनको भाग्यमा रहेन।
परशुनारायणको शवदाहमा यो पंक्तिकार पनि उपस्थित थियो। आर्यघाटको मृत्युशैयाको चितामा चीर निन्द्रामा पल्टिएका बेला उनको मुहारमा सन्तोषको भाव झल्किन्थ्यो। अन्तिम संस्कारमा उपस्थित नभएका छोराहरुलाई सन्देश पो थियो कि– छोराहरु म आफू बाँचुन्जेल देशकै सेवा गरेर मरें, तिमीहरू पनि स्वदेशमै आउ, म त गुमनाम भएर बितें, तिमीहरूले मेरो नामलाई उचाइमा पुर्‍याउ। के उनको परिवार, थारू समाज, यो देशले उनको योगदानको उचित मूल्याङ्कन गर्ला? या उनी अव सदाको लागि गुमनाम भए? प्रश्न अनुत्तरित छ।

र, अन्तमाः दुई बर्ष अघि यो पंक्तिकारले लेखेको थियो। परशुनारायणको नाउँमा कुनै ट्रष्ट, सम्झना कोष खडा होस्। त्यही कोषले उनको स्मारिका प्रकाशन गरोस्, शालिक खडा गरोस्। प्रत्येक वर्ष मंसिर २१ गते सम्झना दिन स्वरुप कुनै पुरस्कार स्थापना गरेर सम्झना चीरकाल बनाओस्। त्यसपछि मात्र उनीप्रति सच्चा श्रद्धान्जली ठहरिनेछ। तर यीमध्ये उनीबारे कुनै एउटा सिन्को भाँच्ने काम पनि भएको छैन। देउखुरीमा उनी जीवित छँदा उनको गोत्र सत्गौवा समाजले उनलाई संरक्षक त राखेको थियो तर मृत्युपश्चात संरक्षकको चीरकालको सम्झनाको लागि काम गर्न छाडेर चीरनिन्द्रामा सुतेको छ।

चलि गोचाली मंसिर महिनाबाट साभार

Leave a Reply

Your email address will not be published.