![तस्बिर : कुमार श्रेष्ठ/रासस](https://archive.tharuwan.com/wp-content/uploads/2014/11/NEFIN-1.jpg)
काठमाडौं- आदिवासी जनजाति आन्दोलनमा रहेको विभाजनको स्थिति झनै चर्कने देखिएको छ। आदिवासी जनजाति आन्दोलनका अगुवा राजकुमार लेखीले तराईका आदिवासी जनजातिको माग पहाडका पाँच दस जना आदिवासी जनजाति नेताहरुले आफ्नो नठान्नाले समस्या पैदा भएको बताएका छन्।
आदिवासी जनजाति महासंघले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा लेखीले तराईका आदिवासी जनजातिका माग पहाडका आदिवासी जनजाति नेताहरुले बोक्ने कि नबोक्ने भनी प्रश्न उठाएका थिए। आदिवासी जनजाति महासंघले पनि तराईका आदिवासी जनजातिको मागमुद्दा बोक्न छाडेको उनले बताए।
हालै खुलेको पदमरत्न तुलाधर नेतृत्वको मोर्चा र आदिवासी जनजाति महासंघले सहकार्य गर्ने सहमति गरेका छन्। आजको कार्यक्रममा महासंघका अध्यक्ष नगेन्द्र कुमाल र तुलाधर दुवैले बोलेका थिए।
तराईको माग मुद्दालाई फिटिक्कै उच्चारण नगरी तुलाधरको समितिले आन्दोलन गर्न खोजेको र थारु लगायत तराईका आदिवासी जनजाति समुदायको पनि समर्थन खोज्नु गलत भएको कार्यक्रममा लेखीले बताए।
कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) कि अध्यक्ष रुकमिणी चौधरीले भनिन्, ‘तराईका मूल आदिवासी जनजातिका लागि राज्यका हरेक निकायमा जातीय जनसंख्याका आधारमा कोटा छुट्याइनुपर्छ। तराईका आदिवासी पहाडी समुदाय पनि होइन, मधेसी समुदाय पनि होइन। यी दुवैभन्दा फरक र नितान्त मौलिक पहिचान बोकेको समुदाय हो भन्ने हाम्रो मागमा तपाईँहरुको समर्थन हुन्छ कि हुँदैन?’
कार्यक्रममा थारु कल्याणकारिणी सभाका अध्यक्ष धनीराम चौधरीले भने, ‘हामी साझा आन्दोलन चाहन्छौं। हामी हिमाल पहाड र तराई जोड्न चाहन्छौं। पहाडका आदिवासी जनजातिलाई मात्र सम्बोधन गर्ने तर तराईका आदिवासी जनजातिका माग मुद्दाबारे उच्चारण सम्म गर्न नमान्ने कथित साझा आन्दोलनमा हाम्रो सहकार्य हुन सक्दैन।’
राजकुमार लेखी, रुकमिणी र धनीरामपछि बोलेका तुलाधर र कुमाल दुवैले तराईका आदिवासी जनजातिको मागमुद्दाबारे कुनै उच्चारण गरेनन्। कार्यक्रमपछि थारु कल्याणकारिणी सभाका अध्यक्ष धनीराम चौधरीले भने, ‘उहाँहरु तराईका आदिवासी जनजातिका माग मुद्दा सम्बोधन होस्, साझा आन्दोलन होस् भन्ने चाहनुहुन्न। उहाँहरु पहाडका आदिवासीको मुद्दाका लागि आन्दोलन गर्न चाहनुहुन्छ र त्यसमा हाम्रो समर्थन खोज्नुहुन्छ। तराईका आदिवासी जनजातिलाई दोस्रो दर्जाको ठान्ने प्रवृत्तिसँग हामी सहमत हुन सक्दैनौं।’
लेखीले भने, ‘कांग्रेस, एमाले र एमाओवादी एउटै ड्याङका मुला हुन्। यिनले माघ ८ मा संविधान बनाउँछन् र आदिवासी जनजातिलाई अधिकार दिन्छन् भनेर पत्याउने मूर्ख हुन्।’
लेखीले तीनवटै पार्टीलाई एउटै ड्याङको भनेपछि आदिवासी जनजाति आन्दोलनमा झनै विभाजनको स्थिति देखिएको हो। एमाओवादीसहित २२ दलले पदमरत्न तुलाधरको नेतृत्वमा आन्दोलन गर्न बेग्लै मोर्चा बनाएका छन्। उनीहरुलाई समेत प्रहार गर्दै लेखीले भने, ‘आदिवासी जनजाति आन्दोलन कुनै पार्टीको पिछलग्गु बन्न हुँदैन। यस्तो हलमा कार्यक्रम गरेर अधिकार प्राप्ति हुँदैन, कुनै पार्टीको पुच्छर बनेर आन्दोलन हुँदैन। अब आन्दोलन सडकमा हुनुपर्छ।’
थारु समुदायको माग मुद्दालाई पहाडका मुठठीभर आदिवासी जनजाति नेताहरुले उपेक्षा गरेको आरोप लेखीले लगाए, ‘आफूलाई आदिवासीको नेता हौं भन्ने पहाडका केही ठालुवादीहरुले आन्दोलन गर्न कमिटी बनाएका छन्। उनीहरु तराईमा बहुप्रदेश भयो भने देशको अर्थतन्त्रले थेग्दैन भन्छन्। पहाडमा जति प्रदेश बनाए पनि हुने, तराईमा धेरै प्रदेश बनाउँदा अर्थतन्त्रले नथेग्ने कूतर्क गरेर आदिवासी जनजाति आन्दोलन अगाडि बढ्दैन।’
उनले सोधे, ‘के थारु समुदाय पाँचौं दर्जाको नागरिक हो? के थारु समुदाय २२ दलको कमैया हो? २२ दलको आन्दोलन कुर्सीमा गएर टुंगिन्छ, आदिवासी जनजातिको आन्दोलन अधिकार प्राप्तिमा गएर टुंगिन्छ। बाटो नै फरक भएपछि के को एकता?’
पहाडे आदिवासी जनजाति र तराईका आदिवासी जनजातिका रुपमा आदिवासी जनजाति आन्दोलन गम्भीर रुपमा विभाजित हुने स्थिति देखिएको छ। आज थारु अगुवा लेखी र चौधरीले उठाएका कुनै प्रश्नको जवाफ तुलाधर, कुमाल तथा पहाडी आदिवासी जनजाति नेताहरुले दिएनन्।
कार्यक्रमको वक्ताका रुपमा रहेका उनीहरुले तराईका आदिवासी जनजातिका माग मुद्दा बोक्छौं भन्ने भाषणको प्रतिबद्धतासमेत व्यक्त गरेनन्। तुलाधर र कुमाल दुवैले पहिचानसहितको संघीयताको वकालत गरेका थिए। तुलाधरले एकल जातीय राज्य हुनुपर्छ भनेका थिए भने कुमालले एकल जातीय राज्य शब्द प्रयोग नगरी पहिचानसहितको राज्य भनेका थिए।
पूर्व सभासदद्वय देव गुरुङ र पासाङ शेर्पाले पनि पहिचानसहितको संघीयताको वकालत गरे पनि तराईको उच्चारण गरेका थिएनन्। कार्यक्रममा कतिपय वक्ताहरुले पहिचानसहितको संघीयता आर्थिक सामर्थ्यका आधारमा हुनुपर्छ भनेका थिए।
बोल्ने क्रममा लेखीले तराईमा बहुप्रदेश हुँदा देशको आर्थिक अवस्थाले थेग्न नसक्ने तर पहाडमा जतिवटा प्रदेश बनाए पनि अर्थतन्त्रले थेग्ने यो कस्तो कुर्तक भन्ने प्रश्न उठाउँदा कतिपय आदिवासी जनजाति कार्यकर्ताले विरोधमा हुटिङ गरेका थिए।
होहल्ला गर्नेहरुले लेखीसहित थारु समुदायले पदमरत्न तुलाधरलाई नेता मानेर आन्दोलनमा लाग्नुपर्ने नत्र ठीक नहुने बताएका थिए।
अघिल्लो संविधान सभा कालमा संविधान सभालाई अन्तर्वस्तुमा सशक्त हस्तक्षेप गर्न आदिवासी जनजाति आन्दोलन सफल भएको थियो। तर, अहिले विभाजित भएपछि आदिवासी आन्दोलन कमजोर भएको छ भने यो आन्दोलन संविधानको अन्तर्वस्तुमा भन्दा आपसी विवादमा केन्द्रीत हुन थालेको छ।
न्युजभित्ताबाट साभार