दाइजो लिनेसँग इन्दिराले बिहे नगर्ने

indira 92446608_o

काले–गोरे, नेप्टे–चेप्टे, अग्ले–होचे केही भन्दिनँ म
तर दाइजो लिनेसँग बिहे गर्दिनँ म…
‘चोली गायिका’को रूपमा परिचित इन्दिरा जोशी जब स्टेज उक्लिन्छिन्, दर्शकको भीड थामिनसक्नु हुन्छ। गाउनमात्रै होइन उनी गीतको तालमा कम्मर मर्काउँदै दर्शकलाई मनोरन्जन दिन खप्पिस छिन्।
यी ‘आइटम’ गायिकाले भरखरै गाएको दाइजो प्रथाविरुद्धको गीत उत्तिकै हिट भएको छ। नेपाली समाजमा रहेको दाइजो प्रथा र त्यसकै कारण महिलामाथि बढ्दै गएको हिंसाबारे तयार भएको गीतको भिडियो सोमबार सार्वजनिक भयो।

दाइजो लिनु–दिनुलाई अपराध मान्ने जोशीले दाइजोकै कारण अझै पनि नेपाली समाजमा धेरै महिलाले पीडा खेप्नुपरेको देखेकी छिन्। दाइजोका कारण थुप्रै महिला र परिवारले पीडा पाएको देखेर यस्तो गीत आफ्नो रोजाइमा परेको उनी सुनाउँछिन्।
‘महिला र बालबालिकाको क्षेत्रमा काम गर्ने मेरो सानैदेखिको सोख हो,’ नवलपरासीको परासी बजारमा जन्मिएकी उनले भनिन्, ‘आज आफ्नो गायकीमार्फत थोरै भए पनि दाइजोविरोधी अभियानलाई सघाउन पाउँदा खुसी लागेको छ।’ गीतले समाजभित्र रहेको दाइजोरूपी सर्पलाई भगाउन थोरै भए पनि सघाउने उनको विश्वास छ।
पढेलेखेकी पनि छु म
इलमी पनि छु म
स्वाभिमानी पनि छु
मेहनती पनि छु म…
‘डान्स विथ मि–२’ एल्बममा समेटिएको यो गीतको शब्द–संगीत कल्याण सिंहको हो।

मोटरसाइकल र भैंसी दाइजो नदिएको भन्दै परिवारका सदस्यद्वारा जलाइएकी दाङकी रिहाना शेख ढपालीको घाउ अझै निको भइसकेको छैन। अन्य धेरै महिलामाथि दाइजोकै निहुँ पारेर जलाउने, कुटपिट गर्ने र हत्या गर्नेसम्मका दुखद घटना हाम्रो देशमा भइरहेका छन्। यही सन्दर्भमा आएको गीतले केही न केही सन्देश दिन सक्ने उनको विश्वास छ।

उनको गीतले पढेलेखेकी स्वाभिमानी महिला भईकन पनि दाइजोको पीडा झेल्न बाध्य हुनुपरेको यथार्थ बताउँछ। ‘सबैको पीडा भए पनि ठूलो आवाजसहित कोही अगाडि नआउँदा समस्या ज्युँका त्युँ छ,’ उनको बुझाइ छ।

चौबन्दी चोली अनि रातो घाँघर, उध्रेको चोली, जाउँ्ककी नजाऊँ लगायत दुई सयभन्दा बढी गीत गाएकी यी भर्सटाइल गायिकाले गीतबाटै समाजका विकृतिविरुद्ध लाग्ने प्रण गरेकी छिन्। ‘अब अर्को गीत पनि सामाजिक विसंगतिविरुद्धको हुनेछ,’ उनले भनिन्, ‘यसका लागि तयारी भइरहेको छ।’

गीत–संगीतको मनोरन्जनसँगै दिइने सन्देश फलदायी हुने उनको विश्वास छ। ‘दाइजोरूपी सर्पले पालैपालो सबै परिवारलाई डस्दै छ,’ उनले भनिन्, ‘यो सर्पलाई भगाउन समाजका सबै एक भएर अगाडि बढ्नैपर्छ छ।’

दाइजोविरोधी यो गीतमा उनी मुख्य शिक्षिकाको भूमिकामा छिन्। ‘रोइकराइ अधिकार माग्ने होइन, हाँस्दै–खेल्दै समाजलाई चेतना दिने हो,’ उनले भनिन्, ‘रमाइलो पाराले प्रस्तुत गरिएको गीतले सर्वसाधरणको ध्यान तान्ने विश्वास लिएको छु।’ आफ्नो यो गीतले गुलियोमा बेरिएको तीतो औषधिले जस्तै काम गर्ने उनी बताउँछिन्।
गायकी आफ्नै ठाउँमा होला तर इन्दिरा आफू पनि दाइजो माग्ने केटासँग पटक्कै बिहे नगर्ने सोचाइमा छिन्। ‘यो आम महिलाजस्तै मेरो पनि भित्री मनको भावना हो,’ उनले भनिन्, ‘मलाई पनि दाइजो नलिने ‘हिरोसँग बिहे गर्ने रहर छ।’

गोल्टेन गेट कलेजमा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत इन्दिरा अविवाहित हुन्। उनको पनि मन परेको असल केटासँग बिहे गर्ने रहर छ, जसले दाइजोको माग नगरोस्। ‘केटीको सम्पत्ति भनेकै उसको शिक्षा–दीक्षा र संस्कार हो। यति भइसकेपछि फेरि किन दाइजो?’ उनी तर्क गर्छिन्।
आफ्नो ‘लाइफ’मा पनि हिरोको ‘इन्ट्री’ बाँकी नै रहेको उनले खुलासा गरिन्।
असली हिरोचाहिँ कस्तो हुनेछ त?
‘मेरो मनमा उसले पास पाउँछ
जसले मेरो एक्जाममा डिस्टिङसन ल्याउँछ
काले–गोरे नेप्टे–चेप्टे अग्ले–होचे केही भन्दिनँ म
तर दाइजो लिनेसँग बिहे गर्दिनँ म…’
गीत गाउँदै उनी मज्जाले हाँसिन्।

उपेन्द्र लामिछाने/नागरिक दैनिक

Leave a Reply

Your email address will not be published.