एमाले दलको नेतामा सहमति जुटेन, ओलीद्वारा ‘एक व्यक्ति एक पद’को अडान

CPN_Uml_Buildingकाठमाडौं- नेकपा एमालेको संसदीय दलको नेता चयनमा सहमतिको सम्भावना क्षीण भएपछि यही माघ २१ गते दलको नेता चयनका लागि निर्वाचन हुने भएको छ। दलको नेता को बन्ने भन्ने विषयमा पार्टीका शीर्ष नेताबीच अनौपचारिक छलफल भए पनि बिहीबार बसेको स्थायी कमिटीको बैठकमा औपचारिकरूपमा त्यस विषयले प्रवेश नपाएकाले मङ्गलबार दलको नेता चयन गर्ने निर्णय भएको छ। बैठकले पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ लाई निर्वाचनको आवश्यक प्रक्रिया प्रारम्भ गर्न निर्देशन पनि दिएको छ।
एमाले सचिव युवराज ज्ञवालीका अनुसार संसदीय दलको नेता चयन गर्ने अघिल्लो दिन माघ २० मा पार्टीको केन्द्रीय कमिटीको बैठक बस्ने र सो विषयमा सहमति नभए निर्वाचनको प्रक्रियाबमोजिम हुनेछ। केन्द्रीय कमिटीले आगामी २०७० वैशाख ९ गतेदेखि हुने तय भएको पार्टीको नवौँ राष्ट्रिय महाविधवेशनबारे तयारी गर्नेछ। संसदीय दलको नेतामा निर्वाचन नै हुने भयो भन्ने जिज्ञासामा सचिव ज्ञवालीले भने, ‘यसबारे केन्द्रीय कमिटीमा पनि छलफल हुनेछ, सहमति वा निर्वाचन दुबै हुन सक्छ, जे होस् २१ गते दलको नेता चयन हुन्छ।’
दलको नेताका लागि पार्टी अध्यक्ष झलनाथ खनाल, स्थायी कमिटी सदस्य केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमले उम्मेदवारी दिने सम्भावना छ। महाधिवेशनपछि पार्टीको नेतृत्वमा को आउने भन्ने विषयले पनि संसदीय दलको निर्वाचनलाई प्रभावित पार्नेछ। एमालेका शीर्ष नेता अध्यक्ष खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता ओली र उपाध्यक्ष गौतमबीच सहमतिमा जिम्मेवारी बाँडफाँटको प्रस्तावमा अहिले केन्द्रीय कमिटीका नेताबीच अनौपचारिक छलफल भइरहेको छ। वरिष्ठ नेता नेपालले भने दलको नेताभन्दा पार्टीको अध्यक्षमा रूचि देखाउँदै आएका छन्। नेता एक पटक जिम्मेवारीमा बसिसकेकाले त्यही जिम्मेवारीमा आउनुभन्दा अरूलाई पनि परीक्षण हुने अवसर दिनुपर्ने र एक व्यक्ति एक पदको अवधारणा लागू गर्नुपर्ने अडान राख्दै आएका छन्।
उपाध्यक्ष गौतमले पार्टी अध्यक्ष, संसदीय दलको नेता, भावी राष्ट्रपति र भावी प्रधानमन्त्रीमा एक एक जनालाई जिम्मेवारी तोकेर महाधिवेशनमा जान सकिए पार्टी एकताबद्ध र समृद्ध हुने भएकाले त्यसलाई स्वीकार गर्न स्थायी कमिटीमा प्रस्ताव गरिसकेका छन्।
एमाले केन्द्रीय अनुशान आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टीमा हालसम्म अध्यक्ष वा प्रमुखले नै दलको नेता पनि हुँदै आएको परम्परा रहेको सन्दर्भ उल्लेख गर्दै भने, ‘त्यस्तो तानातान होला जस्तो लाग्दैन, हाम्रो पार्टीमा दलको नेता प्रधानमन्त्री हुनुपर्छ भन्ने पनि छैन, अहिलेसम्म अध्यक्ष खनालबाहेक अरूको दाबी आएको थाहा छैन।’
यही माघ १० गतेका लागि पूर्वनिर्धारित केन्द्रीय कमिटीको बैठक तयारी नपुगेको भन्दै स्थगन भएको थियो। केन्द्रीय कमिटीको बैठक बस्नमा भएको ढिलाइ र स्थानीय निर्वाचन हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर एमालेको महाधिवेशन पर सर्ने आँकलन पनि गरिएको छ। यसबारे सचिव ज्ञवालीले भने, ‘हामी आन्तरिक छलफलमै छौं, केन्द्रीय कमिटीले सबै विषयको टुङ्गो लगाउनेछ।’
नेता ओली निकट मानिने केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले चाहिँ हालम्म ओलीबाहेक अरूको दलको नेतामा चर्चा नभएको भन्दै पार्टीको विधानमा अध्यक्षले नै दलको नेता हुनुपर्छ व्यवस्था नभएको प्रतिक्रिया दिए। एमालेले संविधान सभामा एक सय ७५ सभासद् पाएको छ। नेता नेपाल र गौतम दुई स्थानबाट विजयी भएकाले एक सय ७३ जनाले संसदीय दलको निर्वाचनमा भाग लिनेछन्।
यसैबीच आजको स्थायी कमिटीको बैठकले राज्यको शक्ति बाँडफाँटलगायत विषयमा वार्ता गर्न उपाध्यक्ष गौतमको नेतृत्वमा रहेको टोलीलाई जिम्मेवारी दिएको छ। यही माघ १९ गते पार्टीका सभासद्लाई प्रशिक्षण दिन पूर्वसभामुख सुवास नेम्वाङ प्रमुख रहेको संसदीय विभागलाई जिम्मेवारी दिइएको छ। स्थायी कमिटी बैठक शुक्रबाकर पनि बस्ने जनाइएको छ।
– प्रकाश सिलवाल/रासस

Leave a Reply

Your email address will not be published.