लेखीले भने, ‘प्रधानमन्त्रीज्यू, संघीयतामा तराईलाई नठग्नुहोस्’

Shusul koirala and Dhaniram Chaudhary

काठमाडौं- ‘प्रधानमन्त्रीज्यू, हाम्रो बारेमा ठूलो भ्रम फैलाइएको छ, यो भ्रम फैलाउनमा तपाईहरुको पनि स्वार्थ छ, यो भ्रम निवारण गरिदिन सहयोग गरिदिनुपरयो,’ राष्ट्रिय नागरिक पार्टी (नेपाल) का अध्यक्ष राजकुमार लेखीले यसो भन्दा प्रधानमन्त्री सुशील कोइराला एकछिन अक्क न वक्क परे।

कुरा हो आज बिहान प्रधानमन्त्री निवास बालुवाटारको। थारु कल्याणकारिणी सभाको नवनिर्वाचित केन्द्रीय समितिको तर्फबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिने कार्यक्रम थियो। प्रधानमन्त्रीको भेटघाट कोठामा मिडिया खचाखच थिए।

लेखीले भने, ‘हामी आदिवासी जनजाति समुदाय, तराईको थारु लगायतका समुदायले जातीय राज्य मागेका छौं भन्ने भ्रम फैलाइएको छ, जातीय राज्य माग्ने अबुझहरुको सानो झुण्ड मात्र छ, हामीलाई पहिचानको समावेसी राज्य चाहिएको हो।’

प्रधानमन्त्री कोइरालाले थारु कल्याणकारिणी सभाको टोलीलाई निकै महत्व दिएर भेटेका थिए। प्रधानमन्त्रीसँग थारु कल्याणकारिणीका नवनिर्वाचित अध्यक्ष धनीराम चौधरी रउपाध्यक्ष कन्नुलाल चौधरीको चिनजान गराउँदै सभासद पदमनारायण चौधरीले भने, ‘महाधिवेशनमा धनीरामजीले एकसय २० मत ल्याउनुभयो, उहाँको प्रतिस्पर्दी उम्मेदवारले २० मत ल्याउनुभयो।’

कुरा सुनेर कोइराला मुसुक्क हासे। कोइरालाले भने, ‘म तपाईहरुको महाधिवेशनमा जसरी पनि जान चाहन्थें। थारु समुदाय नेपालको अत्यन्त प्राचीन वासिन्दा हो भन्ने मलाई थाहा छ, यो समुदायलाई माथि उठाउनुपर्छ भन्ने मेरो धारणा छ। तपाईहरु कार्यक्रम ल्याउनुस्, म पूर्ण सहयोग गर्छु।’

महाधिवेशनले पारित गरेका २१ बुँदे घोषणापत्र हस्तान्तरण गर्दै धनीरामले भने, ‘हामीलाई लोकतान्त्रिक संविधान चाहिएको हो। प्रधानमन्त्रीज्यूको अगुवाईमा मुलुकले लोकतान्त्रिक संविधान पाउँछ भन्ने हामीलाई विश्वाश छ।’

कोइरालाले जवाफमा भने, ‘तपाईको कार्यसमितिका सबैजनालाई लिएर आउनुस्, म सबैजनासँग भेट्न चाहन्छु। तपाईको मागपत्र सबै पढेर सुनाउनुस्।’

अध्यक्ष धनीरामले मागपत्र लामो भएको भन्दै त्यसबारेमा थारु कल्याणकारिणी सभाका सचिवालय सदस्य लेखीले ब्याख्या गर्नुहुन्छ भने। त्यसपछि लेखीले भने, ‘प्रधानमन्त्रीज्यू, तपाईहरुले देशलाई टाट पल्टाउने मोडलको संघीयता ल्याउन खोज्दै हुनुहुन्छ। हामी यो मान्दैनौं। संघीयता भनेको देशलाई टाट पल्टाउन होइन समृद्ध बनाउन चाहिएको हो।’

लेखीको कुरा कोइरालाले निकै ध्यानपूर्वक सुने। लेखीले भने, ‘सिंहदरबारको जस्तो प्रादेशिक सरकार बन्ने प्रदेश यो देशले कसरी धान्छ ? सानो र सस्तो प्रदेश बनाउनुस्, स्थानीय समुदायले अधिकार पाउने गरी स्थानीय स्रोतले धान्ने प्रदेश बनाउनुपर्छ।’

लेखीले थारु समुदायलाई अहिलेको शीर्ष नेताहरुले राजा महेन्द्रले झैं ठग्न खोजेको आरोप लगाउँदै भने, ‘महेन्द्रले तराईमा थोरै र पहाडमा धेरै जिल्ला बनाएर थारु लगायत तराईका समुदायलाई ठगेका थिए। अब तपाईहरुले त्यो ठगी बन्द गर्नुस्।’

लेखीले प्रधानमन्त्री कोइरालालाई प्रहार मात्र गरेनन्, अनौठो प्रशंशा समेत गरे। उनले भने, ‘नेपालका अहिलेसम्मका प्रधानमन्त्रीहरु सबैजना भ्रष्टाचारको आरोपमा चुर्लुम्म डुबेका छन्। तपाईलाई अहिलेसम्म जनस्तरबाट त्यस्तो आरोप लागेको छैन।’

लेखीको यो भनाइ सुन्दा कोइराला झण्डै बसिरहेको कुर्सीबाट उठेका थिए। त्यसपछि लेखीले अगाडि भने, ‘तपाईको यो स्वच्छ छवी कायम रहोस्, भ्रष्टाचारमा मुसिने कुनै काम नगर्न आगामी दिनमा पनि सचेत रहनुस्, थारु कल्याणकारिणी सभाको शुभकामना छ।’ (न्युजभित्ताबाट साभार)

ज्ञापन पढ्नुस्:
सम्माननीय प्रधानमन्त्री श्री सुशील कोइरालाज्यू
थारु कल्याणकारिणी सभाको २१ औं महाधिवेशन उद्घाटन गरिदिएर सम्पूर्ण थारु समुदायलाई गौरवान्वित बनाइदिनुभएकोमा हामी धन्यवाद ज्ञापनका साथै आभार प्रकट गर्दछौं।
उदघाटन समारोहमा यहाँले व्यक्त गर्नुभएको सारगर्भित मन्तब्यलाई हामीले गम्भिरतासाथ लिएका छौं तथा हामीलाई दिनुभएको सुझाव सल्लाहलाई गम्भिरतासाथ मनन गरेको व्यहोरा अवगत गराउँछौं।
नयाँ संविधान निर्माणको चरणमा रहेको मुलुकको प्रधानमन्त्रीका रुपमा यहाँका सामु धेरै नै चुनौती रहेका छन्। तपाईको नेतृत्वमा मुलुकले वर्तमान संक्रमणबाट नयाँ संविधान सहित चुनौती पार लाउने हामी विश्वाश व्यक्त गर्दछौं र संघीय लोकतान्त्रिक संविधान निर्माणमा यहाँलाई हाम्रो पूर्ण साथ र समर्थन रहेको जानकारी गराउँदछौं।
नयाँ संविधान निर्माण गरेर मुलुकलाई शान्ति र स्थिरता सहित प्रगति पथमा अग्रसर गराउने राष्टिय महाअभियानमा थारु कल्याणकारिणी सभाको पूर्ण समर्थन, सक्रिय सहभागिता र प्रतिवद्धता रहेको पनि हामी व्यक्त गर्दछौं।
हाम्रो २१ औं महाधिवेशनमा पारित २१ बुँदै घोषणा यहा समक्ष प्रस्तुत गर्दै यसमा राखिएका मागहरुलाई सम्बोधन गरिदिनका लागि आवश्यक पहल लिइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
१ विगतमा भएका आदिवासी जनजाति आन्दोलन, थारु आन्दोलन तथा लोकतान्त्रिक आन्दोलनले उठाएका मागहरुलाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान निर्माण गर्न थारु कल्याणकारीणी सभाको यो महाधिवेशन नेपाल सरकार सहित जिम्मेवार सबैसँग माग गर्दछ।
२ विगतमा थारु कल्याणकारिणी सभाको नेतृत्वमा थारु समुदायले विभिन्न समयमा गरेको अधिकारमुखी आन्दोलनका क्रममा थारु कल्याणकारिणी सभासहित विभिन्न संघसंस्थासँग गरेको सम्झौता तत्काल कार्यान्वयन गरेर इमानदारी देखाउन नेपाल सरकारसँग यो महाधिवेशन माग गर्दछ।
३ विगतका थारु आन्दोलनमा सरकारले गरेको दमनमा परेर घाइते तथा अंगभंग भएकाहरुलाई सरकारले उपचार र भरणपोषणको व्यवस्था गरोस्। त्यसैगरी सहिद परिवारलाई क्षतिपूर्ति र भरणपोषणको व्यवस्था गरियोस्।
४ सिक्कल सेल एनिमिया रोगको सम्पूर्र्ण परीक्षण तथा उपचारको व्यवस्था राजधानी सहित थरुहट तराईका सम्पूर्ण जिल्लामा निशुल्क गरियोस्। रोग पहिचान तथा परीक्षणका लागि थरुहट तराईका सबै गाउँमा घुम्ती शिविर खटाएर गाउँमै रोग पहिचानको व्यवस्था गरियोस्। स्थानीय स्तरमै रोग पहिचानका लागि आवश्यक प्रविधि, उपकरण तथा मेसिनको व्यवस्था गरियोस्। रोगले पीडित परिवारलाई निर्वाहका लागि सहयोग रकम उपलब्ध गराइयोस्।
५ मुक्त भए भनिएका कमैया र कम्लरीहरुलाई कृषियोग्य भूमि सहित गासवास र कपासको व्यवस्था गर्न राज्यसँग माग गर्दछौं।
६ राज्यका सम्पूर्ण क्षेत्रमा समावेसी समानुपातिक सिद्धान्तका आधारमा थारु समुदायलाई रोजगार, प्रतिनिधित्व र अवसर उपलब्ध गराइयोस्।
७ राज्यपुनसंर्रचना गर्दा मेचीदेखि महाकालीसम्म फैलिएका थारु समुदायको हित हुने गरी बहुप्रदेश बनाइयोस् र थारु बाहुल्य क्षेत्रहरुमा भिन्नाभिन्नै प्रदेशहरु बनाउन प्राथमिकता दिइयोस्। प्रदेश निर्माण गर्दा जनसंख्यालाई आधार बनाइयोस्। थरुहट तराई र पहाडमा लगभग समान जनसंख्या रहेको छ र पहाडको तुलनामा थरुहट तराईमा तिब्र जनसंख्या वृद्धि भइरहेको तथ्यलाई ध्यानमा राख्दै पहाड र थरुहट तराई समानुपातिक अर्थात् समान संख्यामा प्रदेशको व्यवस्था गरियोस्।
८ राज्यपुनसंर्रचनाको उद्देश्य केन्द्रको अधिकार गाउँघरमा पुराउनु हो भन्ने मान्यतालाई आत्मसात गर्दै स्थानीय निकायलाई अधिकारसम्पन्न बनाएर स्थानीय समुदायको पहलमा स्थानीय क्षेत्रको विकास गर्न सक्ने केन्द्र र प्रदेशको अनावश्यक हस्तक्षेप रहित अधिकार सम्पन्न स्थानीय निकायको व्यवस्था गरियोस्।
९ थरुहट तराईमा प्राकृतिक स्रोेतहरुको उपयोगमा थारु सहित थरुहट तराईका अन्य आदिवासी जनजाति समुदायको अग्राधिकार सुनिश्चित गरियोस्। थरुहट तराई र यससँग प्रत्यक्ष गासिएको चुरे पर्वत श्रृङखलामा प्राकृतिक स्रोतको दोहन गर्दादिगो र पर्यावरण मैत्री ढंगले मात्र गरियोस्।
१० थरुहट तराईमा पहाडबाट बसाई सार्ने राज्य संचालित अभियान अविलम्ब बन्द गरियोस्। त्यसैगरी विदेशीलाई सहज ढंगबाट नागरिकता दिने काम बन्द गरियोस्। नागरिकता वितरणमाा सरकारी प्रशासनको भ्रष्ट क्रियाकलाप बन्द गरियोस्।
११ थरुहट तराईलाई मधेस नामकरण गर्ने काम अन्तरिम संविधानले गरेको छ भने थारु समुदायलाई मधेसी वर्गमा राख्ने काम गरेको छ। यसबाट थारु समुदायको स्वतन्त्र र प्राचीनकालदेखिको पहिचान खतरामा परेको छ। अन्तरिम संविधान संशोधन गरियोस् र भावी संविधानमा पनि कसैको जातीय पहिचान र परम्परागत प्राचीन भूमि हडप्न नपाउने व्यवस्था गरियोस्। जातीय जनसंख्याका आधारमा राज्यका सबै क्षेत्रमा प्रतिनिधित्व गराउने व्यवस्था गराइयोस्।
१२ भावी संविधान पूर्र्ण लोकतान्त्रिक बन्नुपर्ने अवधारणा यो महाधिवेशन अगाडि सार्दछ। सम्पूर्ण नेपालीको हित हुने लोकतान्त्रिक संविधानले मात्र मुलुकको भविष्य निर्माण गर्छ भन्ने विश्वाश यो महाधिवेशन व्यक्त गर्दछ। विगतमा पछाडि पारिएका समुदायलाई अगाडि ल्याउने कार्ययोजना सहितको संविधान नै लोकतान्त्रिक संविधान हो भन्ने अवधारणा यो महाधिवेशन अगाडि सार्दछ।
१३ आदिवासी जनजातिको हक अधिकार र मानवअधिकारसँग सम्बन्धित अन्तराष्टिय महासन्धिहरु जसमा नेपालले पक्ष राष्ट भई हस्ताक्षर गरेको छ, ती महासन्धिहरुको कार्यान्वयन गर्न नेपाल सरकारले कानुनी र नीतिगत व्यवस्था गर्नुपर्छ भन्ने माग यो महाधिवेशन अगाडि सार्दछ।
१४ थारु भाषाको उत्थानका लागि तराईका सम्पूर्ण जिल्ला सहित राजधानीमा युवा तथा बालबालिकालाई थारु भाषामा शिक्षा लिन सक्ने व्यवस्था गरियोस्। त्यसबाहेक थारु भाषा शिक्षणका लागि सरकारले विशेष व्यवस्था गरोस्।
१५ थारु भाषामा लेखिएका पुस्तक तथा पत्रपत्रिका प्रकाशन तथा संचार माध्यम संचालनका लागि सरकारले अनुदान उपलब्ध गराउने व्यवस्था गरोस्।
१६ मेचीदेखि महाकालीसम्म विभिन्न क्षेत्रमा फरकफरक थारु भाषा रहेको छ र यी भाषाई राज्यको सम्पत्तिको रुपमा स्वीकार गर्दै ती सबै भाषाको शब्दकोष र व्याकरण प्रकाशन गर्न नेपाल सरकारले आवश्यक व्यवस्था मिलाओस्।
१७ लोप हुँदै गएको थारु संस्कृतिको उत्थान गर्न राज्यले विशेष पहल प्रारम्भ गरोस् र थारु संस्कृतिको अध्ययन अनुसन्धान गरेर शोधपत्र तयार पार्न चाहने उच्च शिक्षा अध्ययन गरिरहेका जुनसुकै समुदायका विद्यार्थीलाई अनुसन्धानका लागि आवश्यक रकम उपलब्ध गराइयोस्।
१८ चिकित्सा तथा प्राविधिक तर्फको उच्च शिक्षामा थारु समुदायका विद्यार्थीलाई बेग्लै कोटा व्यवस्था गरियोस्। यस्ता शिक्षामा थारु समुदायलाई विशेष छात्रवृत्तिको व्यवस्था गर्दै थारु विद्यार्थीहरुलाई विदेशमा उच्च शिक्षा हासिल गर्न जादा छात्रवृत्ति दिइयोस्।
१९ थारु समुदायले मनाउदै आएको मुख्य चाडपर्वमा राष्टिय सार्वजनिक विदा दिइयोस् र स्थानीय चाडपर्वमा स्थानीय क्षेत्रमा सार्वजनिक विदा व्यवस्था दिइयोस्।
२० थरुहट तराईका प्रत्येक जिल्ला तथा थारु समुदायको सघन बाहुल्य भएको क्षेत्रहरुमा …थारु केन्द्र’ स्थापना गर्न थारु कल्याणकारिणी सभाको यो महाधिवेशन नेपाल सरकारसँग माग गर्दछ।
२१ त्यस्तो केन्द्रले थारु भाषा, संस्कृतिको प्रवर्धन गर्न थारु संग्रहालय, थारु पुस्तकालय राख्ने, थारुसँग सम्बन्धित अन्य विभिन्न जानकारी दिने, स्थानीय जिल्ला तथा क्षेत्रसँग सम्बन्धित विभिन्न कार्यालयका सेवासुविधा, कृषि शिक्षा, स्वास्थ्य आदिबारे जानकारी दिने व्यवस्था गरियोस्। यस्तो केन्द्र संचालनको जिम्मेवारी थारु कल्याणकारिणी सभा तथा स्थानीय थारु अगुवाहरुलाई दिइयोस्। त्यस्तो केन्द्रले जिल्ला तथा स्थानीय क्षेत्रको पर्यटन प्रवर्धन गर्ने काम समेत गर्नेछ।
अध्यक्ष
धनीराम चौधरी
थारु कल्याणकारिणी सभा
केन्द्रीय कार्यसमिति
मिति : २०७१ कार्तिक ४

Leave a Reply

Your email address will not be published.