संघीयतामा छलफल सुरु, कांग्रेस-एमाले सात प्रदेश, एमाओवादी दस प्रदेश

CA-building

काठमाडौं- मुख्य राजनीतिक दलहरुले आजदेखि संघीयतामा द्धिपक्षीय र बहुपक्षीय छलफल थालेका छन्। संवैधानिक राजनीति संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईको पहलमा छलफल सुरु भएको हो। भट्टराईले आज एमालेका नेताहरुसँग सामूहिक छलफल गरेका छन् भने आजै नेपाली कांग्रेसका नेताहरुसँग पनि छलफल गर्ने भएका छन्। नेताहरुसँगको यो छलफल शीर्ष तहमा हुने बताइएको छ। एमालेसँगको छलफलमा अध्यक्ष केपी ओली सहितका नेताहरु थिए।

स्रोतका अनुसार कांग्रेस र एमालेले संघीयतामा सात प्रदेश हुनुपर्ने धारणा बनाएका छन्। एमाओवादीले दस प्रदेशको अवधारणा अगाडि सारेको बुझिन्छ। सभापति भट्टराई सहित दलहरुबीच यही विषयमा छलफल भइरहेको थाहा भएको छ।स्रोतका अनुसार आउँदो १४ गतेभित्रै सहमति हुने गरी द्धिपक्षीय र बहुपक्षीय छलफल अगाडि बढाउन मुख्य नेताहरु सहमत भएका छन्। अब संघीयताको बहसलाई ठोस रुप दिन प्रत्येक दिन खुल्ला र गोप्य दुवैखाले छलफल गरिनेछ।उच्च स्रोतका अनुसार संघीयतामा सहमति गर्ने सर्तमा उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व दिन कांग्रेस एमाले तयार भएका छन्।

आज बिहान साझा मुद्दाका लागि संयुक्त मञ्चका सभासद् तथा नेताहरु र संवाद समितिका तर्फबाट भट्टराईबीच छलफल भएको छ। स्रोतका अनुसार छलफल सम्पूर्ण रुपमा संघीयताको विषयमा केन्द्रित रहेको थियो।

मञ्चको तर्फबाट खम्बुवान राष्टिय मोर्चाका रामकुमार राई (आरके खम्बू), जनजागरण पार्टीका लोकमणी ढकाल, बहुजन शक्ति पार्टीका विश्वेन्द्र पासवान, नेपाल राष्टिय पार्टीका डा केशवमान शाक्य, थरुहट तराई पार्टीकी गंगा चौधरी सत्गौवा, राष्टिय जनमुक्ति पार्टीका शिवलाल थापा लगायतका वार्तामा थिए। यी मध्ये डा केशवमान सभासद् होइनन्।

यो मञ्चले पहिचान झल्कने खासखास प्रदेशमा सहमति गर्ने हो भने थोरै प्रदेश बनाए पनि फरक नपर्ने धारणा आजको वार्तामा राखेको थियो।

– न्युजभित्ताबाट साभार

Leave a Reply

Your email address will not be published.