कमाइ हुने शिक्षामा पूर्वकम्लरी

Kamalari

दाङ- माइला अंकल कुलवीर चौधरी कमलपित्त रोगबाट ग्रसित भए । गाउँकै मेडिकलमा औषधिको पैसा तिर्न गाह्रो भएपछि उधारोमा भए पनि उपचार गर्ने सहमति भयो र स्वास्थ्यकर्मीले यसबापत भतिजी सोनकुमारीलाई कम्लरी बनाउने सर्त राखे । अंकलको उपचारका लागि उनी १० वर्षको उमेरमा कम्लरी बसिन् ।

‘संयुक्त परिवार भएकाले अंकलको औषधिका लागि दुई कक्षा पढ्दापढ्दै कम्लरी बस्नुपर्‍यो,’ सोनकुमारीले भनिन्, ‘त्यसपछि पढ्न पाइएन । सुरुमा बच्चा मात्र हेर्ने भनेर लगे तर गएपछि निकै कठिन कामहरू गर्नुपर्‍यो । पढ्नै पाइएन, नजिकै भए पनि घर जान पाइएन ।’ कम्लरीबाट मुक्त भएपछि उनले उपचारका लागि कम्लरी बस्नुपरेको क्षण सम्झिन् अनि लागिन् त्यही क्ष्ाेत्रमा । एसलसी उत्तीर्ण गरेपछि उनी उच्च मावितर्फको पढाइमा ध्यान नदिएर सीधै ल्याब असिस्टेन्ट पढ्न थालिन् ।

‘स्वास्थ्य क्षेत्रमा आफ्नो मान्छे नभएका कारण औषधिका लागि कम्लरी बस्नुपर्‍यो । त्यही भएर यही क्षेत्रको अध्ययन गर्न मन लाग्यो,’ उनले भनिन्, ‘सुरुमा सबैले कम्लरीले पनि के प्राविधिक शिक्षा पढ्न सक्लान् र भन्थे, मलाई पनि त्यस्तै लाग्थ्यो तर अहिले सफलताका साथ पढाइ अघि बढाएको छु ।’ बिनौना ३ ललही बाँकेकी २० वर्षीया सोनकुमारी आजभोलि दिनहुँ रगत परीक्षण गर्छिन् र आधुनिक उपकरणसँग खेल्छिन् ।

कम्लरी मुक्तिपछि सोनकुमारी जस्ता दर्जनौं कम्लरी प्राविधिक शिक्षा अध्ययन गरिरहेका छन् । उनीहरूले विश्वविद्यालयको औपचारिक शिक्ष्ााभन्दा प्राविधिक शिक्षामा चासो दिइरहेका छन् । प्राविधिक शिक्षा पढ्न नेपाल युथ फाउन्डेसनले सम्पूर्ण खर्च बेहोरिदिने भएपछि उनीहरूलाई सोच्दै नसोचेको विषय पढ्न सहज भएको छ । छिटो काम पाइने र आत्मनिर्भर हुन सकिने भएकाले ल्याब असिस्टेन्ट पढिरहेको धदवार ४ बैडी बर्दियाकी १७ वषर्ीया गीताकुमारी चौधरीले बताइन् । ‘ल्याब पढिसकेपछि गाउँमा आफै ल्याब खोलेर बस्ने विचार छ । गाउँमा प्राविधिकहरूको अभाव नै छ । त्यसलाई पूर्ति गर्नुछ,’ उनले भनिन्, ‘हाम्रो समुदायका कतिपय मानिस उचित उपचारको अभावमा मृत्युवरण गर्छन् । ज्ञानको अभावमा उपचार गर्नुको साटो धार्मिक विश्वासमा बस्छन् ।’

विगतमा मालिकको घरमा बन्धक भएर बस्नुपरेका थारू किशोरीहरू अहिले विभिन्न क्ष्ाेत्रमा प्राविधिक भइरहेका छन् । यसले अन्य किशोरी तथा अभिभावकलाई पनि उत्साहित बनाएको छ । गुलरिया ६ सहेलवा बर्दियाकी १८ वषर्ीया ज्योति थारू सिभिल सवओभरसियर पढ्दैछिन् । आर्थिक अभावकै कारण कम्लरी बस्नुपरेकाले छिट्टै आयस्रोत प्राप्त हुने विषय पढेको उनले बताइन् । ‘सिभिल ओभरसियरको पढाइपछि खाली बस्नुपर्दैन । जति पनि काम पाइन्छ,’ उनले भनिन्, ‘कहिलै पनि सोचिएको थिएन यसरी प्राविधिक विषय पढ्न पाइएला भनेर । सुरुमा अचम्म लाग्थ्यो, अहिले विस्तारै बानी परिएको छ ।’

आजभोलि ज्योति बिहानदेखि बेलुकासम्म नक्सा कोरिरहेकी हुन्छिन् । बाल्यकाल घरबाहिरको संसारबारे कल्पनै गर्न नपाएर बिताएकी ज्योति अहिले राम्रो ओभरसियर बन्ने योजना बनाइरहेकी छन् । ‘बाल्यकालमा हामीले भविष्यको सपना पनि देख्न पाएनौं । दिनहुँ यातना र कामको बोझ,’ उनले भनिन्, ‘पहिले त पढ्नका लागि पनि कम्लरी बस्नुपथ्र्यो । पढ्छु भन्दा बुवाले कम्लरी पठाइदिनुभयो । अहिले त स्वतन्त्र भएर काम गर्न पाइएको छ ।’

पश्चिम तराईका १ सय ६४ मुक्त कम्लरीले लामो अवधिको र २ सय २५ ले छोटो अवधिको प्राविधिक शिक्षा तथा व्यवसायिक सीप सिकिरहेको कम्लरीको प्राविधिक शिक्षामा सहयोग गरिरहेको नेपाल युथ फाउन्डेसनले जानकारी दिएको छ । कृषि जेटीए, अनमी, सीएमए, स्टाफ नर्स, सिभिल सवओभरसियर, ल्याब असिस्टेन्ट, कृषि विज्ञानजस्ता विषयमा कम्लरी आकषिर्त भएको फाउन्डेसनका व्यावसायिक शिक्षा तथा करियर परामर्श कार्यक्रम संयोजक विनोद कडाराले बताए ।

दुर्गालाल केसी/कान्तिपुर दैनिक साभार

Leave a Reply

Your email address will not be published.