उपकरणसँग खेल्दै पूर्वकमलरी

Leela Chaudhary
लीला चौधरी।

दाङ- रामपती थारू आजभोलि दिनहुँ आधुनिक अफसेट प्रेससँग खेलिरहेकी हुन्छिन् । मेसिन सफाइ गर्छिन्, कागज मिलाउँछिन् अनि थाल्छिन् छपाइका काम । उनी आफैंलाई अनौठो लागेको यो काम गाउँछिमेकका लागि झन् नौलो छ । १४ वर्षसम्म अर्काको घरमा काम गरेकी रामपतीले बाल्यकाल जुठा भाँडा माझेरै बिताइन् । साँझबिहान खान पाएको भरमा काम गर्थिन्, घरबाहिर निस्कन पाउन्न थिइन् । अहिले भने अर्काको भाँडा माझ्ने हातले आधुनिक उपकरण चलाउँछिन् ।

‘सानैमा बुबाको मृत्यु भयो, आमाले अन्तै विवाह गर्नुभएछ । म थाहा पाउने बेला अर्कैको घरमा काम गर्न बसेकी थिएँ,’ २३ वर्षीया रामपतीले भनिन्, ‘एक दाइ थियो । ऊ पनि अर्कैको घरमा काम गथ्र्यो रे तर आजसम्म भेट भएको छैन । एक विवाहित दिदी थिइन् । म सानो छँदा उनको घरमा बसें तर १० वर्षको हुँदा भिनाजुले घरबाट निकालिदिए ।’

उनी विभिन्न ठाउँमा काम खोज्दै हिँडिन् । चार वर्षअघि काम छोडेर सीप सिक्न थालिन् । दातृ संस्थाको सहयोगमा एक वर्ष काठमाडौं बसेर अफसेट प्रेसको तालिम लिएपछि दुई वर्षदेखि गुलरियास्थित बर्दिया अफसेट छापाखानामा काम थालिन् उनले । ‘मेसिनका रोलर धुने, मेसिन सफा गर्ने र आवश्यक पर्दा चलाउने काम गर्छु,’ उनले भनिन्, ‘बाइन्डिङका काम त सबै गर्छु । पहिले त धेरै समय एक्लै रोएँ तर अब सीप भएकाले कामको चिन्ता छैन ।’ ठाकुरद्वारा ५ बेतहनीमा जन्मेकी रामपतीको घरबास र आफन्त छैनन् । उनी गुलरिया बजारमा कोठा लिएर एक्लै बस्छिन् । अब आफ्नो भविष्य आफैं बनाउने बाटोमा रहेको उनले बताइन् ।

Rampati Chaudhary
रामपति चौधरी।

रामपतीजस्तै विगतमा लामो समय अर्काको घरमा काम गरेका किशोरीहरू अहिले आधुनिक प्रविधिसँग खेलिरहेका छन् । रातदिन कोठाभित्र भाँडा र कपडा धोएर पाक्ने गरेका हातलाई अहिले सिर्जनशील काममा लगाएका छन् ।

कोटातुलसीपुर २ निमुवाबजी कैलालीकी २१ वर्षीया लीला चौधरी पनि व्यावसायिक रूपमा क्यामेरा चलाउँछिन् । उनले मुडा बजारमा फोटो स्टुडियो राखेकी छन् । ग्राहकको पोज मिलाई मिलाई फोटो खिचिदिन्छिन् । फोटो डिजाइनिङ गरेर आफैं पि्रन्टसमेत गर्ने उनले बताइन् । सुरुमा क्यामेरा चलाउन अप्ठेरो लागे पनि आजभोलि कलात्मक फोटो खिच्ने कला उनमा छ । बीए तेस्रो वर्षमा अध्ययनरत लीला कलेजबाहेकको समय स्टुडियोमै बिताउँछिन् । विद्यालय पढ्दा आर्थिक अभाव, अर्काको घरमा काम गर्न बाध्य भएकी थिइन् । अहिले फोटो व्यवसायबाट मासिक १२ हजार आम्दानी गर्छिन् । क्यामेरा किन्दा लिएको ५० हजार ऋण तिरिन् । मोबाइल मर्मतको तालिमसमेत लिएकी लीलाले फोटो स्टुडियोसँगै मोबाइल मर्मत र गिफ्टका सामानको समेत व्यापार गर्न थालेकी छन् ।

एक वर्ष अर्काको फोटो स्टुडियोमा काम गरेपछि उनले आफैं व्यवसाय थालिन् । ‘पहिले अरूका भाँडा माझेर बस्नुपथ्र्यो । पढ्न पाइँदैनथ्यो । अहिले व्यवसाय गर्दै पढ्न पाइएको छ,’ उनले भनिन्, ‘काम सिकेपछि व्यवसाय चलाउन सजिलो छ । अब यही व्यवसाय बढाउँदै लैजाने विचार छ ।’

Deepa Chaudhary
दीपा चौधरी

नारायणपुर ५ बेलुवा दाङकी २३ वर्षीया विष्णुकुमारी चौधरी १५ महिने जुनियर कम्प्युटर टेक्निसियन पढ्दै छिन् । जमिन अँधिया लगाएबापत जग्गाधनीको घरमा काम गर्न जानुपर्ने बाध्यताका कारण उनी १३ वर्षको उमेरमा काममा गइन् । बाल्यकाल काम गरेरै बित्यो । ‘धेरै जग्गा लगाउनुपर्ने भएकाले जग्गाधनी चार वटा थिए । सबैको घरमा पालैपालो काममा जानुपथ्र्यो,’ उनले भनिन्, ‘हामी सानो हुँदा आमासँग काम गर्न जान्थ्यौं । आमा त काम गर्दा खान नपाएर बेहोस हुनुहुन्थ्यो । केही भएको हामीलाई खुवाएर आफू भोकै बस्नुहुन्थ्यो ।’ बाल्यकालका ती दिन सम्झेपछि अहिले आत्मनिर्भर हुन कम्प्युटर शिक्षामा रुचि जागेको उनले सुनाइन् ।

रामपुर बेलासीपुर ७ पचुई कञ्चनपुरकी २१ वर्षीया दीपा चौधरी गार्मेन्टमा काम गर्छिन् । तीन महिने गार्मेन्टको तालिम लिएपछि उनी अत्तरियास्थित एक गार्मेन्ट उद्योगमा काम गर्छिन् । दैनिक १ सय ५० बढी ट्राउजर, झोला र रेनकोट सिलाएर उनले मासिक ७ हजारभन्दा बढी आम्दानी गर्छिन् । ९ वर्षको हुँदा अरूको घरमा काम गर्न गएकी दीपा कामबाट मुक्त हुँदा १६ वर्ष पुगिसकेकी थिइन् । ‘ठूलो उमेर भएकाले पढ्न थालिनँ, सीप सिकें र काममा लागें,’ उनले भनिन्, ‘बेरोजगार हुन नपरोस् भनेर गार्मेन्ट मेसिन चलाउन सिकें । अहिले काम राम्रो छ । जहाँ पनि काम पाइन्छ ।’ युथ फाउन्डेसनले दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका २ सय २५ किशोरीलाई तालिम दिएको छ ।

दुर्गालाल केसी/कान्तिपुर दैनिक साभार

Leave a Reply

Your email address will not be published.