मुक्त कमलरीलाई घर बनाउन सहयोग

kamalariबाँके- बाढीले घरविहीन भएका बाँके र बर्दियाका २० मुक्त कम्लरीलाई घर बनाउन १०/१० हजार रुपैयाँ सहयोग गरिएको छ । सहयोग पाएको रकमले बस्नका लागि घर बनाउने मुक्त कम्लरीले बताए । सहयोग रकम बुझ्दै गर्दा उनीहरूले बाढीले पुर्‍याएको क्षतिबारे सुनाएका थिए । हेर्दाहेर्दै बाढीले घरसँगै खाद्यान्न, लत्ताकपडा बगाएर लगेको र आफू भागेर ज्यान जोगाएको घटना सुनाएका थिए । ‘बाढी आएपछि परिवारसँगै घरको छतमा बस्यौं । दुई दिन त्यसरी नै बितायौं । बाख्रा, गाईगोरु सबै बग्यो,’ राहत लिन नेपालगन्ज आएकी बर्दिया शिवपुरकी मुक्त कम्लरी संगीता चौधरीले भनिन् । उनीजस्तै सबै पीडित मुक्त कम्लरीले आफ्ना समस्या सुनाए । नेपाल युथ फाउन्डेसन (नायफ) का अध्यक्ष सोम पनेरुले घर निर्माणका लागि उनीहरूलाई सहयोग रकम हस्तान्तरण गरेका छन् । यसअघि संस्थाले बर्दिया, बााँके र दाङका १ हजार २ सय बाढीपीडित परिवारलाई खाद्य र गैरखाद्य गरी ३५ लाख बराबरको राहत सहयोग गरेको क्षेत्रीय कार्यक्रम संयोजक मानबहादुर क्षेत्रीले बताए ।

यसैगरी दैलेखमा साउन अन्तिम साता सुर्खेतका विभिन्न ठाउँमा गएको बाढीपहिरोबाट पीडित बनेकालाई यहाँका व्यवसायीले सहयोग गरेका छन् ।

देवकोटाचोक महिला दिदी बहिनी समूहले संकलन गरेको ४७ हजार ८ सय ८० रुपैयाँ जिल्ला प्रशासनमार्फत पठाएको हो । ‘छिमेकी जिल्लावासीले ठूलो विपद् बेहोरिरहेका बेला टुलुटुल हेर्नुभन्दा थोरै भए पनि सहयोग जुटायौं,’ हमाल भाँडा पसलकी सञ्चालक तुल्सी मल्लले भनिन् । उक्त सहयोग रकम प्रजिअ सागरमणि पराजुलीले जिल्ला दैवी प्रकोप उद्धार समिति सुर्खेतको खातामा पठाएको बताए ।

कान्तिपुर दैनिकबाट साभार। तस्बिर : ठाकुरसिंह थारु

Leave a Reply

Your email address will not be published.