एकदुई प्रदेश भन्नेहरुले अब तराइ नटेके हुन्छः लेखी

Rajkumar Lekhi

मुख्य दलहरु संघीयताको छलफलमा भिडेको बेला बेला राष्टिय नागरिक पार्टी (नेपाल)का अध्यक्ष राजकुमार लेखीले अब मधेसवादीहरुले तराइ नटेके हुन्छ भनी चेतावनी दिएका छन्। उनको भनाइ छ, ‘मधेसवादीहरुले कांग्रेस, एमाले र एमाओवादीसँग साँठगाठ गरेर तराइको गला रेटेका छन्। उनले अब टुलुटुलु हेरेर नबस्ने पनि बताएका छन्। उनको दावी छ, ‘देश भाँड्न कुरुप र नेतामुखी संघीयता ल्याइँदैछ। यस्तो संघीयताले समाधान दिँदैन।’
नेपाल अादिवासी जनजाति महासंघका पूर्व अध्यक्ष समेत रहिसकेका लेखीसँगकाे वार्ताको सारसंक्षेप :

सिंहदरबारदेखि बालुवाटारसम्म अहिले चलिरहेको वार्ता र बैठकले स्पष्ट देखाइरहेछ, भावीे संविधानमा समाधान होइन समस्याका रुपमा संघीयता ल्याईंदैछ। मधेसवादी भनिनेहरुको समेत मिलेमतोमा तराइमा जस्तो प्रदेश बनाइन लागिएको छ, त्यसलाई हेरेर भन्न सकिन्छ, अब चुनाव जहिले भए पनि मधेसवादी भनिनेहरुले तराइमा चुनाव लड्न जाने स्थिति रहने छैन। मधेसवादी भनिनेहरुको काँधमा चढेर कांग्रेस एमाले र एमाअाेवादीले मेचीदेखि महाकालीसम्मको तराइको गला रेट्न लागेका छन्।

‘मधेसवादीको मास हिस्टिरिया’
राजनीतिमा पनि ‘मास हिस्टिरिया’ हुन्छ। ठूलो जमातले अचानक कुनै गलत कुरालाई सही देख्छ या कुनै नयाँ कुरा खोज्छ जो वीषजस्तो घातक हुन्छ। तराइलाई एउटै प्रदेश बनाउने माग मास हिस्टिरिया थियो। एक प्रदेशको माग गलत थियो, यो गल्तीबाट तराइका जनताले पाठ सिकिसकेका छन् तर एउटै प्रदेश बनाउने मागमा टेकेर सत्ता राजनीति गरिरहेकाहरुले सिकेनन्।

म सात वर्षदेखि तराइमा बहुप्रदेश हुनुपर्छ भनेर कराइरहेको छु। थारु कल्याणकारिणी सभाले पनि तराइमा बहुप्रदेश भनेको छ। सभाको दुईटा महाधिवेशन, केन्द्रीय परिषद्को बैठकहरु सबैले बहुप्रदेशको निर्णय गरेको हो। जानअन्जानमा २२ जिल्लाको एकै थरुहट प्रदेश भनेर गल्ती गरेकाहरुले पनि चितवनको थारु गोलमेच सम्मेलनपछि बहुप्रदेश भनेका हुन्। तर, नजाने के कारण या स्वार्थले हो विगतमा बहुप्रदेश भन्ने कतिपय शक्तिले पनि पहाडमा भन्दा तराइमा थोरै प्रदेश भनेको सुनिन्छ। थरुहट तराइको घाटी रेट्ने पक्षमा कतिपय थारु नै उभिनु आश्चर्यको कुरा भएको छ।

तराइमा थतराइका अन्य आदिवासी जनजाति संस्थाहरुले पनि बहुप्रदेश मागेका छन्। मिथिला क्षेत्रका मधेसी जनताले मिथिला प्रदेश मागेका छन्। अवध प्रदेश मागेका छन्।

मठाधीसहरुको व्यक्तिगत स्वार्थ
समग्र नेपालमा धेरैभन्दा धेरै प्रदेश बनाउनु बुद्धिमानी हुन्छ। मेचीदेखि महाकालीसम्म छरिएका थारु समुदायलाई धेरैवटा प्रदेश चाहिन्छ। उनीहरुलाई एउटा या दुईटा प्रदेशले पुग्दैन। अहिलेको एकात्मक नेपालजस्तै ढाँचाको एउटा या दुईटा एकात्मक प्रदेश बनाइयो भने थारु समुदायले के पाउँछ? केही पनि पाउँदैन।

तराइका अन्य आदिवासी जनजातिले के पाउँछ? दलित मुस्लिमले के पाउँछ? केही पनि पाउँदैन। मधेसी जनताले के पाउँछ? केही पनि पाउँदैन।

कसैले केही पनि नपाउने एकदुईवटा प्रदेश किन बनाउन खोजिँदैछ? केही मठाधीस नेताहरुको व्यक्तिगत स्वार्थपूर्तिका लागि तराइका सम्पूर्ण जनताको हितको हत्या गर्न पाइन्छ कि पाइन्न? मेरो प्रश्न यो हो।

रिसाउने मधेसीले कुरा बुझ्न थाले
केही दिन अघि म सिराहा र सर्लाहीको कार्यक्रममा गएको थिएँ। पाँच सात वर्ष अगाडि त्यहाँ मैले तराइ बहुप्रदेश हुनुपर्छ भनेर भाषण गर्दा मधेसी साथीहरुको ठूलो जमात चर्काेसँग रिसाए। रिसाउनेमा थारुहरु पनि थिए। यसपाली जाँदा तिनै मधेसवादी साथीहरुले मसँग भने, तराइमा बहुप्रदेश हुनुपर्छ। एकदुईवटा प्रदेश बनाउँदा हामी ठगिन्छौं, मधेसवादी भनिने केही नेतालाई फाइदा हुने तर सम्पूर्ण जनताको अहित हुने थोरै प्रदेश मान्नुहुन्न भन्ने उहाँहरुको धारणा थियो।

पाँच सात वर्षबीचमा जनता धेरै बुझ्ने भइसके। हामी सबैले अनेक शिक्षा लियौं तर देशमा हालीमुहाली जमाएर बसेका ठूला पार्टी र मधेसवादी नेताहरु आफ्नो स्वार्थका कारण अन्धो भएका छन्। यिनीहरुले थोरै प्रदेश हुनुपर्छ, धेरै भयो भने अर्थतन्त्रले थेग्दैन भन्ने कुप्रचार गरेका छन्। यी जालिफटाहा नेताहरुले तराइलाई एउटै प्रदेश बनाउनुपर्छ भनेर उत्पात मच्चाए, अहिले जनता भन्न थालेका छन्, पहाडमा भन्दा तराइमा थोरै प्रदेश मान्दैनौं।

बक्सिस र निगाहा चाहिँदैन
कांग्रेस एमाले र एमाओवादीहरु तराइमा दुई प्रदेश बनाउने पक्षमा देखिएका छन्। उनीहरुको यो कथित अवधारणामा मधेसवादी ताली पिट्दैछन्। यी कांग्रेस एमाले एमाओवादी र मधेसवादी भनेका तिनै हुन् जो हिजो तराइमा एक प्रदेश भए पनि फरक पर्दैन भन्दै थिए, प्रधानमन्त्री निवास बालुवाटारमा सहमति समेत गरेका थिए। अहिले यिनीहरुले तराइका जनतालाई दया र निगाहा गरेर दुईटासम्म प्रदेश दिने छाँट देखाएका छन्।

तराइका जनतालाई निगाहा र बक्सिसमा दुईटा प्रदेश चाहिएको होइन। अधिकारस्वरुप बहुप्रदेश चाहिएको हो। पहाडमा जति प्रदेश हुन्छ त्यति प्रदेश तराइको अधिकार हो।

थोरै प्रदेशको पक्षमा ताली पिट्नेहरुले के बुझ्नुपर्छ भने अहिलेको ताली भावी सन्तति र मुलुकको भविष्यमा झापड हो।

महेन्द्रका नयाँ अवतारहरु
मुख्य प्रश्न हो, तराइमा एउटा या दुईटा प्रदेश मात्र किन? कसको स्वार्थका लागि एउटा या दुईटा प्रदेश? कसको इशारामा एउटा या दुईटा प्रदेश? पहाडमा पाँच सातवटा प्रदेश बनाउँदा तराइमा दुईटा मात्र प्रदेश बनाउनुपर्ने कारण के हो? लगभग समान जनसंख्या भएको पहाडमा धेरैवटा प्रदेश, तराइमा चाहिँ थोरै प्रदेश के आधारमा?

यस्ता प्रश्नको जवाफ नयाँ संविधान बनेको खण्डमा, नयाँ संविधानमा तराइलाई ठगिएको स्थितिमा कसले दिने? त्यसबेला जवाफ दिनुपर्ने कांग्रेस एमालेहरुले भन्दा मधेसवादी भनिनेहरुले हो। किनभने उनीहरुकै मागको बुई चढेर दुई प्रदेशमा तराइलाई सीमित गरिने हो।

पहाडका सभासदहरु पाँचसातवटा प्रदेश बोकेर जिल्ला फर्कनेछन्, तराइका सभासद दुईटा प्रदेश बोकेर जिल्ला फर्कनेछन्। अहिले जसको आँखा खुलेको छैन त्यसबेला तिनको पनि आँखा खुल्नेछ र सोध्नेछन्, पहाडमा पाँचसातवटा प्रदेश बनाउँदा तराइमा चाहिँ किन दुईटा मात्र ? तिनको जवाफ के हुनेछ?

तराइ जहिले पनि ठगिएको छ, उपेक्षित छ, राज्यसत्तामा तराइका जनताको हिस्सेदारी न्यून गर्न विभिन्न तिकडम हुने गरेको इतिहासले छर्लङग देखाउँछ। पञ्चायतकालमा राजा महेन्द्रले पहाडमा ७३ वटा र तराइमा २२ वटा मात्र जिल्ला बनाएर तराइलाई ठगेका थिए। ७३ वटा जिल्ला भएपछि त्यही अनुपातमा गाविस धेरै भयो, नगरपालिका धेरै भयो, जिविस त धेरै भइ नै हाल्यो। त्यही अनुपातमा पहाडमा धेरै बजेट गयो, पहाडमा अवसरको ढोका धेरै खुल्यो।

इतिहासको यो गल्तीबाट शिक्षा लिएर तराइमा धेरै प्रदेश बनाउनुपर्छ भन्ने माग अगाडि सार्नुपर्नेमा मधेसवादी भनिनेहरुले मधेसी समुदायमा मास हिस्टिरिया फैलाए। लाभ हानीको हिसाब नै नगरी सोझा मधेसी जनताले एक मधेसको मागमा साथ दिए, वाठा मधेसी नेताहरुले ती सोझा जनताको काँधमा चढेर सत्ताको सयर गरे।

जब जनताले ठगिएको थाहा पाउँछन्…
अब आँखा खोल्नुपर्ने बेला आएको छ। प्रदेश भनेको अवसर हो, प्रदेश भनेको बजेट हो, प्रदेश भनेको सम्भावनाको विशाल ढोका हो। यो ढोका थोरैभन्दा थोरैमा सीमित गर्न चाहन्छन् मधेसी मठाधीस नेताहरु, कांग्रेस एमाले र एमाओवादीका नेताहरु।

न्युजभित्ताबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *