सुत्केरीले पेटभरि खान पाएनन्

Inderiya Tharu_sutkeri

बाँके- घर भत्केको छ। खाद्यान्न बगेको र माटोमा मिलेको छ। यस्तो संकटका बेला भदौ २ गते बेतहनी-८ की २५ वर्षीया सुनिता बर्मा सुत्केरी भइन्। दुई साताकी सुत्केरी उनले बाढीपछि पेटभरि खानै पाएकी छैनन्। स्वास्थ्यकर्मीले उनलाई प्रशस्त पोषणयुक्त खानाका लागि सुझाव दिएका छन्। राप्तीको बाढीले घर भत्काएको र खाद्यान्न बगाएकाले सुनिताले खान नपाएकी हुन्।

स्थानीय प्रशासनले राहतस्वरूप दिएको थोरै खाद्यान्न पनि सकिएको छ। ‘घरमा चामल, दाल केही छैन। घर भत्केपछि बच्चालाई राख्ने ठाउँ पनि भएन। यस्तो अवस्थामा पेटभरि खाना पाउने कुरै भएन,’ सुनिताले भनिन्, ‘मलाई मात्रै हेरेर भएन, परिवारका सबै सदस्यले पनि खाना खानुपर्‍यो। बाँडीचुँडी खाएर ज्यान जोगाएका छौँ।’ उनका पति मजदुरी गर्छन्।

बेतहनीकी निर्मला कांदु ६ महिनाकी गर्भवती छन्। बाढीले उनको घर पनि भत्काएको छ। खाद्यान्न केही बाँकी छैन। उनलाई पनि पोषणयुक्त खाना र नियमित स्वास्थ्य जाँच आवश्यक छ। तर बाढीपछि उनी पोषणयुक्त होइन, पेटभरि खाना नपाएको गुनासो गर्छिन्। घरमा भएको क्षतिको तनावले निर्मलाले स्वास्थ्य जाँच गराएकी छैनन्। ‘बाढीले जोगी बनाइदियो। दुई छाक खानाका लागि पनि रुनु पर्ने अवस्था छ,’ उनको गुनासो छ, ‘पेटको बच्चाको माया लाग्छ। यस्तो दयनिय अवस्थामा के गर्न सकिन्छ।’

बाढीकै बेला बच्चा जन्माएकी उढरापुरकी सीता विकको अवस्था पनि उस्तै छ। मानखोलाको बाढीले घर भत्काएपछि उनी स्थानीय बिद्यालयमा प्रसूति भएकी थिइन्। उनको अवस्था पनि अरू सुत्केरी र गर्भवती महिलाको जस्तै अवस्था छ। बाढीपछि जिल्ला जनस्वास्थ्य कार्यालयले सुत्केरी र गर्भवतीको अवस्थाबारे तथ्यांक संकलन गर्न थालेको छ। तथ्यांक संकलन टिम लिडर भाग्य रेखा सिलवालले बाढीपछि सुत्केरी र गर्भवतीको अवस्था अत्यन्त नाजुक भएको बताइन्। उनले त्यस्ता महिला खाना र स्वास्थ्य जाँचबाट बञ्चित भएको बताइन्। ‘यस्तो संवेदनशील अवस्थामा सुत्केरी र गर्भवती महिला पेटभर र पोषणयुक्त खानाबाट वञ्चित हुँदा स्वास्थ्यमा समस्या देखिन थालेको छ। तर उनीहरूलाई सहयोग गरिएको छैन,’ उनले कान्तिपुरसँग भनिन्, ‘उनीहरूमा धेरै तनाव छ। त्यस्ता अवस्थाका महिलालाई तत्काल सहयोग आवश्यक छ।’

बेतहनीमा ४२, बनकट्टीमा ४३ र कम्दीमा ५६ सुत्केरी र गर्भवती बाढीबाट प्रभावित भएको संघले जनाएको छ। त्यस्तै, बाढी प्रभावित अन्य गाविसका सुत्केरी र गर्भवती महिलाको तथ्यांक संकलन कार्य जारी छ। जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जीवनकुमार मल्लले बाढीबाट प्रभावित सुत्केरी र गर्भवतीको अवस्था दयनीय बनेको बताए। उनले तथ्यांक संकलनपछि उनीहरूको विस्तृत अवस्था आउने दाबी गरे।

कान्तिपुर दैनिक साभार

Leave a Reply

Your email address will not be published.