नेपाली बालिकासँग स्वीस सुन्दरी

sundari

हल्का गुलाबी रंगको टिसर्टले उनको गोरो मुहार झनै खुलेको थियो। न गाजल, लिपिस्टिक न त कुनै पाउडरको बनिबनाउ गोरोपन। उनी सादा मेकअपमै सुन्दर देखिएकी थिइन्। स्वीट्जरल्यान्डकी मिस अर्थ सायदे हुग खासमा बाहिरीभन्दा भित्री सुन्दरतालाई महत्त्व दिने गर्छिन्। एक साताअघि नेपाली बालिकाहरूको शिक्षामा सघाउने ध्येय बोकेर नेपाल आएकी २३ वर्षीया स्वीस सुन्दरीले समाजसेवा नै वास्तविक ‘ब्युटिनेस’ विचार राखिन्। आइतबार ललितपुरस्थित प्लान नेपालको कार्यालयमा भेटिएकी उनले सञ्चारकर्मीहरूसँग एक साताको भ्रमण अनुभव पनि साटेकी थिइन्। ‘बिकज आई एम अ गर्ल’ लेखिएको गुलाबी टिसर्ट लगाएकी उनले स्वीट्जरल्यान्ड र नेपालका बालिकाको अवस्था सुनाइन्।

‘बिकज आई एम अ गर्ल’ अर्थात् म बालिका भएकीले भन्ने अभियानकी सद‍्भावना दूत समेत रहेकी स्वीस सुन्दरी हुग नेपालमा पहिलोपटक आएकी हुन्। उनी भ्रमणका क्रममा कैलालीमा ‘कम्लरी बालिका’ को अवस्था र बाग्लुङमा ‘बालिका शिक्षा’ को अवस्था बुझ्न पुगेकी थिइन्। त्यसबेला उनले नेपाल र स्वीट्जरल्यान्डका बालबालिकाबीचको भिन्नता महसुस गरिन्। उनले आफ्नो मुलुकका बालबालिकाले सबै प्रकारको सुविधा पाए पनि अझै अधिकारका पक्षमा दिनहुँजसो बहस भएको सन्दर्भ सुनाउँदै नेपालमा शिक्षा, स्वास्थ्यजस्तो महत्त्वपूर्ण अधिकारबाट नै वञ्चित हुनुपरेको गुनासो गरिन्। ‘अचम्म छ, केही बालिका अवसरै अवसरको खुसीमा छन्,’ उनले भनिन्, ‘तर केही बालिका अभावमा पनि मुस्कुराइरहेका छन्।’

प्लान नेपाल र स्वीट्जरल्यान्ड प्लानमार्फत उनी नेपाली आएकी हुन्। कैलाली र बाग्लुङका ग्रामीण बालिका, तिनका परिवार र बालिकाका लागि काम गर्ने संघसंस्था र सरकारी निकायसँग समेत उनले छलफल गरेकी थिइन्। एक साताको भ्रमणपछि उनले आइतबार आफूले देखेका, भोगेका अनुभूतिलाई सबैमाझ बताएकी हुन्। भ्रमणका क्रममा सबैभन्दा मुख्य समस्या शिक्षामा रहेको उनले खुलाइन्। उनको विचारमा शिक्षाले अरू समस्याको समाधान खोज्न मद्दत गर्ने हुँदा यसमा पहुँच बढाउन आवश्यक छ। ‘खासगरी बालिका शिक्षा अनिवार्य हुनुपर्छ,’ उनले भनिन्। उनले एउटी युवती सक्षम बन्नका लागि कम्तीमा १० वर्ष अध्ययन र ३ वर्ष ‘जीवन कसरी व्यवस्थित गर्न सकिन्छ’ भन्नेबारे सोचविचारपछि मात्रै वैवाहिक सम्बन्धमा बाँधिनु उचित हुने बताइन्। नेपाली बालिकाले बच्चैमा आमा बन्नुपर्ने विडम्बना देखेर उनले यस्तो मूल्यांकन गरेको दाबी गरिन्। सामाजिक काममध्ये बालिकाको क्षेत्रमा काम गर्ने उनको सानैदेखिको चाहना रहेको पनि खुलाइन्। ‘साह्रै भावुक भएकी छु, नेपाली बालिकाहरूका लागि सहयोग जुटाउन धेरै मेहनत गर्नेछु,’ उनले भनिन्।

भ्रमणका क्रममा उनले टीकापुरको सरस्वती माध्यमिक विद्यालयको लावाजुनी छात्रावासको चौरमा बालिकाहरूसँगै बिरुवा रोपेको पनि अनुभुव सुनाइन्। बाग्लुङको पाला गाविसमा ‘बालिका अघि बढाऔं’ अभियान अन्तर्गत किशोरी केन्द्र र युवा महिला समूहको छलफलमा पनि सहभागी भइन्। त्यहाँ उनले परिवर्तनका लागि शिक्षा र सीप भन्ने विषयमा जोड दिएको खुलाइन्। नेपाल र स्वीट्जरल्यान्डको प्राकृतिक सौन्दर्य उस्तैउस्तै रहेको बताएकी सुन्दरी हुगले बालिकाको भविष्य पनि प्रकृतिजस्तै सुन्दर बने कति राम्रो हुन्थ्यो होला? भन्दै परिकल्पना गरेकी थिइन्। सोमबार स्वदेश फर्किएकी उनले छिट्टै ती बालिकाहरूलाई सहयोग गर्न नेपाल आउने योजना रहेको सुनाइन्। मिस अर्थ स्वीट्जरल्यान्डसँगको भेटघाटका लागि नेपालको मिस अर्थ पि्रन्सा श्रेष्ठलाई पनि निम्तो गरिएको थियो। घन्टौं कुराएर अन्तिममा उनले आयोजकलाई ‘पानी परेर आउन नसकेको’ खबर पठाएकी थिइन्।

मधु शाही/कान्तिपुर दैनिक साभार

Leave a Reply

Your email address will not be published.