गृहमन्त्री वामदेव गौतमको गृहजिल्ला बर्दियामा राजकुमारी थारुसहित ११ जनाले बबई नदीको बाढी छल्न २६ घण्टा रुख चढेर बिताए । रुखमा ६ महिनाको बच्चादेखि ७० वर्षकी वृद्धासमेत थिए । रुखको हाँगामा बसेर मृत्युलाई जित्न सफल रामकुमारीले सेभ द चिल्ड्रेनद्वारा वितरीत राहत थाप्न आउँदा उक्त त्रासदीपूर्ण घटनाबारे यसरी वर्णन गरिन्:
आपतमा परेपछि लाज पनि हराउँदो रहेछ, दिशा-पिसाब आउँदा रुखबाटै छाडिदिन्थ्यौं, तल्लो हाँगामा बसेकालाई लाग्थ्यो ।
बिहानको ५ बजेको हुँदो हो, बबई नदी बढेर आयो । एकै छिनमा घरको छाप्रो भत्कायो । भागौं, कता जाउँ ? जतात्यतै पानी नै पानी । घर नजिकैको सिसमको रुखमा लोग्ने र तीन छोरीसहित चढेर बस्यौं ।
दिनभरि बसेपछि साँझमा त्यो रुख पनि बगाउँछ जस्तो डर लाग्यो । त्यसपछि बाढीमा बगाएर ल्याएको रुखको सहाराले नजिकै रहेको आँपको रुखमा सर्यौं र त्यही रुखमा रात कटायौं । त्यो रुखमा हामी ११ जना थियौं । त्यहाँ रहेकी गर्भी थारु ७० वर्षकी थिइन् ।
छिमेकी कमला गुरुङ्ग आफ्नो ६ महिनाको नानी लिएर रुखमा हामीसँगै बसेकी थिइन् । कमला बेलाबखत बेहोस हुने र बान्ता गर्ने गरेपछि उनलाई र उनको बच्चालाई बचाउन गाह्रो भयो । कमलाका पति विजय गुरुङ्ग भारतको दिल्लीमा कमाउन गएका थिए । बाढीका कारणले उनी बाटैमा थुनिएका थिए ।
अहिले कमला र बच्चा दुबै बिरामी छन् । उनी भुरीगाउँमा देवरका घरमा आश्रय लिइरहेकी छन् । गर्भी पनि विरामी भएर उपचार गराइरहेकी छन् ।
रुखमा हामी ११ जनाले ज्यान जोगाउन झण्डै २६ घण्टा बसेका हौं । शुक्रबार बिहानै ५ बजे रुख चढेका हामी शनिबार बिहान ६ बजे मात्र ओर्लिएका हौं ।
रुखमा बस्दा आपतमाथि आपत थपियो । जतात्यतै पानी नै पानी थियो । दिसा-पिसाव लाग्दा जहाँ बसेका थियौं, त्यहीँबाट गरिदिन्थ्यौं । यसो गर्दा तल बस्नेको जिउभरि हुन्थ्यो ।
बाढीले बगाउने डर त छँदै थियो, अर्कोतिर बाढीले बगाएर ल्याएका विषालु सर्पले कतिबेला डस्ने हो, भनेर त्राहीत्राही भइयो । कतिपटक त सर्प टिपेरै फालियो । कतिपटक सर्पसँगै एउटै हाँगामा बसियो ।
विपद र बाढीमा पर्दा राज्यले खोजेर उद्धार गर्छ भन्ने सुनेका थियौं । रेडियोमा हेलीकोप्टरले उद्धार गर्छ भन्ने पनि सुनेका थियौं । तर, २६ घण्टासम्म रुखमा बसेका बेला न त हामीलाई बचाउन कोही आयो, न त हामीले खानका लागि नै केही पायौं ।
रुखबाट ओर्लिएपछि नजिकै रहेको आफन्तको घरमा पुगेर झण्डै ४८ घण्टापछि मात्रै केही खानेकुरा खान पाएको हौं । हामी विपन्न र गरिबका लागि राज्यले उद्धारमा लागि न चासो देखायो, न त राहत लिएर नै आयो ।
विपतमा परेकालाई बचाउन हेलिकोप्टर आउने यसअघि रेडियोबाट सुन्ने गरेका थियौं । तर, हामीलाई बचाउन कोही न कोही त आउलान् कि भन्दै आशैआशमा दिन र रात बिताइयो । हामीजस्ता गरिवको उद्धार गर्न कोही आएन ।
तस्बिर/समाचार अनलाइनखबर साभार