विस्थापितले सिटामोलधरि पाएनन्

20140822_111843
मोहम्मदपुर सौजीगौडीकी अञ्जु थारू स्वास्थ्य शिविरको लाइनमा।

बर्दिया- मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पतालले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा बाढीपीडित बिरामीको चाप छ। भाइरल ज्वरोलगायत संक्रमणले सताइएका ८ सयभन्दा बढीले औषधोपचार पाइसके तर विस्थापित शिविर (आश्रयस्थल) मा रहेका हजारौं हजारमध्ये धेरैको गुनासो छ– हामीले त सिटामोल पनि पाएनौं।

त्यसको कारण हो– चिकित्सक अभाव। विस्थापितको उपचारमा खटिने डाक्टर जम्मा एक जना छन्, कति ठाउँमा पुगून्, कति जनालाई जाँचून् र औषधी बाँडून्?
बाढीले मध्यपश्चिमका १ लाख ६६ हजार ५ सय ५५ विस्थापित छन्। अहिलेसम्म यत्रो संख्याका लागि एकै डाक्टर खटिएका छन्। ८ हजार ५ सय घरपरिवारका विस्थापित ३८ आश्रयस्थलमा बाँडिएर कष्टकर जीवन काटिरहेका छन्।

प्रहरीको मोबाइल स्वास्थ्य शिविर भने दुइटा आश्रयस्थलमा मात्र पुगेको छ। ३६ आश्रयस्थलका बिरामीले सिटामोलसम्म नपाएको गुनासो गरिरहेका छन्।
स्वास्थ्य शिविरमा प्रहरीका डाक्टर डिएसपी दामोदर पौडेल चार स्वास्थ्यकर्मीसहित खटिइरहेका छन्। उनी शिविरमा बिरामी मात्र जाँच्दैनन्, औषधी बाँड्ने र उच्च ज्वरोका बिरामीलाई दूषित पानी नपिउन अनुरोध गरिरहेका छन्। पानीमा सचेत नभए महामारीका रुपमा अन्य रोग पनि फैलन सक्ने चेतना बाँडिरहेका छन्।
शुक्रबारदेखि निःशुल्क जाँच गरिरहेको प्रहरीको चिकित्सक टोली बबई क्याम्पस र महोम्मदरस्थित स्वास्थ्य केन्द्रमा रहेका दुई शिविर पुगेको छ। शनिबार विश्राम लिएको एक डाक्टरसहित चार जनाको टोलीले आइतबारदेखि बनियाभारमा शिविर सञ्चालन गर्ने एसपी वीरेन्द्र बस्यालले जानकारी दिए।

प्रहरीसँग आश्रयस्थलमा रहेका ८ सय बिरामीलाई औषधी वितरण गरिएको तथ्यांक छ। बाढी आएको आठौं दिनसम्म ३६ शिविर स्वास्थ्य सेवाबाट वञ्चित छ।
पदनाहा, बगनाहा, गुलरियामा भाइरल फिबर प्रकोप छ। ‘उच्च ज्वरो, पेट दुख्ने, टाउको दुख्ने, श्वासप्रश्वासका बिरामी देखिन्छन्,’ डा. पौडेलले जानकारी दिए।

भाइरलको संक्रमण बढ्न नदिन चिकित्सकको मोबाइल टोली आश्रयस्थल पुगेर उपचार गरिरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अच्युत लामिछानेको दाबी छ।
‘उपस्वास्थ्य केन्द्र, स्वास्थ्य केन्द्रमा भर्खरै औषधी गएको छ, समस्या परे त्यहीँबाट परिपूर्ति हुन्छ, त्यतिले नभए जिल्लाबाट सम्बन्धित ठाउँमा औषधी लैजाने प्रबन्ध मिलाउँछौं,’ उनले भने, ‘प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन छन्, जिल्लाबाटै चिकित्सक मोबाइल सञ्चालन भएको छ।’

अस्पताल प्रशासनका अनुसार १ सय ५० बिरामीले जिल्ला अस्पतालमै उपचार गराएका छन्। आश्रयस्थलको यथार्थ भने जिल्ला स्वास्थ्य कार्यालय र अस्पतालको भनाइजस्तो छैन।

बाढीले घर बगाएर विस्थापित भवरा थरुनीले बनियाभारका पीडित कसैले उपचार नपाएको आक्रोश पोखिन्। ‘बगनाहा खैलार र बनियाभाार, पदनाहामा पनि चिकित्सक पुगेका छैनन्,’ उनले भनिन्, ‘अन्य ठाउँमा गएको भए थाहा भएन, हामीलाई उपचार गर्न आएका छैनन्।’

पीडितहरु दिनभर आश्रयस्थल र डुबान बस्ती ओहोरदोहोर गरिरहन्छन्। ‘सडेका चौपाया र भिजेका अन्नपात डुङडुङ गनाइरहेका छन्,’ तुल्सीपुरका रामबहादुर डाँगी भन्छन्, ‘आश्रयस्थलमा बिरामी बढिररहेका छन्।’

चर्को गर्मीले मरेका चौपाया सडेर आश्रयस्थल दुर्गन्धित रहेकाले महामारीको खतरा निम्तन सक्ने स्वास्थ्यकर्मीको अनुमान छ।
मालसरी बुढा आठ दिनकी गर्भवती हुन्। बाढी आउँदा उनलाई बेथा लागेको थियो। उद्धारपछि आश्रयस्थलमै सुत्केरी भइन्।

‘उद्धार गरेर आउनेबित्तिकै यहीँ बच्चा जन्माएँ,’ उनले भनिन्, ‘ज्वरो आइरहेको थियो, कसलाई भन्न जाने भनेर यत्रा दिन पीडा खपिरहें।’
निःशुल्क शिविरमा जाँच गराएपछि आराम भएको उनले सुनाइन्। प्रहरीको चिकित्सक टोलीले ८ सयलाई निःशुल्क जाँच गरी औषधी उपलब्ध गराएको छ। ‘सदरमुकाम नजिक छ, केही भए उपचार होला भन्ने मनमा छ,’ उनले आशा छरिन्।

महोम्मदपुरका हसिन गद्दीले पनि स्वास्थ्य शिविरमा उपचार गराए। बाढी आएयता निन्द्रा नलाग्ने समस्या डाक्टरलाई देखाए। पैसा नभएकाले धेरै दिन रोग च्यापेर बसेको उनले सुनाए।

‘राहतका नाममा दिइने ४ सय ग्राम चामलले बिहान–साँझ हातमुख जोर्नसम्म पुगेको छ,’ तुल्सा विकले सुनाइन्, ‘सञ्चो छैन, केले उपचार गराउने?’
‘छोराछोरीलाई खुवाउँछु, आफूलाई पुगेन भने भोकै बस्छु,’ उनले भनिन्, ‘सुर्खेत मेलकुनामा घर थियो, तराईमा जग्गा पाइन्छ भनेर आएका हौं, सर्वस्व बाढीले लग्यो।’
तुल्साका पति भारत बंगलोरमा काम गरेर बसेका छन्। यत्रो विपत्तिमा पनि उनी आउन सकेनन्। ‘सडक अवरुद्ध हुँदा आउन सकेका छैनन्,’ उनले थपिन्, ‘सरसल्लाह गर्ने श्रीमान पनि हुनुहुन्न, केटाकेटी र आफूलाई दिउँसो ज्वरो आउँछ, बेलुका टाउको दुख्छ।’

अघिल्लो शनिबार बबई बहुमुखी क्याम्पसस्थित आश्रयस्थलका ३० बाढीपीडितमा देखिएको भाइरलको संक्रमण तथा रोगले महामारीको रुप लिएको छ। शुक्रबार त्यहाँ ५ सय बिरामी फेला परेका थिए।

बिहीबार पनि १ सय ७६ को उपचार गरिएको थियो। तापक्रम ४० देखि ४२ डिग्री हाराहारी छ। चिकित्सकका अनुसार भाइरल ज्वरो निको हुन ४–५ दिन लाग्छ।
‘तीन दिनसम्म झरीले रुझियो, अहिले चर्को गर्मी छ,’ उनले भने, ‘कहिले जाडो र कहिले गर्मी हुँदा यस्तो भाइरलको संक्रमण देखिएको हो।
आश्रयस्थलमा किराकाटी र सर्पको त्रासले रातभर जाग्राम बस्नुपरेको विस्थापितको भनाइ छ।

८ हजार स्वास्थ्य किट
दैवीप्रकोप व्यवस्थापन समितिको कोषमा ८ हजार स्वास्थ्य किट शनिबार जम्मा गरिएको छ। किटमा साबुन, ब्रस, छुईका लागि प्रयोग गर्ने प्याड भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। जर्मन सहयोग नियोग जिआईजेटले प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेललाई स्वास्थ्य कार्यालयको तालिम कक्षमा स्वास्थ्य किट हस्तान्तरण गरेको थियो।

निर्मल घिमिरे/नागरिक दैनिक साभार

Leave a Reply

Your email address will not be published.