कोरियाली भाषा परीक्षाका लागि ६२ हजारको आवेदन

eps

काठमाडौं- कोरियाली भाषा परीक्षाका लागि देशभरबाट ६२ हजार ५१४ जनाले आवेदन फारम भरेका छन्। वैदेशिक रोजगार विभागको रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत इपिएसले यही साउन २८ गतेदेखि आजसम्म कोरिया भाषा परीक्षाका लागि आवेदन खुला गरेको थियो। उपत्यकाभित्रबाट ३५ हजार ६१९ र बाहिरबाट २६ हजार ८९५ गरी ६२ हजार जनाको आवेदन परेको इपिएस शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले जानकारी दिए।

उनका अनुसार डडेल्धुराबाट सबैभन्दा कम ५९०, काठमाडौँ कीर्तिपुरबाट १० हजार ५४८ र सीतापाइलाबाट सबैभन्दा बढी १३ हजार ३८०, ललितपुर च्यासलबाट ११ हजार ६९१, सुनसरी धरानबाट नौ हजार ३७८, रुपन्देही बुटवलबाट छ हजार ९९४ र कास्की पोखराबाट नौ हजार ९३३ जनाले आवेदन फारम भरेका छन्।

निर्देशक बाँस्तोलाले तेस्रो र चौथो दिन लाइन नबसी सहज रुपमा आवेदन फारम भरेको जानकारी दिए। कोरिया पठाउने कोटाचाहिँ भाषा परीक्षाको नतिजा प्रकाशनका बेला तोकिने उनले उल्लेख गरे। इपिएस शाखाले उपत्यकामा तीन र बाहिर चार गरी सात ठाउँबाट आवेदन फारम बुझाउने व्यवस्था मिलाएको थियो।

उपत्यकामा एक्मी इन्जिनियरिङ कलेज सीतापाइला, ल्याबरोटरी स्कुल कीर्तिपुर र च्यासल फुटबल खेल मैदान बालकुमारीबाट आवेदन बुझाउने व्यवस्था गरिएको थियो। त्यसैगरी, उपत्यकाबाहिर सुनसरीको धरान नगरपालिका, पोखराको विन्दवासिनी उच्चमावि बाटुलेचौर, रूपन्देहीको बुटवल प्रदर्शनीमण्डप र डडेल्धुराको कर्मचारी मिलन केन्द्रबाट आवेदन फारम भर्ने व्यवस्था गरिएको थियो।

उपत्यकामा आवेदन फारम भर्नेको अत्यधिक भीड लागेका कारण अस्तव्यस्त बनेको थियो। तोकिएका सम्बन्धित केन्द्रमा फारम बुझाउन युवा रात, घाम पानीको प्रवाह नगरी घन्टौ लाइनमा बसेका थिए।

अघिल्लो वर्ष सन् २०१३ मा ४६ हजार ६९२ जनाले आवेदन दिएकामा आठ हजार ५१ पास भएका थिए। जसमध्ये चार हजार १०० भन्दा बढी कोरिया गइसकेका छन्।
सन् २००६ मा स्थापना भएको श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले सन् २००८ बाट हरेक वर्ष कामदार पठाउँदै आएको छ। रासस

Leave a Reply

Your email address will not be published.