नेपालगञ्ज डुबानमा, राप्ती नदीमा जलस्तर बढ्यो

Gulariya Badhi
गुलरियाको बबई नदीमा आएको बाढी। हिजो रातिदेखि आएको अविरल वर्षाका कारण बर्दियाको बबई नदीमा बाढी आएपछि जिल्लाका विभिन्न स्थानहरु डुबान पर्नुका साथै यातायातका सवारी साधन सञ्चालन गर्न समस्या परेको छ । तस्बिर : मेनका चौधरी

नेपालगन्ज- बुधबार रातिदेखि परिरहेको अविरल वर्षाले नेपालगन्ज नगरको अधिकांश क्षेत्र डुबानमा परेको छ। नगरको घरबारीटोल, धम्बोझी, गणेशपुर, फूलटेक्रा, बुलबुलिया, बेलासपुर, कोरियनपुर, खजुरालगायतका क्षेत्र डुबान प्रभावित भएका छन्।
नेपालगन्जमा ढलनिकासको व्यवस्था नहुनु र भएका नाली पनि फोहरले पुरिएपछि पानीको निकास हुन नसकी वर्षायाममा शहर डुबानमा पर्ने गर्दछ। सडकमा पानी जमेपछि पैदलयात्रु र सवारीसाधनले सास्ती भोग्नुपरेको छ भने होचो क्षेत्रमा बनाइएका घरमा पानी पसेको देखिन्छ।
यसैगरी वर्षाका कारण राप्ती नदीको पानीको सतहसमेत बढेपछि बाढी प्रभावित क्षेत्रका बासिन्दालाई जिल्ला प्रशासन कार्यालयले सतर्क रहन आग्रह गरेको छ। नदीमा पानीको सतह बढ्दै गएपछि त्यस वरपरका होलिया, मटेहिया, गङ्गापुर, नरैनापुर, फत्तेपुर, लक्ष्मणपुरलगायतका गाविस डुवानको खतरामा पर्ने सम्भावना बढेको छ।
राप्ती नदीको जलस्तर बढेर अहिलेसम्म गाँउमा बाढी नपसे पनि त्यस क्षेत्रका अति जोखिममा रहेको पिप्रहवा र टेपरी गाँउका नागरिकलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको जिल्ला दैवी प्रकोप उद्दार समितिले जनाएको छ।
भारतले बाँके जिल्लाको नेपाल-भारत सीमा नजिक अन्तर्राष्ट्रिय कानुनविपरीत भारतीय क्षेत्रमा निर्माण गरेको लक्ष्मणपुर बाँध र तटबन्धका कारण राप्ती नदीको प्राकृतिक बहाव रोकिन गई बाँके जिल्लाको राप्तीपारी नेपाली भूमिका आधा दर्जनभन्दा बढी गाविसका नागरिक प्रत्येक वर्ष बाढी तथा डुबानको जोखिम लिन बाध्य छन्। रासस

Leave a Reply

Your email address will not be published.