कमला नदीको बाढीले दुईको ज्यान लियो

सिरहा- सिरहा र धनुषाको सिमानामा पर्ने कमला नदीको पूर्वी तटबन्ध भत्काएर गाउँ पसेको बाढीले दुई जनाको ज्यान लिएको छ। कमला नदीको बाढी पसेका कारण बेतो खोलाले मझौलिया-२ का अलबेला यादवलाई बगाएको छ। उनको मृत अवस्थामा स्थानीयले शव फेला पारेका छन्। खोला पार गर्न खोज्दा खोलामा कमलाको बाढी आउँदा यादवलाई बगाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

यस्तै आज बिहान खेत पुगेका भोक्राहा- का ४८ वर्षीय भिखारी महरा बेपत्ता भएका छन्। कमलाको बाढी गाउँ पसेकाले भिखारीलाई खेतमै बगाएर लगेको हुनसक्ने स्थानीयलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकृत तथा प्रहरी नायब उपरीक्षक लक्ष्मण गिरीले बताए।
अहिलेसम्म भिखारीको शव फेला पर्न सकेका छैन। स्थानीय र प्रहरीले खोजिकार्य जारी राखेका छन्। यस्तै कमला नदीको बाढीले जिल्लाका चार गाविस जलमग्न बनाएको छ। सिरहाका प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँले बाढीले सारस्वर, चिकना, भोक्राहा र विष्णुपुर गाविस बढी प्रभावित बनेको भन्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेना परिचालन गरिएको बताए।
प्रजिअ खाँले अहिले बाढी पीडितलाई सुरक्षित स्थानमा सार्ने काम जारी रहेको जानकारी दिए। रासस

Leave a Reply

Your email address will not be published.