नेपालले थाइल्यान्डलाई हरायो

Jitendra-thakuriकाठमाडौं- मलेसियामा आजदेखि सुरु भएको एसिसी सोह्र वर्षमुनि (यु-१६) प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपालले आज थाइल्यान्डलाई १० विकेटले पराजित गरेको छ। मलेसियास्थित क्वालालम्पुरको सेलाङ्गर टर्फ क्लबमा भएको सो प्रतियोगितामा नेपालले थाइल्यान्डलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो।
टस हारेर पहिले व्याटिङको निम्तो पाएको थाइल्यान्डले नेपाललाई ४९ रनको झिनो लक्ष्य दिएको थियो। थाइल्यान्डको चुनौतीलाई नेपालले ६ दशमलव १ ओभरमा विकेट नगुमाई पूरा गर्‍यो। थाइल्यान्ड ३१ ओभरमा सवै विकेट गुमाउँदै ४८ रनमा सिमित हुन पुगेको थियो।

नेपालका जितमा कप्तान सुमित महर्जनले २५ रनको योगदान दिए भने रवि चन्दले १६ रन जोडे। त्यस्तै बलिङतर्फ नेपालका स्पिनर जितेन्द्रसिह ठकुरी एक्लैले पाँच विकेट लिए। नेपाल यसअघि सन् २०१० र २०१२ मा भएको एसिसी यु–१६ प्रिमियर लिग क्रिकेट प्रतियोगितामा उपविजेता बनेको थियो। उक्त उमेरसमूहमा नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन।

एसियाली क्रिकेट परिषद्ले टेस्ट नखेल्ने राष्ट्रमध्ये उमेर समूहमा उत्कृष्ट छ टोलीबीच पहिलो पटक राउन्ड रोविनका आधारमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो। टोलीमा नेपालसहित मलेसिया, ओमन, सिङ्गापुर, बहराइन र थाइल्यान्ड रहेका छन्। रासस

Leave a Reply

Your email address will not be published.