पूर्वमा पाँच लिम्बुवानवादी पार्टीको एकिकरण

Limbu-party

आधादर्जन भन्दा धेरै टुक्रामा विभाजित भएका लिम्बुवानबादी दलहरुको एकीकरण भएको छ। धनकुटाको भेडेटारमा भएको तेस्रो चरणको वार्तापछि पार्टी एकीकरण गर्ने सहमति भएको हो। तीन दिनदेखि चलेको वार्तापछि पार्टीको नाम, झण्डा र लिम्बुवान प्राप्तिको ९ बुँदे रोड्म्यापमा समेत तयार भएको बृहत लिम्बुवान एकता वार्ता समितिका संयोजक खगेन्द्र माखिमले बताए ।
लिम्बुवान आन्दोलन गरिरहेका पार्टीहरु नीतिगत भन्दा पनि ब्यक्तिगत घमण्डका कारण फुटेका थिए। आपसी विवाद र घमण्डलाई अन्त्य गरेर बृहत् एकता गर्न सफल भएको माखिमले बताए। कुमार लिङ्देनले नेतृत्व गरेको मञ्च सम्बद्ध संघिय लिम्बुवान राज्य परिषद, सन्जुहाङ्ग पालुङवाले नेतृत्व गरेको संघिय लिम्बुवान राज्य परिषद, वीर नेम्वाङले नेतृत्व गरेको लिम्बुवान मुक्ति मोर्चा, रामभक्त कुरुम्बाङले नेतृत्व गरेको लिम्बुवान मुक्ति मोर्चा नेपाल र कमल छाराहाङले नेतृत्व गरेको संघिय लोकतान्त्रि राष्ट्रिय पार्टीबीच एकीकरण पछि पार्टीको नाम संघिय लिम्बुवान पार्टी नेपाल राख्ने सहमति भएको छ। पार्टीको झण्डा मञ्च सम्बद्ध संघिय लिम्बुवान राज्य परिषदले प्रयोग गरेको झण्डा राख्ने सहमति भएको छ ।

पार्टी एकीकरणपछि पार्टीको अध्यक्ष कुमार लिङ्देन, सर्वमान्य नेता वीर नेम्वाङ, बरिष्ठ नेता सन्जुहाङ्ग पालुङवा र कमल छाराहाङ, उपाध्यक्षमा रामभक्त कुरुम्बाङर खगेन्द्र माखिम, महासचिवमा सुर्य माखिमलाई बनाईएको छ । यी पाँचवटै पार्टीको केन्द्रिय समितिलाई महाधिवेसन सम्म जस्ताजस्तै समायोजन गर्ने निर्णय भएको छ। यसो गर्दा तीन सय भन्दा बढीको केन्द्रिय समिति बन्ने बताइएको छ। पार्टी एकीकरण पछि प्रतिक्रिया दिँदै एकिकृत पार्टीका अध्यक्ष कुमार लिङदेनले आपसी असमझ्दारीले विभाजित भएको पार्टी एकिकरण भएकाले पहिचानबादी आन्दोलनलाई बल पुगेको बताए। यो वार्तामा लिम्बुवान पक्षधर बुद्धिजीविहरु डा. चन्द्रकुमार शेर्मा, डा. कृष्पाटण भट्टचन, भवानी बराल, कमल तिगेला, मन्जुल याक्थुङवा लगायतले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए।

२०४३ सालमा स्थापना भएको लिम्बुवान मुक्ति मोर्चा र २०६२ सालमा स्थापना भएको संघिय लिम्बुवान राज्य परिषदबाट विभजित भएका पार् मध्ये अब पल्लो किराँत लिम्बुवान राष्ट्रिय मञ्च मात्रै एकिकरण हुन बाँकी रहेको छ। पार्टी एकिकरण पछि तत्कालै बसेको केन्द्रिय समितिको बैठकले लिम्बुवान आन्दोलन परिचालन समितिको संयोजकमा सन्जुहाङ पालुङवा, राष्ट्रिय मोर्चा सम्पर्क र समायोजन संयोजक खगेन्द्र माखिम, संगठन समायोजन रामभक्त कुरुम्बाङ , जनसंगठन संयोजक प्रदिप थाम्सुहाङ र महिला विभाग संयोजक शान्ता योङहाङलाई जिम्मेवारी दिएको छ ।

नागरिकन्युज साभार/तस्बिर : अनलाइनखबर

Leave a Reply

Your email address will not be published.