अमन चौधरी– शनिबार ‘माघी मूल आयोजक समिति’ले २०७० को माघीमा भएको खर्च विवरण सार्वजनिक गर्यो। खर्च विवरणअनुसार मूल आयोजक समितिले १३ लाख ६८ हजार ८ सय आम्दानी गरेको देखिन्छ। जसमा ११ लाख २५ हजार ५ सय ८५ खर्च गरी २ लाख ४३ हजार २ सय १५ रुपियाँ बचाएको देखिन्छ।
विवरण पल्टाउँदै गर्दा मनमा अनेक प्रश्न पैदा गर्छ। जुन अहिले मेरो मनमा पैदा भइरहेको छ। सबैभन्दा दिक्क त खाजा शीर्षक हेर्दा लाग्छ। एक लाख ७० हजार रुपियाँ खर्च भएको खाजा शीर्षक एक ठाउँमा नभएर प्रत्येक पानामा भेटाउन सक्नुहुन्छ। त्यतिमात्र कहाँ हो र एउटै खर्च पनि दुई ठाउँमा भेटाउन सक्नुहुन्छ।
पत्रकारहरुको खाजा खर्च एक ठाउँमा १७ हजार उल्लेख छ भने अर्को ठाउँमा १० हजार पाँच सय उल्लेख छ। दुबैलाई जोड्दा २७ हजार ५ सय खाजा खर्च पत्रकारलाई मात्र गरिएको देखिन्छ। अब अनुमान लगाउनुस्, माघी महोत्सवमा कति पत्रकार रिपोर्टिङका लागि आए? सामान्यतया रिपोर्टिङका लागि आउने पत्रकारलाई आयोजकले खाजाको व्यवस्था गरेको हुन्छ। एक जना पत्रकारलाई दुई सयको कुपन दरले हिसाब निकाल्ने हो भने १३७.५ जना पत्रकारले खाजा खाएको अनुमान लगाउन सकिन्छ। त्यस्तै सयको हिसाब गर्ने हो भने २७५ जना पत्रकारले खाजा खाएको अनुमान लगाउन सकिन्छ। तर मूल आयोजक समितिका अध्यक्ष सुमन चौधरी भन्छन्, ‘पत्रकारका लागि १७० कुपन छुट्याएका थियौं।’
त्यतिमात्र हैन, सिदार्थ फुडल्यान्ड शीर्षकमा दुई पटक तीन हजार ८ सय खर्च भएको देखिन्छ। थारु कल्याणकारिणी सभाले आयोजना गरेको थारु सभासद्को सम्मान कार्यक्रममा सो रकम खर्च गरिएको अनुमान लगाउन सकिन्छ। तर एउटै खर्च दुई ठाउँमा किन?
त्यतिमात्र हैन पैसा लिन अर्थमन्त्रालय जाँदासमेत ५ हजारको खाजा खाएको देखिन्छ। पर्यटन मन्त्रालय जाँदा ८ हजारको खाजा खाएका छन्। मन्त्रालय जाँदा देखिएको १३ हजार खर्च पनि हचुवा तालको देखिन्छ।
प्रयोग नै नहुने जेनेटरको खर्च हेर्दा त झन् उदेक लाग्छ। अपर्झट बत्ती गइहाले विकल्पको लागि ल्याइएको जेनेटरमै ५० हजार खर्च भएको देखिन्छ। त्यतिमात्र हैन, जेनेटर मिस्त्री, विद्युत मिस्त्री, साउन्डलगायतका मिस्त्रीहरुलाई २५ सय दरले खाजा दिइएको उल्लेख छ। कति जनालाई भनेर उल्लेख छैन। अब अनुमान लगाउनुस् ५० हजार भाडा भएको जेनेटर कति केभीको थियो? कति जना मिस्त्रीलाई २५-२५ सयको खाजा खुवाए?
गत वर्षभन्दा यस वर्षको साउन्ड सिस्टम झूर भएको स्वयं कलाकार र सहभागीहरुले गुनासो गरेका थिए। तर आयोजकले सो शीर्षकमा एक लाख २५ हजार खर्च गरेको देखिन्छ। एउटा राम्रो साउन्ड सिस्टमको एक दिने भाडा कति पर्छ भन्ने कुरा त न्युरोडतिर गएर सोध्नुभयो भने सजिलै पाउनुहुन्छ।
त्यस्तै पर्यटन बोर्डबाट आएको १ लाख ६५ हजार त उसैमार्फत् सबै सकिएको उल्लेख छ। जबकि पर्यटन बोर्डले पत्रकार सम्मेलनका निम्ति सितैमा हल र चिया/बिस्कुट खुवाउँछ। उसकै खर्चमा ब्यानर र क्याटलक छपाउँछ। त्यतिमै त्यत्रो रकम सकिन्छ त? प्रश्न यहाँ पनि उठ्नसक्छ। यी खर्च पर्यटन बोर्डको रकमले भएको हो भने फेरि छुट्टै ब्यानर खर्च र छपाइ खर्च किन त? खर्च विवरणमा २४ हजार ब्यानर र छपाइमा २६ हजार पाँच सय रुपियाँ खर्च भएको उल्लेख छ।
त्यतिमात्र हैन, संस्कृति विभाग प्रमुख मीनराजको नाममा ९५ हजार रुपियाँ कलाकारको नाममा देखिएको छ। माघी महोत्सवमा कति कलाकारले आफ्नो कला देखाए त? ५० जना भन्दा धेरै त नहोलाजस्तो लाग्छ। ५० जना भए एक जनाको भागमा १९ सय पर्न आउँछ। तर एक जनालाई ६ सयका दरले बाँडिएको एक सहभागीले बताए। शंखमुलमा सो रकम बाँडिदा मुस्किलले २५-३० जना सहभागी थिए। त्यसो हो भने बाँकी रकम कहाँ गए त? आयोजक समितिका एक जनाले ८५ हजार रकम कलाकारलाई बाँडेको बताए। त्यसो हो भने १० हजार कहाँ गए त? कि विभागका ब्यक्तिहरुले पारिश्रमकि लिए। यदी लिए भने माघीमा खटिएका अरुले पारिश्रमिक पाउने कि नपाउने? प्रश्न यहाँ पनि खडा हुन्छ।
त्यस्तै ब्यक्तिगत नामबाट पनि प्रशस्तै खर्च देखिएका छन्। चन्द्रप्रसाद चौधरीमार्फत् २४ हजार, कमल नारायण चौधरीमार्फत् ११ हजार, जितेन्द्र चौधरीमार्फत् ३० हजार देखिएको छ। टिकट बिक्रेताहरुको खर्च पनि असमान्य छ। उनीहरुका लागि २५ हजार खर्च भएको देखिन्छ।
सबैभन्दा धेरै अनियमितता त टिकट बिक्रीमा भएको अनुमान लगाउन सकिन्छ। आम्दानीअन्तर्गत टिकट बिक्रीबाट ४ लाख ५० हजार आएको देखिन्छ। प्रवेश शुल्क ४० ले सो रकमलाई भाग गर्ने हो भने ११ हजार दुई सयले मात्र माघी महोत्सव अवलोकन गरेको देखिन्छ। तर माघी आयोजक स्वयंले त्यतिबेला कम्तिमा पनि ३० हजारले माघी महोत्सव अवलोकन गरेको बताएका थिए।
३० हजार हैन, २० हजारकै अनुमान लगाउने हो भने यहाँ करिब चार लाख रुपियाँ अनियमितता भएको देखिन्छ। पैसा अनियमितता गरेकै कारण हिसाब किताब देखाउन ढिलाइ गरिएको आयोजक समितकै एक ब्यक्तिले बताए। खर्च विवरण हेरेपछि उनलाई माघी महोत्सवमा धेरै रकम अनियमितता भएको हुनसक्ने शंका लागेको बताए।
खर्च विवरण यहाँ हेर्नुस्: