माघी महोत्सवको खर्चप्रति बैठकमा चर्काचर्की, खाजामा मात्र एक लाख ७० हजार खर्च

काठमाडौं- राजधानीमा हरेक वर्ष मनाइने ‘माघी महोत्सव‘मा कति खर्च हुन्छ? महोत्सवको ‘मूल आयोजक समिति’ले कुन कुन शीर्षकमा कति खर्च गर्योच? सायद यसबारे तपाईँलाई पनि जिज्ञासा लागेको हुनुपर्छ। यही खर्च विवरण तपाईँहरुमाझ थारुवान डटकमले सार्वजनिक गर्दैछ।
गत शनिबार मूल आयोजक समितिले पुरानो बानेश्वरस्थित थारु कल्याणकारिणी सभाको केन्द्रीय कार्यलयमा महोत्सवको सात महिनापछि खर्च विवरण सार्वजनिक गर्यो । खर्च विवरणअनुसार सबैभन्दा बढी खर्च ‘खाजा’मा गरेको देखिएको छ। खाजामा मात्र एक लाख ७० हजार रुपियाँ खर्च देखिएको छ। यो खर्च विभिन्न शीर्षकमा देखाइएको छ। सबैभन्दा धेरै स्वयंसेवकलाई ३० हजार खर्च देखिएको छ। त्यस्तै पत्रकारहरुलाई २७ हजार पाँच सय, अतिथि तथा प्रमुख अतिथिहरुलाई १७ हजार पाँच सय खर्च देखिएको छ। अन्य ब्यक्तिको नामबाट पनि खाजा खर्च देखिएको छ।
त्यस्तै माघीमा गीत संगीतमार्फत् मनोरञ्जन प्रदान गर्ने कलाकारहरुलाई ९५ हजार रकम बाँडिएको बैठकमा जानकारी गराइयो। सो रकम संस्कृति विभागका मीनराज चौधरीबाट बाँडिएको विवरणाम उल्लेख छ।
त्यस्तै टेन्ट, स्टेज, कुर्सी, टेबल खर्च २ लाख ५५ हजार २५ रुपियाँ देखिएको छ भने साउन्ड सिस्टमको १ लाख २५ हजार देखिइएको छ। जेनेटर भाडा पनि ५० हजार ५ सय ३० रुपियाँ देखिएको छ। पर्यटन बोर्डबाट आएको १ लाख ६५ हजार रकम उसैमार्फत् सबै खर्च भएको देखिएको छ। विवरणमा ब्यानर लेखाइ र ब्रोसर छपाइको ५० हजार ६ सय ५० रुपियाँ खर्च भएको देखिन्छ। जबकि ती दुई शीर्षकमा पर्यटन बोर्ड आफैंले खर्च गर्दै आएको छ।

महोत्सवबाट दुई लाख ४३ हजार आम्दानी
२०७० सालमा माघी महोत्सव मूल आयोजक समितिले दुई लाख ४३ हजार २ सय १५ रुपियाँ आम्दानी गरेको छ। थारु सम्बन्धी २५ संघसंस्था सहभागी रहेको माघी मूल आयोजक समितिको मुखिया थारु कल्याणकारिणी सभा (उपत्यका समिति) हो। आम्दानी रकम सोही सभाको बैंक एकाउन्टमा जम्मा भएको आयोजकका अर्थ समिति प्रमुख पृथ्बीचन्द चौधरीले बताए।
त्यस्तै महोत्सवमा नेपाल सरकार विभिन्न कम्पनी र टिकट बिक्रीबाट १३ लाख ६८ हजार ८ सय आम्दानी भएको छ भने ११ लाख २५ हजार ५ सय ८५ रुपियाँ खर्च भएको विवरणमा उल्लेख छ।
नेपाल सरकारले पाँच लाख, पर्यटन बोर्डबाट एक लाख ६५ हजार, ६३ वटा स्टल बिक्रीबाट १ लाख ५६ हजार ५ सय आम्दानी भएको देखिन्छ। त्यस्तै ११ हजार २ सय टिकट बिक्री गरेर ४ लाख ५० हजार रकम आएको विवरणमा उल्लेख छ। त्यस्तै आदिवासी जनजाति महासंघबाट ५५ हजार आएको देखिन्छ।

बैठकमा चर्काचर्की
मूल आयोजक समितिले जथाभावी खर्च गरेको भन्दै बैठकमा सहभागीहरुले चर्काचर्की गरे। एउटै शीर्षकको रकम दुई दुई ठाउँमा उल्लेख गरेर अनियमितता गरेको उनीहरुले आरोप लगाए। विवरणमै हेर्ने हो भने पत्रकारहरुलाई दुई ठाउँमा १७ हजार र १० हजार पाँच सय खाजा खर्च गरिएको उल्लेख छ। त्यस्तै सिदार्थ फुडल्यान्ड पनि दुई पटक ३ हजार ८ सय, ३ हजार ८ सय विवरणमा उल्लेख छ। यहाँसम्म कि अर्थमन्त्रालय जाँदा, पर्यटन मन्त्रालउ जाँदा १३ हजार खाजामा खर्च गरेको देखिएको छ। त्यस्तै वियर/भोटका/साउन्ट स्टाफ/ विद्युत मिस्तीहरुलाई १० हजार खाजा खर्च भएको विवरणमा उल्लेख छ।

विस्तृत पढ्नुस् : माघी महोत्सवको खर्च ‘जेपिटी’

Maghi Bibaran-1

 

Maghi Bibaran-2

Maghi Bibaran-3

Maghi Bibaran-4

Leave a Reply

Your email address will not be published.