दाङ- उनीहरूको घर छैन, अभिभावक छैनन्। बाल्यकाल अर्काको घर काम गरेर बित्यो। आफनो भन्ने कोही नभएका यस्ता ११० बालिका बस्छन् सोनपुरको नर्तीस्थित लावाजुनी छात्रावासमा। ती पूर्वकम्लरीलाई थप उत्साह दिन शनिबार पूर्वसभासद शान्ता चौधरी पुगिन्। उनीसँग ८ वर्षको उमेरदेखि १८ वर्षसम्म कम्लरी बसेको अनुभव छ। उनले त्यहाँ आफनो कम्लरी जीवनका अनुभवहरू सुनाइन्।
शान्ताले छात्रावासका बालिकालाई कापीकलम र ओढने ओछयाउने कपडा पनि उपहारका रूपमा लगेकी थिइन्। ‘म पनि तिमीहरूजस्तै कमलरी बसेको हुँ तर मैले पढन पाइन,’ उनले भनिन्, ‘तिमीहरूले पढने अवसर पाएका छौं। आफनो कोही छैन भनेर निराश नहुनु। मजस्ता मानिसलाई हेरेर संघर्ष गर्नुपर्छ। पाएको अवसरलाई सदुपयोग गर्नुपर्छ।’
छात्रावासका कतिपय बालिका शान्ता आफंैले उद्धार गरेका थिए। शान्तासँग अनुभव साटासाट गर्न पाउँदा मुक्त कम्लरी बालिका निकै खुसी भए। ‘हाम्रो बाल्यकाल कम्लरी बसेर बित्यो। ढिलो पढन पाएका छौं। अब हामीलाई पढाइमा निरन्तर सहयोग चाहिन्छ, ‘छात्रावासकी अगुवा महिमा चौधरीले भनिन्, ‘अभिभावक नभए पनि हामीलाई उत्साह दिन आउने नै हाम्रा अभिभावक हुन्। हामीले जीवनमा संघर्ष गर्नुपर्ने शिक्षा पाएका छौं।’ शान्ताले कम्लरी प्रथाविरुद्ध आफैं रचना गरेको कविता छापेर विपन्न बालबालिकालाई कापी वितरण गर्ने गरेकी छन्। ‘हामी आफैं कमाउँला सम्पत्ति र शान। पढाइदिनुस् बुवाआमा दिनुस् स्कुल जान। अशिक्षा र अज्ञानताले पायौं। सधंै धोका पढन, लेख्न पाए खुल्थ्यो प्रगतिको ढोका,’ भन्ने सन्देश लेखिएको कापी वितरण गर्ने गरेको चौधरीले बताइन्।
अवसर पाएमा विपन्न वर्गका बालबालिका पनि राज्यका महत्त्वपूर्ण क्षेत्रमा सहभागी हुन सक्छन् भन्ने सन्देश लेखेर कापी वितरण गरेको उनले बताइन्। ‘कम्लरीदेखि सभासदसम्म’ आत्मकथा लेखेर चर्चा कमाएकी चौधरीले पश्चिम तराईमा दास प्रथाका रूपमा रहेको कम्लरी प्रथा अन्त्य गर्न जीवनभर संघर्ष गर्ने बताइन्। कम्लरी बसेकै अवस्थामा लुकीलुकी भूमि अधिकार आन्दोलनमा लागेर शान्ता दुई वर्ष जिल्ला भूमि अधिकार मञ्चको अध्यक्ष भएकी थिइन्। उनले दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा रहेका कमैया, कम्लरी र भूमिहीनलाई संगठित गर्दै आन्दोलनलाई प्रभावकारी बनाएकी थिइन्।
दुर्गालाल केसी/कान्तिपुर दैनिक साभार