बाढी आउने खतरा बढेपछि सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिए

thumb862-28इटहरी- सिन्धुपलाञ्चोक जिल्लास्थित सुनकोसी नदी पहिरोले थुनिएको घटनाले सुनसरी जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। सुनकोसी नदीमा आएको बाढी सिधै सप्तकोसी नदीमा आइपुग्ने भएकाले सुनसरीमा पनि उच्च सुरक्षा सतर्कता अपनाउनुपरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी सुदर्शनप्रसाद ढकालले जानकारी दिए।
बिहानैदेखि प्रमुख जिल्ला अधिकारी ढकालको नेतृत्वमा सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला कार्यालयका प्रमुखहरूको बैठक बसेर विसं २०६५ साल भदौ २ गते तटबन्ध भत्किएर भएको जनधनको नोक्सानी जस्तो नहोस् भनेर उच्च सुरक्षा सतर्कता अपनाइएको हो।
भारत विहार राज्यको सुपौल जिल्लाका जिल्ला प्रमुख लक्ष्मीप्रसाद चौहानसँग पनि सम्पर्क स्थापित गरेर उहाँको निर्देशनमा कोसी ब्यारेज प्रमुख राजेश कुमारलाई ब्यारेजमा उच्च सतर्कताका साथ नियन्त्रण सावधानी अपनाउन भनिसकिएको बताइएको छ ।

नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीले पनि सम्बन्धित जिल्लामा रहेका नेपाली सेनालाई भोटेकोसी, सुनकोसी, दूधकोसी हुँदै सप्तकोसी नदी आसपासका बस्तीलाई जोखिम हुन सक्नेतर्फ सतर्क रहन सूचना प्रवाहका लागि परिचालन गरेको छ।

सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा बसेको सुरक्षा समितिको बैठकले पनि अति संवेदनशील क्षेत्रका रूपमा रहेका बराहक्षेत्र, महेन्द्रनगर, प्रकाशपुर, मधुवन, पश्चिम कुशाहा र हरिपुर तथा कोसी ब्यारेज क्षेत्रमा बसोवास गर्दै आएका मानिसलाई उच्च सजगताका साथ बस्न सूचित गर्न प्रहरी प्रशासन परिचालन गरेको बताइएको छ।

भोटेकोसीको पहिरो अवरोध भत्किएर एक्कासि कति पानी आउन सक्छ भन्ने प्राविधिक अनुमान गर्ने कार्यसमेत भइरहेको बताइएको छ । कति पानी आउँदा ब्यारेजका ५६ ढोकामध्ये कति वटा ढोका खोल्दा सहजै रूपमा पानी जान सक्छ र ब्यारेजलाई खतरा नहुन सक्छ भनेर भारत सुपौलका जिल्ला प्रमुख चौहानले प्राविधिक टोली नै परिचालन गरेको पनि सुनसरीका प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए।

सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिए
सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ। सरकारको निर्देशन अनुसार ब्यारेजका ढोका खोल्न सुरु गरिएको सुनसरीका प्रहरी प्रमुख मसहुद आलम खाँले बताए। थुनिएको पानि आउँदा हुन सक्ने खतरालाई ध्यानमा राख्दै सरकारले ब्यारेजका ढोका खेल्न निर्देशन दिएको थियो।

पानी थुनिएको ठाउँबाट पानी वराह क्षेत्रमा आइपुग्न करिव ६ घण्टा लाग्छ। वहार क्षेत्रबाट ब्यारेज सम्म पानि करिव ४ घण्टा लाग्छ।

Leave a Reply

Your email address will not be published.