सुनकोशी नदीमा आएको पहिरोमा परी ८ जनाको मृत्यु, तीन सय बढी बेपत्ता

Landslideसिन्धुपाल्चोकको जुरे भन्ने ठाउँमा गएको भीषण पहिरोमा परी मृत्यु हुनेहरूमध्ये आठ जनाको शव फेला परेको छ। तीमध्ये छ जनाको सनाखत भएको छ। सनाखत हुनेहरूमा बदासे–१ का ४० वर्षीय अभिषेक श्रेष्ठ, माङ्खा–१ का १८ वर्षीया आष्मादेवी श्रेष्ठ, सोही वडाका १७ वर्षीया रामदेवी श्रेष्ठ र ४० वर्षीया गणेशमाया श्रेष्ठ रहेका प्रहरी नायब उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए।
सोही वडाका ३० वर्षीया विमला श्रेष्ठ र ३५ वर्षीय श्याम श्रेष्ठको यसअघि नै सनाखत भएको थियो। अन्य दुई जनाको सनाखत हुन बाँकी छ।
पहिरोग्रस्त क्षेत्रबाट एकजना बेल्जियम नागरिकसहित १६ जना घाइतेको उद्धार गरिएको उनले जानकारी दिए। पहिरोग्रस्त क्षेत्र नजिकैको धुस्कुन गाविसका प्रत्यक्षदर्शी स्थानीय शिक्षक पृथ्वीजङ्ग पाण्डेले नदी थुनिएर बनेको तालमा चौपायाहरू छट्पटाइरहेको देखिएको बताए।

त्यस्तै घटनामा १६ जनालाई जिवितै उद्धार गरिएको थियो। घाइतेहरुलाई राजधानीका विभिन्न अस्वतालमा भर्ना गरिएको छ। सिन्धुपाल्चोक प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार कम्तिमा पनि ३ सय जना बेपत्ता छन्।

sushil-koiralaप्रधानमन्त्रीद्वारा सुनकोसीको निकास दिन निर्देशन
प्रधानमन्त्री सुशील कोइरालाले सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले अवरुद्ध भएको सुनकोसी नदीलाई सावधानीपूर्वक सहज र सुरक्षित निकास दिएर जनधन तथा भौतिक संरचना जोगाउन गृह मन्त्रालयलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री कोइरालाले राम्चे–५ को जुरेमा गएको ठूलो पहिरोले नदी थुनिएर नदीको सतह १३० मीटरभन्दा माथि आएको र त्यसले जुरेका घरहरु डुबानमा पार्नुको साथै राजमार्गसमेत अवरुद्ध भएको जानकारी आएपछि सो निर्देशन दिएका हुन्।
प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीद्वारा आज बिहान जारी गरिएको विज्ञप्तिमा    प्रधानमन्त्री कोइरालाले सुरक्षाका सबै निकाय, स्थानीय प्रशासन र प्राकृतिक प्रकोप व्यवस्थापनसँग सम्बन्धित निकायबीच आवश्यक समन्वय गरी नदी तालिएको स्थान वरपर र नदीको तल्लो तटीय किनाराका बस्तीका बासिन्दाहरुलाई सुरक्षित क्षेत्रमा सार्न निर्देशन दिनुभएको उल्लेख छ।
प्रधानमन्त्री कोइरालाले सावधानीपूर्वक सुरक्षितरुपमा तालिएको नदीको निकास खोल्न र तालिएको स्थानको तल्लोतटीय क्षेत्रमा सुरक्षा सावधानी अपनाउन स्थानीय जनतालाई सचेत गराउन पनि निर्देशन दिनुभएको संयोजक अधिकारीले जानकारी दिए।

सुनकोसीमा थुनिएको पानीलाई सुरक्षित रूपमा निकास दिन उच्च प्राथमिकता : गृहमन्त्री
उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सुनकोसीमा पहिरो गएर थुनिएको पानीलाई सुरक्षित रूपमा निकास दिनका लागि सरकारले उच्च प्राथमिकताका साथ सबै सुरक्षा निकाय र राज्य संयन्त्रलाई प्रयोग गरेको बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गौतमले पहिरोका कारण बाँधभन्दा माथि डुबान भएको क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा लाने कार्य भइरहेको जानकारी दिए। बाँधभन्दा तलतिर क्षति हुने सम्भावनालाई न्यूनीकरण गर्ने र जनतालाई सुरक्षित स्थानमा पुर्याथउने काम भइसकेको उनले बताए। bam_dev_gautam1
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भोलि हुने भ्रमणलाई यो घटनाले कुनै असर नगर्नेसमेत उनले बताए। उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरूसँग आज बालुवाटारमा आकस्मिक कुराकानी गरेर नदीलाई सुरक्षित तरिकाले बहाव सुचारु गर्न आवश्यक कदम चाल्न निर्देशन दिइसकेको जानकारी दिए।
पानी निरन्तर थुनिएर प्राकृतिक विपत्तिको जोखिम अझ बढेको अवस्थामा भारत र चीन सरकारसँग सहयोगका लागि आह्वान गरिसकेको र उनीहरूले प्राविधिक सहयोग गर्न तयार रहेको नेपाल सरकारलाई प्रतिबद्धता जनाइसकेको उनले बताए।
नेपालको प्रयासले मात्र थुनिएको पानी सुरक्षित तवरले निकाल्न नसकेको खण्डमा मात्रै भारत र चीनको सहयोग लिने उनको भनाइ थियो। पानीको बहावका कारण कोसीको बाँधसमेत प्रभावित हुने भएकाले सो विषयमा भारत सरकारलाई सतर्कता गराइएको र कोसी बाँधको सबै ढोका खोल्न अनुरोध गरिएको बताए।
त्यस क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा जान सरकारले आह्वान गरिसकेको र उनीहरू सुरक्षित स्थानमा पुगिसकेको, बाह्रबिसेसम्म पानी पस्न लागेको, २३ लाख क्यूविक मिलिलिटर पानी जम्मा भएको र धेरै घरहरू डुबेको जानकारी दिँदै अहिलेको अवस्थामा पुरिएको ढिस्कोभन्दा माथि पानीको बहाव आइपुग्न अझै पाँच घण्टा लाग्ने बताइएको छ।
नेपाल सरकार र निजी क्षेत्रसँग भएका सबै हेलिकप्टरलाई अन्यत्र उडान बन्द गरी त्यस क्षेत्रमा उद्धारका लागि खटाइएको पनि उनले बताए। रासस

Leave a Reply

Your email address will not be published.