प्रबन्ध सञ्चालक घिसिङको पुनःवहालीको माग

काठमाडौँ- नेपाल विद्युत प्राधिकरण र कर्मचारी सञ्चय कोषका कर्मचारी सङ्गठनहरूले चिलिमे जलविद्युत कम्पनीका प्रबन्ध सञ्चालक कुलमान घिसिङको पुनःवहालीको माग गरेका छन् । नेपाल विद्युत प्राधिकरणका राष्ट्रिय कर्मचारी सङ्घ, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, कर्मचारी कल्याणकारी परिषद्, कर्मचारी सङ्घ तथा कर्मचारी सञ्चय कोषका नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका प्रतिनिधिले आज यहाँ संयुक्त पत्रकारसम्मेलन गरी कम्पनीका सञ्चालक  घिसिङको सरुवाले परियोजना मासम्पन्न गर्न समस्या आउने भन्दै अविलम्ब पुर्नवहालीको माग गरेका हुन् ।
नेपाल विद्युत प्राधिकरणका राष्ट्रिय कर्मचारी सङ्घका अध्यक्ष सिताराम थापाले सो कम्पनीले माथिल्लो साञ्जेन, साञ्जेन, रसुवागढी, मध्य भोटेकोसी गरी २७० मेगावाट विद्युत उत्पादनका लागि पूर्वाधार निर्माणको क्रममा रहेको र परियोजनाअनुसार कार्य सुचारु भइरहेको अहिलेको अवस्थामा सञ्चालक घिसिङलाई सरुवा गर्न नहुने बताउनुयो ।
नेपाल विद्युत प्राधिकरण कर्मचारी सङ्घका अध्यक्ष जनार्दन भट्टराईले स्वदेशी श्रम र पूँजीको संरक्षणका लागि राजनीतिक हस्तक्षेपको अन्त्य गर्नुपर्नेमा जोड दिँदै आयोजनाको निर्माण प्रभावकारी रुपमा अगाडि बडाउने क्षमता राख्ने सञ्चालक घिसिङ्लाई सरुवा गराएमा आफूहरू आन्दोलित हुने बताउनुभयो ।
कर्मचारी सञ्चय कोषका नेपाल वित्तीय संस्था कर्मचारी सङ्घका अध्यक्ष धर्मप्रसाद खनालले सो परियोजनामा राजनीतिक हस्तक्षेप नगर्ने सर्तमा सञ्चय कोसले करिव पाँच लाख कर्मचारीको सञ्चितिबाट रु १६ अर्ब लगानी गरेको भन्दै सञ्चालक घिसिङलाई सरुवा गरिए सो लगानी जोखिममा पर्ने विचार व्यक्त गर्नुभयो ।
करिब रु ३३ अर्बको लागतमा सन् २०१७ सम्ममा सो परियोजना सम्पन्न गर्ने योजना रहेको बताइएको छ। रासस

Leave a Reply

Your email address will not be published.