कृष्णराज सर्वहारी- पुसको तेश्रो साता कैलालीको भादा महोत्सवमा सहभागी हुँदाको क्रममा मैले जीवनमा चौथोपल्ट मोबाइल हराएँ । एक सञ्चारकर्मीलाई मोबाइल हराए नकिन्नुको विकल्प हुन्न । गोजी हरियो भयो भने नयाँ मोबाइल त तुरुन्त किन्न सकिन्छ, तर सेभ गरिएका नम्बर संग्रह गर्न निकै समय लाग्छ । ती पनि विस्तारै फेला पर्छन् । तर जीवनमा कहिलेकाहीँ केही यस्ता सरसमान हराउँदा रहेछन्, ती पुनः प्राप्त गर्न सकिन्न, त्यसले निकै लामो समयसम्म पोल्दो रहेछ ।
मोबाइल हराएको पीडाले म रन्थनिएको थिएँ । लगत्तै अर्को अमूल्य वस्तु हराउँदा मणि हराएको सर्पझैं भएँ । त्यो अमूल्य वस्तु थियो एक स्वर्गीय कविको कविता संग्रहको पाण्डुलिपि । मैले त्यसबेला नेपालगञ्जका शायर गजलकार अब्दुल लतिफ शौकलाई सम्झिएँ, जसले वर्षौदेखि रचना गरेका संग्रहको पाण्डुलिपि हराएका थिए । एउटा रचना जन्मिन महिनाँै लाग्न सक्छ । फेरि त्यस्तो भाव आउने सम्भावना रहन्न, जो पुरानै शैलीको हुबहु लेख्न सकियोस् । शौक साहेबले पाण्डुलिपिको माया मारे । तर उनी जिउँदो जाग्दो छन्, उनलाई नयाँ नयाँ रचना गर्न पुनः सम्भव भयो । यहाँ त एक स्वर्गीय कविको पाण्डुलिपि हराएको थियो, जो पुनः ब्यूँतिएर कविता सिर्जना गर्न सम्भव थिएन । त्यस्तो अमूल्य वस्तु हराएपछि म धेरै दिन निदाउन सकिनँ । यहाँ ती कविता लेख्ने स्वर्गीय कविको बारे प्रसंग उप्काउनु प्रासंगिक ठान्छु ।
२०७० जेठको दोश्रो साता हुनुपर्छ । पाटनको ल्याण्ड लाइनबाट एउटा फोन बिहानै आयो– ‘म रमेश चौधरी । तपाईको गाउँले भाइ दुलबहादुरको छोरा । पुस्तक निकाल्ने सोंचमा छुँ । तपाईसँग केही सल्लाह चाहन्छु । भेट्न कहिले आउँ ?’ मैले भने– ‘मेरो १०–५ को कुनै अफिस छैन । तिम्रो फुर्सद अनुसार जहिले आए पनि हुन्छ, तर आउँदैछु भनेर जानकारी गराएर आउनु ।’ उसले ‘के अहिल्यै आए पनि हुन्छ ?’ भनेर सोध्यो, मैले ‘हुन्छ’ भनेपछि, ऊ फोन गरेको आधा घण्टाभित्रै कीर्तिपुरको मेरो डेरा पैल्याउँदै आइपुग्यो । ऊ साइकल चढेर आएको थियो । साइकल नयाँ देखिन्थ्यो, तर ताल्चा थिएन, मैले घरको ग्यालरीमा साइकल राख्न लगाएँ । किनकी काठमाडौँमा मैले पनि दुईपटक साइकल हराएको छुँ ।
दाङदेउखुरीस्थित मेरो गाउँ चैलाही–६, छुट्की घुम्नामा अहिलेसम्म मबाहेक पुस्तकाकार रूपमा कसैले कृति प्रकाशित गरेको छैन । त्यसैले, कविता संग्रहको पाण्डुलिपि बोकेर आउने रमेश भाइ, जो संग्रह छाप्न लालयित पनि थियो, उसको जोश जाँग्र देखेर म औधी प्रफुलित भएँ । लौ एउटा साहित्यिक साथी भेट्टिएछ । चियाको चुस्की लिँदै हामीले बात मार्न थाल्याँै । आफ्नो समुदायको संगत नभएर होला, उसका सबै कविता नेपाली भाषामै थिए । उसको कविता मैले सर्रर पल्टाएँ, केही कविता पुनर्लेखन गर्नुपर्ने खालको थियो भने कही कविता परिपक्व कविले लेखका जस्ता चोटिला थिए । ऊ एसएलसी दिएर खाली समयमा हात्तहुत्त कविता संग्रह निकाली हाल्ने पक्षमा थियो । टाइप पनि मेरै जिम्मामा दिँदै उसले भन्यो– ‘दाजी टाइपमा लागेको खर्च म बेहोरौला, बरु सस्तो प्रेस पनि बुझिदिनु होला है ।’ मैले उसलाई हतार नगर्न भनें । कारण उसले भनेको थियो, उसले भर्खर मात्रै जग्गा किन्न घरमा पैसा दिएर आएको छ । एसएलसीको रिजल्ट लगत्तै उसलाई क्याम्पस पनि ज्वाइन गर्नु थियो । उसको कविता संग्रहको लम्बाइ एक सय पृष्ठभन्दा बेसी जान्थ्यो । कम्तीमा ५ सय प्रति छाप्दा पनि सेटिङसहित २५ हजार खर्च निस्किन्थ्यो । मैले सल्लाह दिएँ– ‘एकपल्ट यी कविता फेरि पढ । सबै संग्रहमा राख्न लायक छैनन् । कुनै कविता तिमी आफैलाई पनि मन पर्दैन होला, त्यसलाई किन टाइप गरिराख्ने ? मन परेका कविताका कुनै पंक्ति अमिल्दो लाग्छ भने त्यो पनि मिलाउ ? नेपालीमा टाइप गर्न जान्ने मेरो माइली छोरीको जाँच चलिरहेको छ । उसको दुई सातामा जाँच सकिन्छ । त्यसबेला तिमी कविता काँटछाँटमा समय लगाउ’ यति भनेर मैले पाण्डुलिपि उसैलाई फिर्ता दिएको थिएँ ।
जाँदा जाँदै उसले भनेको थियो– ‘जिल्ला बाहिर एउटा एफएममा कामको अफर आएको छ । पैसाको कुरा मिले उतै जान्छु होला । घरबेटीको मूर्तिको काम साह्रै गाह्रो छ, किचकिच पनि गरिरहन्छन् ।’ मैले सम्झेँ विहान उसले फोन गर्दा पृष्ठभूमिमा महिलाको स्वर टड्कारो सुनिन्थ्यो । होइन, कोसँग यतिबेरसम्म कुरा गर्छ यो केटा । उसलाई गाउँको दाई हो भनेर फोन काटेको थियो ।
रमेश चौधरी गाउँको स्कूलमा कक्षा ३ पढ्दापढ्दै ९ वर्षको उमेरमा पाटनको मंगलबजार धातुको मूर्ति बनाउने नेवार साहुको घरमा काम सघाउने र पढ्न भनी आएको थियो । अरुको घरमा काम गर्ने बालिकालाई कमलरी भनेझैँ ऊ कमलर थियो भन्दा फरक परोइन । साहुले धोखा दिएन, उसलाई पढायो । उ र साहुको छोरा एकै दर्जामा पढ्थे । साँझ बिहान काममा जोतिनु परे पनि ऊ साहुको छोराभन्दा राम्रो नम्बर ल्याएर पास हुन्थ्यो । विद्यालयको अतिरिक्त क्रियाकलापमा भाग लिन्थ्याँै । त्यसमा पनि जित्थ्यो । उसको कुरा गराईले ऊ एसएलसीको रिजल्टपछि क्याम्पस पढ्नभन्दा अब काम गर्नमा केन्द्रित हुने आभास दिन्थ्यो । उसले मेरो भान्सामा खाना खाने प्रस्ताव मानेन । साहुनीले गाली गर्छिन् भन्दै गयो ।
मसँग भेटको केवल ४ दिनपछि रमेश चौधरीका बुवा दुलबहादुरले घरबाट फोन गरे– ‘भतिज, छोरो कुन हस्पिटलमा सिकिस्त भर्ना छ रे । म नाइटमा आउँदैछु । तपाई पनि सहयोगको लागि आइदिनु पर्ला है ।’ यो खबरले मलाई विश्वास गर्न गाह्रो भयो । साइकल कुदाउँदै केही दिन पहिला मेरो डेरामा हँसीखुसी साथ कुराकानी गरेर विदा भएको युवक कसरी अस्पताल भर्ना हुने गरी एकाएक बिरामी प¥यो ? कि उ सवार साइकललाई कुनै सवारी साधनले ठक्कर दियो ? कि उसलाई साहुले नै टप्काइदियो ? यस्ता नानाथरी प्रश्न मेरा मनमा उब्जिए ।
बिहान लोकेशन दिए अनुसार म पाटनको सुन्धारा गएँ । काठमाडौँको सुन्धारा चिरपरिचित ठाउँ हो । पाटनको सुन्धारा पहिलो पटक सुन्दै थिएँ । रमेशका बाबु र उसलाई काममा त्यहाँसम्म पठाउन मध्यस्तता गर्ने देउखुरी नारायणपुरका लालताप्रसाद चौधरी मलाई लिन आए । तिनले जुन खबर सुनाए, म छाँगाबाट खसेझैँ भए । रमेशले पासो लगाएर आत्महत्या गर्यो, थाहा पाएर घरबेटीले बाँच्छ कि भनेर ग्राण्डी अस्पताल लिएर गए । ऊ बाँचेन, उसको लाश पाटन अस्पतालको मुर्दाघरमा छ । सत्यतथ्य के हो, घरबेटीसँग पनि बुझेर सहयोग गरिदिनु पर्यो । उसका बाबुले अश्रुश्रित स्वरमा कुरा सुनाए ।
हामीले रमेश सुत्ने कोठा खोल्न लगायौँ । प्रहरीको खानतलासीले उसका पुस्तक असरल्ल छरिएका थिए । मलाई दिन भनी ल्याएको पाण्डुलिपि उ सुत्ने खाटमै थियो । घर पुरानो मोडलको थियो । बीचमा दलिन राखेर टीनले छाइएको थियो । घरबेटीले देखाए, त्यही दलिनमा हो पासो लगाएको । उनले अगाडि भने– ‘हाम्रै छिमेकमा काम गर्न बस्ने सरिता तामाङसँग उसको प्रेम थियो । उ आइएमा पढ्छे । ती दुवैबीच खै के बिषयमा खटपट प¥यो, उसले आत्महत्या ग¥यो । सिरानीमा भेटिएको उसको चिठी प्रहरीले लगेको छ ।’ हामीले उसको प्रेमिकासँग भेट्न चाह्यौं, तर तिनी काभ्रे गाउँमा थिइन् ।
हामी सरासर जावलाखेल प्रहरी चौकी गयौँ । मेरै गृहजिल्ला दाङका विश्व खड्का त्यहाँ इन्सपेक्टर रहेछन् । एक असईसँग कागजपत्र मागेर हेर्न भने । हामीले चिठी हे¥यौँ । आत्महत्या गर्नु अघिको राती ११ बजेर २७ मिनेटमा उसले चिठी लेखेको थियो । चिठी लेख्नु अघि मितिको वरिपरि कहाँबाट चिठी लेखौ भनेर नफुरेर हो कि निकै पल्ट डटपेनको रिफिलले केरमेट गरेको थियो । उसले बाआमाको नाममा चिठी लेखेको थियो । अन्जानमा एक केटीसँग प्रेममा परेको र अव आफूलाई बाँच्न मन नलागेकाले यो संसार छाडेर जाँदैछु भन्ने बेहोरा थियो । दाई दिदी (घरबेटी) हरुलाई अरुले शंका नगर्न हुन भनिएको थियो । उनीहरुले पढाइ लेखाई ठूलो बनाएकोमा धन्यवाद भनिएको थियो । साथै, आफूले सपना साँचेर राखेको कविता संग्रह पे्रेमिका सरिता (सरु)को नाममा समर्पण गरेर छाप्न भनिएको थियो । उसको अर्को चिठी प्रेमिकाको नाममा पनि भेटियो । त्यसमा तिमी खुशी भएर बाँच, भन्ने कामना गरिएको थियो ।
उसका कविताका डायरी बाबु आमाले घर ल्याए । घरबेटीले उसको अन्तिम इच्छा पूरा गरिदिन पुस्तक प्रकाशन गरिदिने तारन्तार मकहाँ खबर पठाए । पुसमा घर जाँदा बल्ल बल्ल माँगेर मैले पाण्डुलिपि हात पारेको थिएँ । विहान काठमाडौँ आउन २ किमी पूर्व अनर्हवा गाउँमा बास बस्न गएँ । मोटरसाइलको अगाडि प्लास्टिक झोलामा अन्य पुस्तकसहित ती पाण्डुलिपि राखिएका थिए । घरमा पुग्दा च्यातिएको रित्तो प्लास्टिक मात्रै थियो । पुनः बेतोडले आएकै बाटो मोटरसाइकल कुदाइयो । तर पाण्डुलिपि फेला परेन । फेला पर्ला की भनेर स्थानीय एफएम रेडियोमा सूचना पनि प्रसारण गरियो । अँह पाण्डुलिपि फेला परेन ।
स्वर्गीय कवि रमेश चौधरीका बाबुले खै त मेरो छोराको किताब भनेर सोधे के जवाफ दिने होला, म असञ्जसम छुँ । मैले अझसम्म यो खबर उनी समक्ष पु¥याउने हिम्मत जुटाउन सकेको छैन । आफ्नी प्रेमिकालाई समर्पण गरिएको उसको कविता संग्रह प्रकाशित नहुँदा शायद उसको आत्माले शान्ति पाएन होला । र, त घडी–घडी ऊ मेरो सपनामा कविता सुनाउन आइपुग्छ । बाल कवि रमेश, के तिमीले स्वर्गमा कविता लेखिरहेका छौ ? तिमी एसएलसीमा फस्र्ट डिभिजन पास भएको समाचार जिउँदो हुँदा पाएनौ । गत बर्ष तिमी एसएलसीको रिजल्ट नकुर्दै यो संसार त्यागेर गयो, यहाँ भर्खर एसएलसीको रिजल्ट आएको छ, फेल हुनेहरु तिमीकहाँ आउँदैछन् । भेट पो भयो कि ? माफ गर रमेश, तिम्रो अन्तिम ईच्छा पूरा गर्न सकिनँ, तिम्रो कविता संग्रह प्रकाशित गर्न सकिनँ ।
साभारः १३ असार २०७१, नागरिक दैनिक, पश्चिमेली