अग्ली सरस्वती अग्लै सफलता

Saraswoti C

सुदूरपश्चिममा जन्मेर पोखराको फिस्टेल एकेडमीबाट क्षमता निखारेकी सरस्वती चौधरी भलिबल खेलकी नम्बर एक ‘क्विक स्पाइकर’ र ‘ब्लकर’ हुन्। उनी अहिले एपीएफ क्लबबाट खेल्छिन्। सरस्वतीको आगमनपछि एपीएफले एकपछि अर्को सफलता हात पारेको छ। महिला भलिबलमा सर्वाधिक उपाधि जित्ने क्रममा क्लबले झन्डै एक वर्षको अवधिमा पाँच उपाधि हात पार्‍यो।
हालै उनी नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत यस वर्Èको ‘लोकप्रिय खेलाडी’ भएकी छिन्। २०६९ सालको ढोरपाटन डबल लिग महिला भलिबलमा फिस्टेल एकेडेमीले तेस्रो स्थान हात पार्दा सरस्वतीले उदीयमान खेलाडी घोषित हुँदै स्कुटर पुरस्कार पाएकी थिइन्। २०७० सालमा सरस्वतीले प्रथम आईजीपी कप राष्ट्रिय महिला भलिबलमा सर्वोत्कृष्ट खेलाडी हु“दै स्कुटर हात पारिन्। क्लब लिग च्याम्पियनसिपको उत्कृष्ट खेलाडी सरस्वतीलाई नेपाल भलिबल संघले वर्ष खेलाडीबाट पनि पुरस्कृत गरिसकेको छ। शुक्रबार साप्ताहिकसँगको कुराकानी पढ्नुस्:

यस वर्षको पल्सर स्पोर्ट्स अवार्डमा लोकप्रिय खेलाडीको अवार्डले पक्कै पनि ऊर्जा बढाइरहेको होला?
म त अवार्ड पाउनुअघि नै अवार्डेड भइसकेकी थिएँ। किनभने क्रिकेटर पारस खड्का, फुटबलर विमल घर्तीमगर जस्ता लोकप्रिय खेलाडीसँगै नोमिनेसनमा मेरो नाम पनि परेको थियो। उहाँहरूलाई उछिन्ने त कल्पनासम्म गरेकी थिइनँ। तर, मलाई विश्वास गरियो, अवार्ड पाएँ। यसले आगामी दिनमा अझ राम्रो खेल्ने प्रेरणा मिलेको छ।
तपाईंले जितेपछि आफन्त, साथीभाइको प्रतिक्रिया कस्तो थियो?
आमाबुवा धनगढीबाट काठमाडौँ आउनुभएको थियो। छोरीले नसोचेको प्रगति गरी भन्दै मभन्दा धेरै खुशी हुनुभयो।
भलिबलमा सानैदेखि रुचि थियो?
थिएन। आजभन्दा छ वर्षअघि म खेलकुदमा खासै इन्ट्रेस्टेड थिइनँ। म १२ वर्षकी थिएँ, गणतान्त्रिक कप हुने भयो। धनगढीमा खेलाडी छान्दा पुगेनछन्। अग्ली देखेर मलाई पनि एक हप्ता सिकाएर खेल्न पठाइयो, एक्स्ट्रा खेलाडीका रूपमा। मैले खेल्न जानेकी थिइनँ। खेलभरि एकचोटि कोर्टभित्र छिरेँ। तर, हातमा बलै नपरी खेल सकियो।
त्यसपछि चाहिँ भलिबल सिक्ने रुचि जाग्यो?
मेरै कारणले त म भलिबल सिक्दिनथेँ होला। सानै उमेरमा मेरो हाइट राम्रो देखेर पोखरा फिस्टेल एकेडेमीका भलिबल गुरु बलराम श्रेष्ठले फिस्टेलमै पढ्न र भलिबल सिक्न अफर गर्नुभयो। खेल्न सिक्दा छात्रवृत्तिमा पढ्न पनि पाउने भएपछि आमाबुवाले उहाँको अफर स्विकार्नुभयो। मलाई पनि छात्रवृत्तिमा पढ्न पाइने भएपछि ‘खेल्दिउँ कि न’ भन्ने लागेर फिस्टेल आएकी थिएँ।
भलिबल राम्रो खेल्ने हुन कति समय लाग्यो?
खेल्दै जाँदा रुचि बढ्दै गयो। गुरुले पनि मेहनत गरेर सिकाउनुहुन्थ्यो। दुई वर्षपछि म राम्रै खेल्ने भइसकेकी रहेछु। किनभने, तनहुँमा भएको क्षेत्रीय गेममा म पनि फिस्टेलको टिममा परेकी थिएँ।
पहिलोपल्ट आफ्नो खेल कौशलले गर्दा निकै वाहवाही बटुलेको क्षण सम्भि्कनुहुन्छ?
१४ वर्षकै उमेरमा हो। पोखरा लामाचौरमा भएको खेलमा धेरैले मेरो प्रशंसा गरेका थिए। धेरैले मलाई भविष्यमा ‘राम्रो खेलाडी बन्छे’ भनेका थिए। म असाध्यै खुशी भएकी थिएँ।
सशस्त्र प्रहरीको विभागीय टिमबाट खेल्न थालेको कति भयो?
भर्खर ११ महिना हुँदै छ।
राम्रो खेलाडीलाई धेरै क्लब वा विभागीय टिमले अफर गर्छन्। तपाईंलाई पनि सशस्त्र बाहेक अरू टिमले पनि अफर गरेका थिए?
प्रहरीको टिममा पनि कुरा भइरहेको थियो। तर, भलिबलको राम्रो कोच कपिलकिशोर श्रेष्ठ सशस्त्रमा भएपछि मलाई यो टिममा आउन मन लाग्यो।
सशस्त्रमा आएपछि सोचे जस्तै राम्रो भइरहेको छ?
सोचभन्दा राम्रो रहेछ। यहाँ आउनुअघि भलिबल खेल्ने र एक्सरसाइज गर्ने मात्रै होइन होला, ड्युटी पनि गर्नुपर्छ होला जस्तो लागेको थियो। तर, खेलाडीका लागि पूर्ण रूपमा खेलमा मात्रै ध्यान दिने वातावरण रहेछ। यसले गर्दा पनि म राम्रो गर्दै गइरहेकी छु।
जीवन नै खेल क्षेत्रमा बिताउने कि पछि अरू पनि केही बन्ने सोच छ?
जतिसम्म सक्छु, देशका लागि खेल्छु। खेलमा अलि कमजोर हुन थालेपछि सशस्त्रमै रहेर देशको सेवा गर्ने रहर पनि छ। त्यो पनि भएन भने मैले पढिरहेकै विषयसँग सम्बन्धित कुनै काम गर्नुपर्ला।
कुन विषय पढिरहनुभएको छ?
म्यानेजमेन्ट पढिरहेकी छु। भर्खरै १२ कक्षाको परीक्षा दिएँ।
पढाइ र खेलको तारतम्य मिलाउन कत्तिको कठिन हुन्छ ?
सुरुसुरुमा अलि कठिन भयो। सशस्त्रमा आएपछि त प्य्राक्टिस बढी गर्नुपर्ने भएकाले केही समय पढ्नै अल्छी लाग्यो। तर, मसँगै बस्ने विनिता दिदीले पढ्नुपर्छ भनेर सम्झाउँदै सुतेको भए पनि उठाउनुहुन्थ्यो। पछि बानी पर्योँ सजिलै भयो।
खेल्नु त तपाईंको काम नै भइहाल्यो। अल्छी लाग्दा मन बहलाउन के गर्नुहुन्छ?
गीत गाउँछु। गीत लगाएर नाच्ने पनि गर्छु।
गीत कत्तिको मीठो गाउनुहुन्छ?
फिस्टेलमा पढ्दा साथीहरूले ‘स्वर मीठो छ, कार्यक्रममा पनि गाऊ न’ भन्थे। तर, मलाई निकै लाज लाग्छ। त्यसैले साथीहरूबाहेक अरूलाई सुनाएकी छैन।
त्यसबाहेक पनि गर्न मन लाग्ने अरू केही कुरा छन्?
फिल्म हेर्न पनि निकै मन पर्छ। बेला–बेला हलमा गएर पनि हेर्छु।
कस्ता फिल्म हेर्दा आनन्द लाग्छ?
लभस्टोरी र एक्सन फिल्म राम्रा लाग्छन्।
हिन्दी, अंग्रेजी र नेपालीमध्ये कुन भाषाको फिल्म हेर्नुहुन्छ?
बढी हिन्दी हेर्छु। नेपाली र अंग्रेजी पनि हेर्न मन पर्छ।
असाध्यै मन पर्ने कलाकार कोही छन् कि?
धेरै जनाकी फ्यान हुँ म। तीमध्ये हिन्दीमा रणवीर कपुर, आमिर खान र दीपिका पादुकोण असाध्यै मन पर्छन्। नेपालीमा आर्यन सिग्देल र रेखा थापाका फिल्म धेरै हेर्छु।
भर्खरै हेरेको नेपाली फिल्म याद छ?
‘झोला’ हेरेकी थिएँ।
फिल्म हेर्दा आफूलाई पनि ‘हिरोइन हुन पाए’ भन्ने लाग्छ कि नाइँ?
लाग्छ। तर, मेरो त हाइट नै धेरै छ। हुन सक्दिनँ। नेपालका हिरो छोटा–छोटा छन्!
हाइट भएकै कारण अहिले तपाईं यहाँ पुग्नुभएको छ। तर, हाइट बढी भएकै कारण दुःख पनि पाउनुभएको छ कि?
गाडीमा बस्दा खुट्टा ठोक्किने भएकाले निकै समस्या हुन्छ। धेरैले पाको उमेरको ठान्छन्। मन परेको लुगा विशेषगरी प्यान्ट पाइँदैन।
फेशनेबल हुन कत्तिको मन लाग्छ?
लाग्छ नि। बजारमा आएको नयाँ खालको पहिरन किन्न पाए भन्ने लाग्छ। टिसर्ट त पाई पनि हाल्छ, किन्छु। प्यान्ट चाहिँ चाहेर पनि पाइँदैन। यूएफओमा गएर अर्डर गरेपछि मात्रै आउँछ।
बाटोमा निस्किँदा पनि अग्ली देखेर मान्छेहरूले हेर्दा हुन्!
फर्की–फर्की हेर्छन्। कति अग्लो हो? भन्छन्। पहिला–पहिला लाज लाग्थ्यो। अहिले त्यस्तो भन्नेलाई उल्टै ‘अग्लो हुन मन लाग्या हो, बनाइदिऊँ’ भनेर जिस्क्याउँछु। सानोमा त अग्लो भएकै कारण घरबाट निस्किन्नथेँ।
पढ्न कत्तिको जाँगर चल्छ?
स्टोरी बुकहरू पढ्न मन लाग्छ। पहिले लाइब्रेरीमा यस्ता बुक पढ्दै बस्थेँ।

One thought on “अग्ली सरस्वती अग्लै सफलता

Leave a Reply

Your email address will not be published.