थारु भाषाका धार्मिक ग्रन्थबारे चासो

सोम डेमनडौरा, नेपालगन्ज- थारुभाषी स्रष्टाहरुले थारु भाषा संरक्षण, सम्बर्द्धन र विकासबारे चिन्तन गरेका छन्। उनीहरुले स्काइप मार्फत थारु भाषा साहित्यबारे छलफल गरेका हुन्। यसका साथै भाषा साहित्य विकासका लागि स्काइपमा बाचन गरिएका सूचना संकलन गरेर पुस्तक प्रकाशनमा लाग्नुपर्ने आवश्यकता महशुस गरिएको छ।
थारु युवामा अहिले गजल लेख्नेु कार्य एकदमै वृद्धि भएको छ। तथापि गजल लेख्दा प्रायजसो नेपाली भाषाको प्रयोग भएकाले प्राचीन थारु भाषालाई प्रयोगमा ल्याउनुपर्ने कुरा जोड गरिएको थियो। साउदी अरेबियाबाट रामचन्द्र चौधरीले बोल्दै मौलिक शब्द र भाषा प्रयोग गर्नुपर्ने औंल्याए। यसैगरी, साउदी अरेयिबाबाटै कुमार चौधरीले अबका युवाहरुले थारु भाषाका पौरानिक कथा र सजना गीत, मैना गीत र बर्किमारजस्ता पुराना गीतको अध्ययन गर्नुपर्ने बताए।
मलेसियामा बस्दै आएका सुरज चौधरी भन्छन्, ‘हामीले आफ्नो भाषा विद्यालयमा पढ्न पाएक छैनौं। सानैदेखि नेपाली पढ्नुपर्ने बाध्यता भएको छ। जसले गर्दा हामीले हाम्रो आफ्नो भाषा बारे ज्ञान एकदमै न्यून छ। यसबारेमा, अबका दिनमा हाम्रो भाषामा पनि पाठ्यपुस्तकको अध्यापन हुनु जरुरी छ।’
साहित्यकार तथा स्काइप कार्यक्रमका प्रमुख अतिथि कृष्णराज सर्बहारीले काठमाडौंबाट ‘डेरा ओ डिउँटा’ कबिता बाचन गर्दै, ‘थारु भाषामा अन्तर्राष्ट्रिय स्तरमा स्काइप साहित्य बाचन कार्यक्रम एकदमै सराहनीय छ। यो कार्यक्रमको सुरुवात गर्नु नै ठूलो कुरा हो। यसलाई निरन्तरता दिनुका साथै धेरैभन्दा धेरै साहित्यकार र थारुभाषी वरिष्ठ साहित्यकारलाई पनि सहभागी गराउनुपर्छ। सर्बहारीले अबका आउँदा दिनमा स्काइपमा बाचन गरिएका दश दश वटा गजल संकलन गरी संयुक्त स्काइप गजल संग्रह प्रकाशन गर्नुपर्ने सुझाब दिए। उनले भने, ‘अब थारुभाषी साहित्यकारहरु आफ्नो पहिचान र अस्तित्वको रक्षा गर्न हलो जोतेको ठाउँ या काम गदैृ गरेको ठाउँमा गएर पनि त्यसैसम्बन्धी रचना पाठ गरि सचेत बनाउनुपर्छ।’
संयोजक सोम डेमनडौराले कार्यक्रममा गजल बाचन गर्दै भने, ‘अबका थारुभाषी स्रष्टाहरुले थारु धर्मग्रन्थहरु गुर्वावक जल्मौटी, बर्किमार, पँचरालगायतका पुस्तकहरुको अध्ययन गरेर यसका बारेमा बहस र बिश्लेषण गरिनुपर्छ। थारु भनेका को हुन यिनै ग्रन्थलाई उजागर गरेर साहित्य सिर्जना गरिनुपर्छ।’ संयोजक डेमनडौराले अबका दिनमा युवाले मौलिक थारुभाषामा रचना सिर्जना गरे मात्र थारु भाषाको संरक्षण र सम्बर्द्धन हुने बताए।
जन्ग्रार साहित्यिक बखेरी नेपालको आयोजनामा भएको सो बखेरीमा साउदी अरेबिया, मलेसिया, दुबई र नेपालको काठमाडौं, नेपालगञ्ज, धनगढी, गुलरीयाबाट सत्यनारायण दहित, निष्ठुरी चिज, निराजन चौधरी, लाछु चोधरी, ठाकुर अकेला, तेतराम चौधरीलगायतले रचना बाचन गरेका थिए।

Leave a Reply

Your email address will not be published.