थारु समुदायमा सिरुवा पर्व

siruwa
बुद्धसेन चौधरी
– सिरुवा पर्व थारुहरुको महान चाड हो। यो पर्व थारु समुदायमा प्राचीन कालदेखि चलिआएको विश्वास गरिन्छ। यस पर्वलाई मौसम परिवर्तन अर्थात् गर्मीको सुरुवातको रुपमा पनि लिइन्छ। गर्मीबाट बच्नको लागि पानीको बढीभन्दा बढी प्रयोग हुने भएकाले र पानीले सितलता प्रदान गर्ने हुनाले यसलाई जुरसितल पनि भनिन्छ।

बर्मा र थाइल्यान्डमा पनि यो पर्व यसै समयमा मौसम परिवर्तनको संकेतकोरुपमा लिइ गर्मीबाट बच्नको लागि एक अर्कालाई पानी छ्यापेर रमाइलो गरी मनाउने चलन छ। यो पर्व थारुहरुको लागि वर्षको पहिलो चाड भएकाले यसले थारु समुदायमा विषेश महत्व राख्छ।

थारुहरुमा एउटा भनाइ नै छ कि ‘सिरुवा पसारे फगुवा उसारे’ अर्थात् सिरुवाबाट थारुहरुको चाड पर्वको थालनी हुन्छ भने फगुवा (होली)ले सम्पूर्ण चाडबाडहरुको समाप्ती गर्छ। त्यस उसले यस पर्वलाई सुरुको पर्व अर्थात् सिरुवा पर्व भनिन्छ। पूर्वमहान्यायाधिवक्ता स्व. रामानन्द प्रसाद सिंहका अनुसार सिरुवा थारुहरुको शीर्षस्थ पर्व हो।
वैशाखमा मनाउने भएकाले यसलाई यदाकदा वैशाखी पनि भनिन्छ। यस पर्वलाई थारुहरुले नयाँ सालको प्रथम दिन मानेर नयाँ वर्षको रुपमा पनि धुमधाम सँग मनाउँछन्। हालः भारतमा रहेको मलावीको तात्कालीन राजा बिक्रमादित्यले बिक्रम सम्बत्को सुरुवात गरे जससलाई राजा त्रिभुवनको पालामा चन्द्रशमशेरको चाहनाअनुसार यसले राजकीय स्थान पायो। बिक्रम सम्वतको पहिलो महिनाको पहिलो दिन अर्थात् नयाँ वर्ष पनि त्यसै दिन परेकाले र यसलाई नेपाल सरकारले आधिकारिक वर्ष पनि मानेकाले यो पर्व थारुहरुबाहेक अन्य समुदायलगायत सबैले नयाँ वर्षको रुपमा धुमधामसँग मनाउँछन्। यो थारुहरुको महान चाड भएकाले नेपाल सरकारले सिरुवा पर्वको दिन सार्वजनिक विदा दिने गरेको छ।

यो पर्व मनाउन थारुहरु आ–आफ्नो क्षमताअनुसार केही दिन अगाडिदेखि नै तयारीमा जुटेको हुन्छन्। जसअनुसार आ–आफ्नो घरको मरमत सम्भार गर्नुको साथै घर कम्पाउन्डको विशेष सरसफाईमा (अघि पछिको भन्दा अलग किसीमको) ब्यस्त रहन्छ। थारु आईमाइहरु पनि आ–आफ्नो घर, आँगन, दरबजालगायत गाई गोठको साथै परेवा घरको मरमत् सम्भार एवं लिपपोत गर्नमा नै ब्यस्त रहन्छ। उनीहरु रातो तथा निलो रङ्गको माटो ल्याएर आफ्नो घरलाई सुहाउँदो किसिमको रङ्गले लिपपोत गर्छन् भने पुरुषहरु घर वरिपरि सरसफाइ गरी काम नलाग्ने चिजबिजहरुलाई जलाएर नष्ट गर्ने गर्छन्।

यस पर्वको मौका पारी थारुहरु घर आँगनलाई विभिन्न किसिमको कोहबरहरु घरको भित्तामा कोर्छन्, जसमा अशोक चक्र र विभिन्न किसिमको चरा चुरुङ्गीको तथा जनावरहरुको आकृति पनि हुन्छन्। यसरी गाउँ सजिसजावटले स्पष्ट हुन्छ कि यसले नव वर्षलाई स्वागत गर्नको लागि पर्खी रहेको छ।

चैतको अन्तिम दिन सरसफाई सकिएपछि थारु महिलाहरु साँझ पख पुरानो वर्षको विदाइ एवं नयॉ वर्षको स्वागतका लागि विभिन्न किसिमको खानपिनका परिकारहरु बनाउन थाल्छन्। विभिन्न किसिमको तरुवा, भुजूवा, पकौरी, कचरी, तेलपौर रोटी, खबौनी रोटी (जसमा विभिन्न किसिमको आकृतिहरु कोरिएको हुन्छ), हौंसली वला रोटी बनाइरहेको हुन्छ, जसले गर्दा त्यस दिन गाउँ सुगन्घमय वाताबरणमा पुरानो वर्षलाई विदाइ गर्दै नयाँ वर्षको प्रतिक्षामा बित्छ।

भोलिपल्ट बिहान नयाँ सालको नयाँ जोस, उमंगसहित जुर सितलको प्रारम्भ हुन्छ। सूर्य उदाउनुभन्दा अगाडि नै घरमुलीले आफ्नो घरको कूल देवी देवता, घर दलान, गाई गोठ, बारी फुलबारी, रुख बिरुवा इत्यादिमा पानि हालेर (पानी छर्केर) सिरुवा पर्वको प्रारम्भ गर्छ। त्यसपछि घरमा आफूभन्दा कम उमेरकालाई टाउकोमा पानी हालेर शुभ आशिष् दिन्छन् भने् सानाले ठूलालाई खुट्टामा पानी हालेर शुभकामना ब्यक्त गरी आशिर्वाद थाप्ने काम गर्छन्। आ–आफ्नो उमेरकाहरुले एक आपसमा जिउमा पनि पानी हालेर रमाइलो गर्छन्। यो क्रम दिनभरि चलिरहन्छ। गर्भवत्ती महिला तथा वृद्ध वृद्धालाई जथाभाबी पानि हाल्ने चलनचाहिँ छैन्। वैशाख महिनामा एकदम गर्मीको समय भएकाले उक्त गर्मीबाट सितलता प्राप्त गर्नुको साथै पुरानो वर्षको खराब चिजबिज तथा बानी ब्यहोरालाई पखाली नयाँ काम र बानीको सुरुवात गर्ने भएकोले पनि यस पर्वमा पानीको विशेष महत्व रहन्छ। थारुहरु प्रकृति प्रेमी भएकोले र यसमा प्रकृतिले प्रदान गरेको अमूल्य सम्पत्ति पानीको माध्यमले शुभकामना आदान प्रदान गर्नूको साथै सम्बन्धित रुख विरुवा एवं पशुपंक्षीलगायत जीवजन्तुहरुसँग पानी हालेर एक अर्काप्रति आत्मियता दर्शाउने भएकाले यसलाई जुर सितलको रुपमा लिइन्छ। थारुहरुको मुख्य पेषा कृषि भएकाले नयाँ वर्षमा पानीको कमि नहोस् भनेर त्यसको शुभ संकेतको रुपमा पनि यस पर्वलाई लिइन्छ।

यस प्रकार बिहान पानीको माध्यमले एक अर्कालाई शुभकामना आदान प्रदान गरिसकेपछि एक वर्ष अगाडि अर्थात् चैत महिनाको अन्तिम दिन पकाएको खानेकुरा खाई नजिकको खोला, तलाउ र नदीमा सामूहिकरुपमा माछा मार्न जान्छन् भने सामूहिकरुपमा सिकार खेल्न पनि चलन छ। तर आजकल पोखरी, तलाउहरु व्यावसायिक दृष्टिले ठेक्का पट्टा लगाउने भएकाले यसमा केही कमि आएको पाइन्छ तर पोखरीवालाहरु त्यस दिन माछा मारेर बेच्ने गर्छन् र नहुनेहरु किनेर पनि खाने गर्छन्।

यस पर्वको अवसरमा पूर्व तराईका थारुहरु बसोवास भएको स्थान नजिकको धार्मिक स्थलमा मेला लाग्ने गर्छन्। कुनै ठाउँमा यो मेला एक दिनमै सकिन्छ भने कतैकतै महिनौं दिनसम्म पनि लाग्ने गर्छ। यस उपलक्ष्यमा थारुहरुले आफू तथा घरको अन्य सदस्यहरुका लागि नयाँ नयाँ लुगा खरिद गर्छन्। थारुहरु दशैंमा भन्दा सिरुवा राम्रो लाउने तथा राम्रो खाने गर्छन्।

यो पर्व थारुहरुको महान चाड भए पनि यसलाई थारु समुदायमा बस्ने अन्य जातजातिले पनि धुमधामको साथ मनाउने गर्छन्। यस प्रकार यो महान् चाड एक अर्कालाई शुभकामना साटासाट गर्दै पुरानो वर्षलाई बिदाइ साथ सम्झिदै नयाँ वर्षलाई विभिन्न कार्यक्रमबाट स्वागत गर्दै अगामी वर्षसम्मका लागि समाप्त हुन्छ।
दोस्रोपटक प्रकाशित

Leave a Reply

Your email address will not be published.