एघार सय ३१ कमलरी एसएलसी दिँदै

श्री पशुपत्ति विश्राम उमावि नारायणपुरमा एसएलसी परीक्षा दिँदै मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष विमला चौधरी।
श्री पशुपत्ति विश्राम उमावि नारायणपुरमा एसएलसी परीक्षा दिँदै मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष विमला चौधरी।

सन्तोष दहित, दाङ- पाँच वर्षअघि विमला चौधरी मालिकको घरमा भाँडा माझ्ने र लुगा धुने गर्थिन्। बिहान ४ बजेदेखि रातिको ९ बजेसम्म उनी काममा खटिन्थिन्। किनकि उनलाई बाध्यता थियो। घरको आर्थिक अवस्था कमजोर भएकाले उनी सानै उमेरमा कमलरी बस्न बाध्य भएकी थिइन्। विमला भन्छिन, ‘मालिकको छोराछोरी स्कुल गएको देख्दा आफूलाई पनि स्कुल जान मन लाग्थ्यो।

तर घरको आर्थिक अवस्थाले स्कुल जान सकेको थिइँन्।’ उनले आफू स्कुल जाने कल्पना भने कहिल्यै गरेकी थिइनन्। एफएनसी नामक संस्थाले उद्धार गरेपछि उनी पहिलोपटक स्कुलमा पाइला टेकेकी थिइन्। उनी सम्झिन्छिन्, ‘मलाई उद्धार नगरेको भए अहिले पनि म कसैको घरमा काम गरिरहेकी हुनेथिएँ।’

आज तिनै कमलरी विमला चौधरी यस वर्ष एसएलसी परीक्षामा सहभागी भएकी छन्। उनी कमलरीहरुको संस्था मुक्त कमलरी विकास मञ्चका केन्द्रीय अध्यक्षसमेत हुन्। दाङको पशुपत्ति विश्राम उच्च माविबाट उनले प्रेवशिका परीक्षा दिँदैछिन।

विमला त उदाहरणमात्रै हुन्। उनीजस्ता दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरबाट यसवर्षको प्रवेशिका परीक्षमा १ हजार १ सय ३१ जना मुक्त कमलरीहरु एसएलसी परीक्षमा सहभागी भएका छन्।

दाङबाट ४ सय ७२, बाँकेमा ६६, बार्दियमा ३ सय ३१, कैलालीमा २ सय २८ र कञ्चनपुरबाट ३४ जना प्रवेशिका परीक्षा दिइरहेको मुक्त कमलरी विकास मञ्चका प्रशासन अधिकृत गद्दुलाल चौधरीले बताए।

Leave a Reply

Your email address will not be published.