गुर्वावक् जल्मौटी र थारू समुदायको धर्म

somसोम डेमनडौरा– गुर्बाबा शब्द गुरू±बाबा दुई शब्दबाट बनेको हो। गुरू भन्नाले थारू भाषामा गुर्वा (झारफुक गर्ने व्यक्ति, पुजारी) लाई बुझिन्छ। गुर्वा थारू समुदायको गुरू हुन्, ज्ञानी पुरुष हुन्, जसले थारू गाउँको देबी देउताको पूजा गर्ने गर्दछन्। थारू समुदायमा गुर्वा पूज्य पुरुष हुन्। यिनीहरूको ज्ञान र मन्तरले गाउँमा धर्म कर्म, पूजापाठ गरिन्छ। गाउँघरमा कुनै किसिमको रोगब्याधीले सतायो या यस्तै खाले समस्या आयो भने गुर्वाको सहयोगले पूजापाठ गर्ने, देवीदेवतालाई मनाउने गरिन्छ।
थारू समुदायको धर्म के हो भन्नेमा अझै पनि बहसको बिषय बनेको छ। थारू समुदायको आफ्नै पर्याप्त लिखित इतिहास नभएको कारणले पनि थारू समुदायको धर्म यही नै हो भन्ने ठोस प्रमाण पुष्टी भई सकेको अवस्था छैन। कतिपय अनुसन्धानकर्ताहरूले थारू समुदायले मान्ने धर्मलाई बिभिन्न किसिमले परिभाषित गरेका छन्। थारू समुदायले प्रकृतिको पूजा गर्ने भएकाले केहीले प्राकृतिक धर्म तथा प्रकृति पूजक भनेका छन्। संस्कृतिबीद अशोक थारूले त आफ्नो धर्ममा नै गुर्वावा धर्म लेख्न थालेका छन्।

कोहीले थारू समुदायको आफ्नै किसिमको धर्म भएकाले थारू धर्म पनि भनेका छन्। कोहीको अझ फरक किसिमको परिभाषा रहेको छ। जस्तै, शान्तिका दूत भगवान गौतम बुद्ध थारूका सन्तान भएकाले थारूहरू बुद्ध धर्म मान्ने गर्छन् र यिनीहरूको धर्म बुद्ध धर्म हो भन्ने तर्क गर्छन्। तर पछिल्लो परिभाषा जुन बुद्ध धर्मसँग सम्बन्धित छ, यो तर्कपूर्ण देखिंदैन। गौतम बुद्ध थारूका सन्तान थिए, यो इतिहासले प्रमाणित गर्छ, तथापि थारू समुदाय यिनैको आधारले बुद्ध धर्म मान्ने गर्छन् भन्ने तथ्य भने यथेष्त छैन।माथिका दुइटा कारण भने केही नजिक छन्।

थारू समुदायको धार्मिक र ऐतिहासिक दस्ताबेजहरू नभएको होइन। यिनीहरूको प्रागऐतिहासिक प्रमाणहरू पनि फेला परिसकेको छ। यद्यपी धर्मको बिषयमा भने केही अन्यौल परिभाषाहरू छन्। राज्यको हेपाहा प्रबृत्ति र थारू समुदायका केही आफ्नै कमजोरीका कारण थारू समुदायको इतिहास चाहे जस्तो बिश्वसामु छर्लङ्ग पार्न सकिएको छैन।

थारू समुदाय प्रकृतिको पूजा गर्ने आदिबासी समुदाय हो। यिनीहरू माटो, पानी, रुख, हावा तथा आफू वरिपरी भएका र प्रयोग गर्दै आएका चिजबस्तुको पूजा गर्ने गर्छन्। प्रत्येकको घरघरमा आफ्नै थारू थर अनुसारका देवीदेवता हुन्छन्। यो घरको उत्तर पूर्वको कोठामा हुन्छ। जुन कोठालाई डिहुरार भन्ने गरिन्छ। थारूहरूको थर अनुसार देवीदेवता पनि फरक फरक हुन्छन्। थारू समुदायमा २ सय भन्दा बढी थरका थारूहरू रहेका छन्। उनीहरूको थर अनुसार पूजा गर्ने चलनमा पनि केही भिन्नता रहेको हुन्छ।

डिउह्रारमा मैया (मुख्य देबी), सौंरा (फलामको किला जस्तो), बर्ह्नी (बिशेष प्रकारको घाँसको कुचो), घोरी (माटोले बनाएको घोडा) हुन्छ। यिनीहरू पाटा (जमिनको सतहभन्दा केही माथि उठ्ने गरी बनाइएको गोलाकार अग्लो भाग) मा राखिएका हुन्छन्।  त्यसैगरि, डिउह्रारमै बेँटको लठ्ठी, तरबार, झोंर्या (पूजापाठका लागि सामान राख्ने झोला) पनि हुन्छ। यो झोला बिशेषगरी मैयाको सामाग्री संकलन गर्ने झोलाको रुपमा लिइन्छ। यसैगरी यी सबै देवीदेवताहरू रहेको ठाउँ पछाडी डेहरी (धान, चामल, गहुँ राख्नका लागि बनाइएको माटोको अग्लो भकारी) हुन्छ। सो डेहरीमा चामलको पिठो घोलेर हातको चाप समेत लगाइएको हुन्छ।

घरको बहरी (मुख्य ढोका भएको शुरुवाती भाग, जहाँ बसेर छलफल गर्ने गरिन्छ) को उत्तर पश्चिम भागमा पस्का (नाग देवताको स्थान) र बीचको दक्षिण भागमा ढमरज्वा (धर्म र सत्यका प्रतीक, महाभारतका एक पात्र धर्मराज युधिष्थीर, जो काठको हुन्छ) रहेका हुन्छन्। आँगनमा मर्वा (घर बाहिरका देवीदेवता बस्ने घर), भैंसर्वा (भैंसी हेर्ने देवता) र गैयर्वा (गाई हेर्ने देवताको) स्थान हुन्छ। यिनैको पूजा गर्दछन् थारू समुदायले। यी देवताको पूजा घरमूली पुरुष या महिला (कुनै कुनै थारू थरमा मात्र) पूजा गर्ने चलन छ।

यसैगरि, गाउँभरिको साझा देवता पनि हुन्छन्। यस देवस्थललाई ठन्ह्वा भनिन्छ।  यो गाउँको पूर्व दिशामा रहेको हुन्छ। प्रायःजसो सिमल या पिपलको रुखमुनि ठन्ह्वा निर्माण गर्ने गरिन्छ। ठन्ह्वामा जगनठ्या मुख्य देवता हुन्छन् र अन्यमा पाँच पाण्डव पनि रहेका हुन्छन्। यसका साथै कुनै एउटा छेऊ या छुट्टै ठाउँमा डहरचण्डी देवीको प्रतिस्थापन पनि गरिएको हुन्छ। यसरी यिनीहरूको पूजा गाउँभरिकाले छनौट गरेका गुर्वा र चिरक्याको सहयोगमा गाउँबासीले पूजा गर्ने गर्छन्।

थारू समुदायको धार्मिक इतिहास हेर्ने हो भने यिनीहरू मूर्ति पूजा गर्दैनन्। तर कालन्तरमा, बिभिन्न कारणले गर्दा पूजापाठ गर्ने शैली, चाडपर्व मनाउने शैलीमा परिवर्तन हुँदै आएको देख्न सकिन्छ। यिनीहरूको संस्कार, संस्कृति र परम्परामा बिस्तारै हिन्दुकरण हुँदै आएको छ। थारू समुदायको धर्म के हुन सक्छ या के हो त? यस बिषयमा थारू समुदायको धर्म ग्रन्थ गुर्वावक् जल्मौटीलाई अध्ययन गरेर केही बिश्लेषण गरौं। यो महाकाब्यबाट यी धर्तीको सिर्जना र गुर्वावाको जन्मको बारेमा तथा थारू समुदायको धर्मबारे बुझ्न सकिन्छ।
गुर्वावक जल्मौटीबाट केही हरफहरूः
हाँ हाँ रे पहिल ट बरसल ढुरिया ढुकुन।
हरे अब डैया कलजुग घेरल मिरटी भवन।।१।।
हाँ हाँ रे डोसर ट वरसल गोवरक रेख।
अब डैया चारी पाऊ कलिजुग टेकल मिरटी भवन।।२।।
हाँ हाँ रे टिसर ट वरसल कोइला कै रेख।
अब डैया कोइ नही टिकही मिरटी भवन।।३।।
हाँ हाँ रे सोन अस झलकट आवै अंगिया कै रेख।
छाईल अंगिया मिरटी भवन।।४।।
हाँ हाँ रे रुखवा वरिखवा जर जर भइलर अंगार।
जर–जर ढरटी मंडा गीत भैलरे अंगार।।५।।
यो महाकाब्य थारू समुदायले गीतको रुपमा प्रस्तुत गर्ने गर्दछन्। यो नाचलाई हुर्डुङ्गवा भन्ने गरिन्छ। कतै कतै यसलाई फूलवार पनि भन्ने गरिन्छ।
यो गुर्वावक जल्मौटी खास गरेर चार अध्यायमा बिभाजित छ। यी चार अध्यायहरू मन्सी फूलवार, डह फूलवार, चिटरंग फूलवार र घन फूलवार हुन्। प्रत्येक अध्यायमा धार्मिक घटना परिबेश फरक फरक छन्। यो महाकाब्यमा पृथ्बीको उत्पत्ति सम्बन्धमा धार्मिक मान्यता, गुर्वावा (थारू देवताका प्रत्युत्पादक) र यिनले गरेका बिभिन्न गतिबिधीहरू सम्मिलित छन्। यो महाकाब्यमा २० हजारभन्दा बढी शब्दहरू रहेका छन्।

गुर्वावक् जल्मौटीमा माथि उल्लेखित ५ हरफको अनुसार, यो संसार उत्पत्ति हुनु पूर्व धुलोको बर्षा भएको जुन बादलजस्तै भएको बताइएको छ र यो नै कालन्तरमा पृथ्बीको स्वरुप लिएको बताइएको छ। यसपछि क्रमशः गोबरको बर्षात, कोइलाको बर्षात भएको उल्लेख छ। यसरी गुर्वावक् जल्मौटीमा यो पृथ्बीको उत्पत्ति सम्बन्धमा चर्चा छ, जसको ब्याख्या विश्लेषण जरुरी छ।

2 thoughts on “गुर्वावक् जल्मौटी र थारू समुदायको धर्म

  1. Gautam Buddha tharu ka santati thiya jun prove garna sakyo bhane tharu haruko international height badchha’ tharu budhijibi yo barema Gahiro anusandhan garnu oarchha’ article anusandhan muluk raechha so thanks Som g

Leave a Reply

Your email address will not be published.