वैवाहिक जीवनको रजत वर्ष

कृष्णराज सर्वहारी- यो फागुनको महिना, विवाहको मौसम। समयले कति चाँडै कोल्टे फेर्छ भने हेर्दाहेर्दै यो पंक्तिकारको विवाह भएको पनि २०७० माघ २७ गते रजत बर्ष अर्थात् पच्चीस वर्ष पार भएछ। थारू समुदायमा त्यसै पनि चाँडै विवाह गर्ने चलन छ। यो ज्यान आईए पहिलो वर्षको जाँच दिइ सकेर सत्र वर्षको अल्लारे उमेरमा २०४५ साल माघ २७ गते पञ्चै बाजा बजाएर डोली चढेर दुलही भित्र्याएको थियो। अहिले वैवाहिक जीवनको प्रमाणपत्रको रुपमा ३ छोरी छन्, जो वीवीएसदेखि हाइस्कूलसम्म अध्ययनरत छन्। थाहा छैन, जीवनको घुम्तीमा उनीहरूले कहिले, कस्ता जीवनसाथी रोज्ने हुन्।
धेरैलाई यो लेख ब्यक्तिगत गनथन लाग्न सक्ला। तर धेरै बिबाहितहरुलाई यो लेखले आफ्नो जीवनलाई फर्केर हेर्न कर लाग्ला भन्ने मलाई लाग्छ। मैले निकै अगाडिदेखि मनसुवा बनाएको थिएँ कि आफ्नो विवाहको रजत वर्ष धुमधामको साथ मनाउने छुँ। पुनः ससुराली वरियात जानेछुँ। यो बीचमा कमाएका घनिष्ट साथीभाइहरूलाई निम्त्याउने छु। दिउँसो साहित्यिक कार्यक्रम गर्नेछु। बेलुकी रात्री भोजका साथ थारू झुमरा नाचको व्यवस्थापन गर्नेछु। आदि आदि।
तर समयलाई यो सबै मञ्जुर भएन। भनाई नै छ, सोचेजस्तो हुन्न जीवन। ढाडको समस्याले मेरी श्रीमती विगत ४ वर्षदेखि अन्नपूर्ण न्यूरो हस्पिटल, माइतीघरमा डा.वसन्त पन्तको रेखदेखमा बीच–बीचमा छाडेर औषधी खाइरहेकी थिइन्। पुसको अन्तिम साता दाँया खुट्टा असह्य दुखेर एमआरआई गराउँदा ढाड खिइएर नशा च्यापिएकोले अपरेशन गर्नैपर्ने सल्लाह दिइयो। अपरेशनको लागि १ लाखमाथि व्यवस्था गर्न भनियो। वैवाहिक जीवनको रजत जयन्तीको मुडमा रहेको म यो समाचारले आफै पनि बिरामीझंै भएँ। रकमको व्यवस्था गर्न सकेको भए तुरुन्त अपरेशन पनि गराउँदो हुँ। तर नेपालका ती पत्रकार भाग्यमानी होलान्, जसको बैंक खातामा सदैव एक लाख मौजुद रहन्छ।
धेरै साथीभाईहरूसँग सल्लाह लिँदा अपरेशन अन्तिम उपाय भएकोले फिजियो थेरापीमा जान सल्लाह दिए। करीब २ साता श्रीमतीलाई फिजियोथेरापीको लागि कालीमाटीस्थित स्पार्क हेल्थ होम दौडाएँ। अहिले पनि हप्तामा २ दिन त्यहाँको सेवा लिने क्रम जारी छ। चिकित्सकले पुरै निको हुन कति दिन लाग्ने हो यकिन भन्न सकेका छैनन्। बिरामी श्रीमतीको सेवालाई ठाँटी राखी रजत जयन्तीको विहे भोज आयोजना गर्न मनले मानेन। जवकि मेरा अभिभावकले खुशी हुँदै पुनः बिहे भोजको तयारी पनि थालेका थिए। क्यान्सील भएकोमा अग्रिम निम्ताको हल्ला पाएका साथीहरूसँग यही लेखोटमार्फत् माफी माँग्न चाहन्छुँ। sarbahari-family
सानैमा विहे गरेकोले हो कि मलाई विहेको वरियात अझै पनि केटाकेटीको खेल थियो कि झैँ लाग्छ। तर त्यो सत्य थियो, मैले दाजुभन्दा अघि विहे गरेर सामान्य ज्ञानमा सोधिने प्रश्न परिवेत्ताको उपाधी पाएको थिएँ। विहे गरेको तीन वर्षपछि हाम्रो पहिलो सन्तान छोरी जन्मिइन्। तर विहे गरेकै साल मेरो आईए पहिलो वर्षको रिजल्ट आएको थियो। २०४५ सालमा दाङमा एउटा पनि प्लस टु थिएन। महेन्द्र बहुमुखी क्याम्पस भरतपुर एक मात्र क्याम्पस थियो। त्यहाँ पहिलो वर्षमा करीब १३ जना कृष्ण नाम गरेका सहपाठी थियौं। ती सबै कृष्णमध्ये म एक्लो कृष्ण पास भएको थिएँ। धेरैको प्रतिक्रिया थियो, विहे गरेपछि प्रगतिको बाटो बन्द हुँदो रहेनछ, सर्वहारीको रिजल्टले यही बताउँछ। हुन पनि बैबाहिक जीवन मेरो कुनै क्षेत्रको उन्नतिमा बाधक रहेन।
म आईए दोश्रो वर्षमा पुग्दा मेरो बुवा टिकाराम चौधरी र दाजु ऋषिराज चौधरीसँगै बीए पहिलो वर्ष ज्वाइन गर्नुभयो। बुवा १६ वर्ष जागिरे जीवन त्यागेर क्याम्पस पढ्न आउनु भएको थियो । उहाँले व्याक दिँदै ५ वर्ष पछि आईए कटाउनु भयो भने दाजुले लगातार २ वर्षमै। यसरी उहाँहरु संगै स्नातकमा भर्ना भएपछि हामी तीन बाबु छोरा सँगै क्याम्पस जान्थ्यौँ, आउँथ्यौ। मेरी श्रीमती गाउँको महिला साक्षरता कक्षामा पढ्दै थिइन्। महिला विकास शाखाले त्यो कक्षा सञ्चालन गरेको थियो। उनले हाम्रो विवाह दर्ताको प्रमाणपत्रमा हस्ताक्षर गरेको क्षण सम्भि्कँदा मेरो मन अहिले पनि प्रफुल्लित हुन्छ।
श्रीमानको सफलतामा श्रीमतिको हात दोव्वर हुन्छ भन्ने मलाई लाग्छ। २५ वर्षलाई फर्केर हेर्दा मैले श्रीमतीलाई सुखभन्दा बढी दुःख दिए जस्तो लाग्छ। उनले एक दशक बढी मेरो गाउँ दाङदेउखुरी छुट्की घुम्नामा खेतीबारी स्याहारिन्, वनपात गरिन्। कुनै सन्तान जन्मेको बेला पनि मैले १ किलो फलफूल लिएर पनि हाजिर हुन सकिनँ। दृष्टिशक्ति कमजोर भएर तीनजनै छोरीहरूको चश्मा लगाउनै पर्ने अहिले अवस्था छ। उनको गुनासो छ, सुत्केरी अवस्थामा  पनि मैले सन्तुलित खाना नपाउँदा छोरीहरूको आँखा कमजोर भएको होला। त्यसो त धेरै चिन्ता गरिरहने महिलाहरूको रोग मेरी श्रीमतीले पनि पालेकी छिन्। कहिले ढाडको, कहिले पेटको, कहिले पत्थरी आदिको समस्याको जड उनको बढी चिन्ता गर्ने बानीले झन बढी दुःख दिइरहेको हो की जस्तो लाग्छ । साठीको दशकमा नेपालगञ्ज बस्दाताका पनि मैले उनका लागि त्यहाँका धेरै चिकित्सकहरुको क्लिीनीक धाएको छुँ।
पत्रकारितासँगै साहित्य लेखनमा रुचि राख्ने यो पंक्तिकार विहेको एक दशकपछि पुस्तक प्रकाशन थालेको हो। अहिलेसम्म २० पुस्तक प्रकाशन गरिसक्दा पनि कुनै पुस्तकको विमोचनमा मैले पत्नीलाई उपस्थित गराउन सकेेको छैन। कुनै पुस्तकको भूमिकामा उनलाई सम्झेको छैन। दर्जनौँ पुरस्कार थाप्दा पनि कुनै पुरस्कार समारोहमा लैजान मनाउन सकेको छैन। कारण उनी विशु्द्ध गृहिणी हुन मात्रै रुचाउँछिन्। मेरो लेखनमा उनको ठूलो भूमिका छ, मेरा केटाकेटीको स्याहार, पढाइमा उनले पर्याप्त ध्यान नदिएको भए मैले लेखनमा समय पाउने थिइनँ।
जीवन कुमालेको माटाको भाँडो बनाउने चक्रझैँ घुमिरहन्छ। मलाई ज्योतिषीले ८० वर्षसम्म बाँच्छस् भनेको छ। तर मलाई ज्योतिषमा विश्वास लाग्दैन। थाहा छैन, विहेको स्वर्ण वर्ष आउला कि नआउला। म त्यत्ति लामो समयसम्म कुर्न पनि चाहन्न। छोराछोरीको विहे गरेर सम्धी हुनु अगावै आफ्नो विवाहको अवसरलाई पुनः ताजगी गराउन चाहन्छु। कोही दुःखमा पर्दा नेपालीमा एउटा भनिने आहान छ, उसले बल्ल देख्यो बाबुको बिहे। तर मैले आफ्ना छोरीहरूलाई जन्ती लैजाने योजना बनाएर बाबुको बिहे देखाउने सोंच अझै पनि ठाँटी राखेको छैन। हेरौँ, त्यो समय आघौँ साल पो जुर्ला की?
साभारः २०७० फागुन ९, नागरिक दैनिक, पश्चिमेली

Leave a Reply

Your email address will not be published.