तेजाब सल्किँदा दाङमा कमलरीसहित दुई बालिका घाइते

agalagi_kamalari_dangसन्तोष दहित, दाङ- जिल्ला विकास समिति दाङका एक कर्मचारीको घरमा एक कमलरीसहित दुई बालिका जलेर गम्भिर घाइते भएकी छन्। हेकुली-१ बैबाङ निवासी १६ वर्षीया अनिता चौधरी र सोही ठाउँकी सरिता चौधरी जलेर घाइते भएकी हुन्। अनिता चौधरीको दाँया खुट्टाको पूरै भाग जलेको छ भने सरिता चौधरीको हातमुख जलेका छन्। 

बच्चा सेक्नलाई कोइलामा तेजाब खन्याएर सल्काउँदा यस्तो घटना भएको बताइएको छ। उनीहरुको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ। जिल्ला विकास समिति दाङमा खरदारको रुपमा काम गर्दै आएकी शान्तादेबी घिमिरेले आफू सुत्केरी भएपछि सहयोगीको रुपमा अनिता ल्याएको तर कमलरी नराखेको बताइन्।

कमलरीको क्षेत्रमा गर्दै आएको मुक्त कमलरी विकास मञ्चले भने कुनै पनि बाहानमा बालिकालाई कामम लगाउनु र ल्याउनु कमलरी नै रहेको दाबी गरेको छ। आफूहरुले यस विषयमा जिल्ला प्रशासनलाई जानकारी गराइसकेको र प्रशासनले पनि यसबारे अनुसन्धान थालिसकेको मञ्चले जनाएको छ।
माघ ५ गते घटेको घटना बिहीबारमात्र सार्वजनिक भएको हो। ‘माघी मानेर ५ गतेमात्र फर्किएको थिएँ,’ अनिता चौधरीले भनिन्, ‘बच्चा सेक्न आगो सल्काउँदा नबलेपछि तेजाब हालेर बाल्न खोज्दा जर्किनमै आगो सल्केर यस्तो भएको हो।’

घिमिरेले आफू सुत्केरी भएपछि जिल्ला विकास समितिमा सहयोगीको रुपमा काम गर्दै आएका खुसीराम चौधरीको सहयोगमा दुई महिना अगाडि उनीहरुलाई ल्याएको बताइन्।

यता घाइते भएकी अनिता दुई महिनासम्म काम गर्दा पनि आफूले केही नपाएको गुनासो गरिन्। २०७० असार १३ गते सरकारले राष्ट्रलाई कमलरी मुक्त राष्ट्र घोषणा गरेको छ। त्यहीअनुरुप जिल्ला जिल्लामा कमलरीहरुलाई उद्दार गरिरहेको बेला यस्तो घटना हुनु लाजस्पद रहेको विज्ञहरु बताउँछन्।

Leave a Reply

Your email address will not be published.