फेसबुकको १० वर्षे यात्रा

Facebook

एजेन्सी- सामाजिक सञ्जालबाट सञ्चारको परम्परागत परिभाषालाई चुनौती दिन सफल फेसबुक यसै सातादेखि १० वर्षको हुँदै छ। एकतर्फी सञ्चार प्रणालीमा रहेका आमसञ्चारका माध्यमलाई पछाडि छोड्दै यो सामाजिक सञ्जालले नयाँ मोडल नै तयार पार्न बाध्य पारेको छ। करिब एक अर्ब मानिस अहिले यो सामाजिक सञ्जालमा अटाएका छन्। यस अर्थमा फेसबुक संसारकै सबैभन्दा ठूलो परिवार बन्न सकेको छ।
मार्क जुकरबर्ग र उनका केही साथीको प्रयासमा फेसबुक तयार भएको थियो। सन् २००४ फेब्रुअरी ४ बाट सामाजिक सञ्जालले सामाजिक र आर्थिक जीवनका धेरै पक्षलाई प्रभावित पार्योए। फेसबुकले १० वर्षमा विश्वलाई एउटै छाताभित्र समेट्यो।
परम्परागत मिडियाका रेटिङहरू यो सामाजिक सञ्जालसामु निरीह बन्दै गए। फेसबुक सामाजिक सञ्जालको दुनियाँमा शीर्ष स्थानमा रह्यो। चर्चित सर्च इन्जिन गुगललाई समेत धेरै देशमा पछि पार्दै लोकप्रिय रहन सफल फेसबुकले कुनै पनि समाज, जाति, लिंग र परिवेशलाई आफूभन्दा बाहिर राखेन। फेसबुक आफैँ भने यस बीचमा अपग्रेड हुने क्रम जारी रह्यो। फेसबुक आफू धनी त भयो,  समाजमा पनि यसले विशिष्ट छाप छाड्न सफल भयो। ‘ह्याप्पी ए डिकेड फेसबुक!’ भनिरहँदा यो सामाजिक सञ्जालले विश्व समुदायमा छाडेका प्रभावलाई बिर्सन सकिन्न।
जन्मदिनको शुभकामना
आफ्ना निकट जो कसैको पनि जन्मदिन सम्झाइदिन फेसबुकले महŒवपूर्ण भूमिका निर्वाह गर्योभ। जन्मदिन सम्झँदैमा हुने त केही होइन तर यसले सम्बन्धलाई नजिक्याउँछ। फेसबुकमा दर्ता भएकाहरूले आफ्नो जन्मदिन इन्ट्री गरेअनुसार उनीहरूसँग जोडिएका सबैले जन्मदिनको नोटिफिकेसन पाउन सके। फेसबुक आउनुअघि जन्मदिनको शुभकामना दिने १० जना हुन्थे भने त्यो दुई सयभन्दा माथि पुग्ने स्थिति बन्यो। कतिपय अवस्थामा सँगै रहेकाले समेत जन्मदिन बिर्सन्थे, फेसबुक नभएको भए।
भर्चुअल एल्बमले लियो ठाउँ
तपाईंको घरमा रहेको एल्बमबाट फोटो गायब भएको सम्झना छ? प्रिन्टको विकल्प नहुँदा मानिसहरू आफ्नो फोटो संग्रह गर्न अरूको एल्बम रित्याइदिन पछि पर्दैन थिए। फेसबुक आएपछि अभौतिक एल्बमले ठाउँ लियो। तपाईंका एल्बमबाट फोटो झिकिने दिन सकिए। अझ भनौँ, तपाईंको घरमा एल्बम राख्ने चलन नै सकिन थाल्यो। फोटो धुलाउने र साट्ने परम्परा समाप्त भयो। सामाजिक सञ्जालमा रहेको फोटोमा ट्याग गरिदिने प्रचलन सुरु भयो। फोटो हराउने पिर त गयो–गयो, धुलाउने परम्परा पनि सकियो। फोटो सेयर गर्ने र टाइमलाइनमा समावेश गर्ने प्रचलनले सबैभन्दा बढी त फोटोको व्यापार गर्नेलाई असर पार्योप। अनौपचारिक गतिविधिका फोटो धुलाउने प्रचलन अहिले समाप्तप्रायः भएको छ।
जोड्यो पुराना सम्बन्ध
फेसबुकले यो १० वर्षमा धेरैलाई पुनर्मिलन गराएको छ। साथीभाइ हुन् या नातागोता, लामो समयदेखि टाढा रहेको भए पनि यो सामाजिक सञ्जालले जोड्दै ल्यायो। नयाँ सम्बन्धका लागि आधार थियो नै तर पुराना साथीभाइलाई भर्चुअल दुनियाँमा भेट गराउनु आफैँमा महत्वपूर्ण घटना हुन्थ्यो। देशभित्र या बाहिर रहेकाबीच पुनर्मिलन हुन थाल्यो। यसले टुटेका सम्बन्धमा नयाँ आयाम ल्यायो। सँगै, समान रुचि र पेशा भएकालाई पनि एकता गराउने थलोको रूपमा विकास भयो फेसबुक। शिक्षक, पत्रकार, लेखक, कलाकार यसैबाट परिचित हुन थाले।
समाज सुधार्ने थलो
फेसबुक समाजका विभिन्न पक्षबारे आवाज उठाउने थलो बन्यो। कतिपय एजेन्डा फेसबुकमा तय हुन थाले। मिडियाले नदेखेका कुरा सामाजिक सञ्जालले उठाउन थाले। मिडियामाथि ‘वाचडग’को भूमिकामा पनि रहन थाल्यो फेसबुक। च्यारिटीदेखि रक्तदानसम्मका गतिविधि यो सामाजिक सञ्जालको भरमा सफल हुन थाले। उपचार नपाएर थलिएकाले फेसबुकको सहयोगले उपचार पाउनसक्ने अवस्था भयो। सहयोगी हातहरूकै सञ्जाल बन्न थाल्यो।
व्यापार प्रवर्द्धनमा सहयोगी
व्यापार विस्तारका लागि सामाजिक सञ्जाल गतिलो थलो हो। फेसबुकमा कुनै प्रोडक्ट राख्नुस् र प्रवर्द्धन गर्नुस्। पैसा हुनेका लागि फेसबुकमा आफैँले विज्ञापन गर्नसकिने सुविधासमेत छ। फेसबुकमा कुनै पनि उमेर समूहको उपस्थिति छ। युवा पुस्ताको उपस्थिति त सबैभन्दा बलियो रहेको छ। यस अर्थमा व्यापार गर्न चाहनेका लागि यो राम्रो फोरम हो। पैसा तिरेर विज्ञापन नै गर्ने हो भने पनि फेसबुकसँग रहेको डेटाबेसका आधारमा लक्षित समूहमा मात्र पुग्ने गरी प्रचार गर्न सकिन्छ। पछिल्लो समय त कुनै उत्पादनलाई लाइक र सेयर गराउने होडबाजी नै चलेको छ। यसले ठूलो लगानीमा पत्रिका, टेलिभिजन वा रेडियोमा विज्ञापन नै नगरी प्रवर्द्धन गर्न सकिने अवस्था ल्याएको छ। धेरै कम्पनीले यसबाट फाइदा लिइरहेका पनि छन्।
सेलिब्रिटीसँग सम्बन्ध
तपाईं सेलिब्रिटी हुनुहुन्छ भने फेसबुकबाट तपाईं आफूलाई मन पर्ने फ्यानसँग जोडिन सक्नुहुन्छ। उनीहरूसमक्ष आफ्ना कुरा राख्न सक्नुहुन्छ र उनीहरूको प्रतिक्रिया थाहा पाउन सक्नुहुन्छ। कुनै पनि मुलुकमा रहेर कुनै पनि मुलुकका सेलिब्रिटीसँग नजिकिनु आफैँमा रमाइलो विषय हो। फ्यान पेजबाट पनि सेलिब्रिटीसँग नजिकिन सकिन्छ। टेलिभिजन कलाकारदेखि नेतासम्म फेसबुकभन्दा बाहिर छैनन्। भर्चुअल रूपमा उनीहरूसँग सम्बन्ध राख्ने यो अब्बल माध्यम बन्यो।

पारिवारिक सम्बन्धमा चिसोपन
फेसबुकले धेरैको जीवनमा नकारात्मक असर पनि पारेको छ। सामाजिक जीवनमा गरिने टिप्पणीबाहेक निजी जीवनमा पनि फेसबुक प्रभावकारी माध्यम बनेको छ। यसैकारण फेसबुकमा गरिने टिप्पणी, च्याटलगायत गतिविधिले पारिवारिक सम्बन्धमा जटिलता ल्याउने गरेको छ। फेसबुकका कारण सम्बन्ध–विच्छेदका घटना पनि सार्वजनिक भएका छन। तर, राम्रा पक्षका तुलनामा यस्ता घटनाको संख्या भने ज्यादै न्यून रहने गरेको छ।
आपराधिक गतिविधि र दुष्प्रचार
फेसबुकले सबैलाई लागेको कुरा लेख्न दियो। यसको प्रयोग राम्रोका लागि जसरी भयो, नकारात्मक प्रचारका लागि पनि हुने क्रम सुरु भयो। कसैको विरुद्ध जेहाद नै छेड्ने अभियानहरू पनि यो सामाजिक सञ्जालबाट हुन थाल्यो। अश्लील तस्बिर पोस्ट गर्ने र मानिसका निजी कुरालाई सार्वजनिक गरिदिने माध्यम पनि बन्यो यो।
०००
सिक्काका दुइटा पाटा हुन्छन्। सामाजिक सञ्जाल फेसबुकका पनि दुवै पाटा छन्। तर, महत्वपूर्ण के हो भने यसको सकारात्मक पाटो यति धेरै बलियो छ कि त्योसँग टाँसिएको नकारात्मक पक्ष तुलनात्मक रूपमा ज्यादै कमजोर छ। अर्को कुरा, फेसबुक आफैँमा राम्रो या नराम्रो भन्ने होइन। राम्रा या नराम्रा मानिसले फेसबुकलाई राम्रो या नराम्रो दुई भागमा विभाजित गरिदिएका छन्।
१० वर्षमा कति चलाइयो फेसबुक?
फेसबुक १० वर्षको हुँदा तपाईंले कति दिन चलाउनुभयो? तपाईंसँग यसको हिसाबकिताब छैन होला। फेसबुकले पनि यसबारे खासै तथ्यांक दिँदैन। तर, टाइम म्यागजिनले भने फेसबुक १० वर्ष पुगेको अवसरमा टाइम मेसिन नै ल्याएको छ। यो टाइम मेसिन एउटा भर्चुअल मेसिन हो, अर्थात् एप। यसबाट तपाईंले अहिलेसम्म कति दिन फेसबुकमा बिताउनुभयो भन्ने हिसाब निकालिन्छ। ‘फेसबुक टाइम मेसिनः हाउ मच टाइम ह्याभ यू वेस्टेड’ (कति समय खेर फाल्नुभयो) शीर्षकमा समाचारसहति टाइम म्यागजिनले सार्वजनिक गरेको एपबाट कति दिन, कति घण्टा र कति मिनेट फेसबुकमा तपाईं रहनुभयो देखिन्छ। यसका लागि टाइम म्यागजिनको साइटमा जानुपर्छ र त्यहाँबाट प्रविधि पेजमा गएर टाइम मेसिन चलाउनुपर्छ।

Leave a Reply

Your email address will not be published.