बलात्कारविरुद्ध एप

nirbhaya_app_features

एजेन्सी- कुनै समय रहस्यमयी कम्प्युटर प्रविधि अब मानव जीवनको हरेक पक्षका लागि अनिवार्य बन्दै गएको छ। ग्याजेट र त्यसपछि बन्दै गरेका सफ्टवेयरले मानवीय जीवनलाई नै प्रभावित पार्दै छन्। तपाईं अखबार मोबाइलको एउटा एपकै भरमा पढ्न सक्नुहुन्छ। नागरिक दैनिक या शुक्रवार साप्ताहिकका सामग्रीका लागि नागरिक न्युज एप भए पुग्छ। लोडसेडिङको चर्को मार खेपिरहेका सबैलाई नेपाल विद्युत प्राधिकरणले नै एप तयार गरेर राखिदिएको छ। मोबाइल प्रविधिको विकासले वेब एड्रेसलाई कमजोर पार्दै लगेको छ।
एउटा अभौतिक बटनको भरमा आफ्ना आवश्यकता परिपूर्ति हुन सक्ने अवस्था आएको छ। यसकै निरन्तरता हो, सामाजिक सुरक्षाका लागि मोबाइल एपको विकास। राजधानीको बौद्ध क्षेत्रमा सुरक्षा निकायले मोबाइल एपबाट आपराधिक गतिविधिबारे जानकारी लिन सक्ने व्यवस्था गरेको छ। आपराधिक गतिविधिको शंका लागेमा मोबाइल एपबाट त्यसको जानकारी दिन सकिन्छ।
छिमेकी मुलुक भारतमा यस्तै खाले एप तयार गरिएको छ, महिला सुरक्षाका लागि। माइक्रोसफ्ट इन्डियाले गार्जियन अर्थात् अभिभावक एप तयार पारेको छ, जसको उद्देश्य हो– महिला सुरक्षा। पछिल्लो समय भारतमा बलात्कार र सामूहिक बलात्कारका घटना बढ्दै गएका छन्। त्यसैले माइक्रोसफ्टले विन्डोज मोबाइलमा यस्तो एप तयार पारेको हो।
दिल्लीमा बलात्कारको शिकार भएर सिंगापुरमा मृत्यु भएकी ‘निर्भया’बाट प्रेरित भएर माइक्रोसफ्टले यस्तो एप तयार पारेको जनाएको छ। यो एप ट्र्याकिङ सिस्टममा आधारित प्रविधि हो। यसमा कुनै पनि महिलाले मोबाइल लिएर जहाँ–जहाँ पुग्छिन्, त्यसको जानकारी उनका साथी र अभिभावकले लिन सक्छन्।
बौद्ध प्रहरीले मोबाइल एपबाट जसरी जानकारी लिन सक्छ, यो एपमा पनि त्यस्तै सुविधा छ। एसओएस अलर्ट बटनको सुविधा भएकाले समस्या आउनासाथ मोबाइल बोक्नेले यो थिच्न सक्छन्। र, त्यसको जानकारी सोझै सुरक्षा संयन्त्र, पुलिस र अस्पतालमा पुग्छ।
यो एप तयार गर्न माइक्रोसफ्टका विज्ञहरूले छ महिनाभन्दा बढी समय लगाएका हुन्। माइक्रोसफ्ट जर्जले यो एप तयार पारेको हो। माइक्रोसफ्ट जर्ज कम्पनीको नौलो खोज गर्ने विज्ञहरूको विभाग हो। यो एपबाट शहरहरूलाई सुरक्षित बनाउने प्रयास थालिएको कम्पनीको दाबी छ।
यो एपमा आफ्नो सूचना राखेपछि परिवारका सदस्य, सुरक्षा निकायलाई ग्रुपमा समेट्नुपर्छ, जसलाई आकस्मिक अवस्थाको जानकारी मिलोस्। प्रयोगकर्ताले एसओएस बटन थिचेपछि सो ग्रुपमा मोबाइल बोक्नेको सूचना प्रवाह हुन्छ। प्रयोगकर्ताका सहयोगी र सुरक्षाकर्मीकहाँ सूचना एसएमएसबाट जान्छ। त्यसमा मोबाइल बोक्ने महिला कुन स्थानमा छिन् भन्नेसमेत समावेश भएको हुन्छ। यसबाट सम्भावित दुर्घटनाबाट बच्न सकिन्छ। सामाजिक सञ्जाल फेसबुकको ग्रुप बनाएको छ भने यो एपबाट सोझै त्यहाँ पनि सूचना प्रवाह हुन्छ।
गार्जियन एप माइक्रोसफ्टले अजुर क्लाउड सर्भिस र विङ म्याप एपीआईको सहयोगमा तयार पारेको हो। यदि मोबाइल फुट्यो वा तोडफोड भयो भने पनि मोबाइल ट्र्याक गर्न सकिन्छ। यो एपबाट भिडियो रेकर्डिङसमेत गर्न सकिने भएकाले यो एप घटनापछिको अध्ययनका लागि पनि महŒवपूर्ण हुन सक्छ।
टोमो क्रिजनरले सन् २०१२ मा एउटा डकुमेन्ट्री बनाएका छन्, जसमा बलात्कार गर्न आउनेहरूको भिडियो खिचेर सोझै अपलोड हुन सक्छ। क्रिजनरले अफ्रिकी मुलुक सुडानका डार्फर, नुवा माउन्टेन र ब्लु नाइलमा हुने हिंसा रोक्न र अपराधीको पहिचानका लागि आफ्नै पहलमा यस्ता क्यामरा वितरण गरेका थिए, जसको सहयोगमा उनको डकुमेन्ट्री ‘आइज एन्ड इयर अफ गड’ तयार भयो। भारतमा महिलामाथि हुने हिंसाविरुद्धका लागि तयार पारिएको यो एप क्रिजनरको जस्तै साबित हुन सक्छ या सक्दैन, त्यो त यसको प्रयोग र परिणामपछिमात्र थाहा हुनेछ– यो भगवान्को आँखा र कान बन्न सक्यो कि सकेन?

Leave a Reply

Your email address will not be published.