अघिल्लो संविधानसभाको सहमति यथावत् राख्न कार्यदल

CA-buildingकाठमाडौं- अघिल्लो संविधानसभामा भएका सहमतिलाई वर्तमान संविधानसभामा यथावत् राख्न प्रमुख तीन राजनीतिक दलका दुई दुई सदस्य रहेको कार्यदल गठन गरिएको छ। प्रमुख तीन राजनीतिक दलको आज साँझ बसेको बैठकले अघिल्लो संविधानसभामा भएका सहमतिलाई कायम राख्दै संविधानसभाको एक वर्षभित्र संविधान निर्माण गर्न सो कार्यदल गठन गरिएको हो।
सो कार्यदलका नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला र नेता महेश आचार्य, नेकपा(एमाले)का उपाध्यक्ष वामदेव गौतम र नेता भीमबहादुर रावल र एकीकृत नेकपा(माओवादी)का नेताद्वय नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा रहेका छन्।
कार्यदलले अघिल्लो संविधानसभामा भएका सहमतिलाई लिपिबद्ध गरी वर्तमान संविधानसभामा प्रस्ताव प्रस्तुत गर्ने वातावरण तयार पार्ने कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए।
उनले कार्यदलले यसअघि प्रमुख दलबीच भएको सहमतिअनुसार आगामी छ महिनाभित्र संविधानको मस्यौदा तयार पार्ने र एक वर्षभित्र संविधान जारी गर्ने वातावरण गर्ने छ भने।
अब बन्ने संविधान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक हुने प्रतिबद्धताको प्रस्ताव बुधबार बस्ने संविधानसभाको बैठकमा प्रस्तुत गर्ने निर्णय बैठकले गरेको एमाले उपाध्यक्ष गौतमले जानकारी दिए।
एमाओवादी नेता नारायणकाजी श्रेष्ठले बैठकमा राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन, सरकार गठनलगायत विषयमा छलफल भए पनि कुनै निष्कर्षमा पुग्न नसकेको जानकारी दिए।

यस्तै संविधानसभा निर्वाचनको भएको भनिएको धाँधलीको विषयमा संसदीय समिति गठन गर्ने भन्ने विषयमा यसअघि दलबीच भएको सहमतिलाई के कसरी कार्यान्वयन गर्ने भन्ने कुराले बैठकमा प्रवेश पाएको जानकारी पनि उनले दिए।
दलबीच एक वर्षभित्रै लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणलाई केन्द्रबिन्दुमा राखेर कामलाई तीव्रता दिने सहमतिसमेत आजको बैठकमा भएको छ। रासस

Leave a Reply

Your email address will not be published.