दीपिका र फरहान उत्कृष्ट

deepika-padukone

एजेन्सी– भारतीय ओलम्पिक धावक मिल्खा सिंहमाथि बनेको फिल्म ‘भाग मिल्खा भाग’ले ५९ औं फिल्मफेयर अवार्डमा उत्कृष्ट फिल्म, निर्देशक र अभिनेतासहित ६ वटा अवार्ड जितेको छ। यस फिल्मबाट निर्देशक राकेश ओमप्रकाश मेहरा, अभिनेता फरहान अख्तर, गीतकार प्रसुन जोशी र कस्ट्युम डिजाइनर डली आलुवालियाले अवार्ड हात पारे। यस फिल्मले उत्कृष्ट प्रोडक्सन डिजाइन विधामा पनि अवार्ड जित्यो।
सर्वाधिक नौवटा विधामा मनोनित फिल्म ‘ये जवानी है दिवानी’ले एउटा विधामा पनि अवार्ड जितेन। सन् २०१३ मा चारवटा हिट फिल्म दिएकी दीपिका पादुकोणले सञ्जयलीला भन्सालीको फिल्म ‘राम–लीला’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन्। यही फिल्ममा दीपिकाकी आमाको भूमिका निर्वाह गरेकी सुप्रिया पाठक कपुर उत्कृष्ट सहअभिनेत्री भएकी छिन्।
निकै प्रशंसित फिल्म ‘द लन्चबक्स’ले क्रिटिक्स अवार्डतर्फ उत्कृष्ट फिल्म, उत्कृष्ट नवनिर्देशक (रितेश बत्रा) र उत्कृष्ट सहअभिनेता (नवाजुद्दीन सिद्दिकी) विधामा अरुलाई उछिनेको छ। फिल्मफेयर म्यागेजिनले शुक्रबार बाँडेको अवार्डको संगीत विधामा ‘आशिकी २’ले प्रभुत्व जमायो। अंकित तिवारी, मिथुन र जीत गांगुली यही फिल्मबाट उत्कृष्ट संगीतकार बने। त्यस्तै अरिजित सिंहले यसैको ‘तुम हि हो’ गीतबाट उत्कृष्ट गायकको अवार्ड पाएका छन्। गायिकाको अवार्ड चाहिँ ‘लुटेरा’को ‘सवर लु’ गाउने मोनाली ठाकुरले जितेकी छन्।Farhan-Akhtar
फिल्म ‘राँझना’बाट धनुषलाई नवअभिनेताको अवार्ड दिइएको छ। त्यस्तै ‘शुद्ध देशी रोमान्स’बाट वाणी कपुरले नवअभिनेत्रीको अवार्ड पाएकी छन्। क्रिटिक्स अवार्डतर्फ ‘शाहिद’का राजकुमार राव र ‘बीए पास’की शिल्पा शुक्ला उत्कृष्ट अभिनेता तथा अभिनेत्री भएका छन्।
अभिनेत्री तनुजालाई लाइफटाइम अचिभमेन्ट अवार्ड दिइएको समारोहमा ‘जोली एलएलबी’का सुभाष कपुरले संवाद र कथा विधामा बाजी मारेका छन्। पटकथाको अवार्ड फिल्म ‘काइ पो चे’बाट पुबली चौधरी, सुप्रतीक सेन, अभिषेक कपुर र चेतन भगतले प्राप्त गरेका छन्। यही फिल्मका लागि हितेष सोनिकले पार्श्व संगीतमा उत्कृष्टता हासिल गरे।
‘मद्रास क्याफे’बाट कमलजीत नेगीले छायांकन तथा विश्वदीप चटर्जी र निहाररञ्जन समलले साउन्ड डिजाइनमा अवार्ड जितेका छन्। उत्कृष्ट दृश्य सम्पादक फिल्म ‘डि–डे’का आरिफ शेख भएका छन्। उत्कृष्ट एक्सनतर्फ पनि यही फिल्मबाट थोमस स्ट्रथर्स् र गुरु बच्चनले अवार्ड लगेका छन्।
सर्वाधिक कमाइ गर्ने फिल्म ‘धुम ३’ले चाहिँ भिजुयल इफेक्ट्स (भिएफएक्स) विधामा मात्रै अवार्ड जितेको छ। मुम्बईको यशराज स्टुडियोमै भएको अवार्ड समारोहको सञ्चालन प्रियंका चोपडा र रणवीर कपुरले गरेका थिए। आगामी जनवरी २६ मा सोनी च्यानलले अवार्ड समारोह प्रसारण गर्नेछ।

Leave a Reply

Your email address will not be published.